
हुलाकी न्यूज, काठमाडौं । निर्वाचन आयोगले प्रदेश नं २ का आठ जिल्लामा सोमबार हुने स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र नभए नागरिकता वा सवारी लाइसेन्सले पनि मतदान गर्न पाउने व्यवस्था निर्वाचन आयोगले गरेको छ ।
सम्पूर्ण मतदाताको मताधिकारको सुनिश्चितता गर्न मतदाता परिचयपत्रको अतिरिक्त अरु वैकल्पिक व्यवस्था गरेको आयोगले जनाएको छ ।
मतदाताले कुनै कारणवश तस्वीरसहितको मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा वैकल्पिक व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।
आयोगका अनुसार नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्वीरसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाइने छ ।
मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउनसमेत आयोगले सम्बन्धित सबैलाई जानकारी गराएको छ ।



