हुलाकी न्युज, सिरहा । तेस्रो चरणको स्थानीय निर्वाचनमा लागि उम्मेदवार छान्ने विषयमा विवाद हुँदा सिराहामा कांग्रेस कार्यकर्ताबीच बुधबार झडप हुदा एक दर्जन भन्दा बढी घाइते भएको छ।
तेस्रो चरणको निर्वाचनको लागि बुधबार सिरहा नगरपालिकाको मेयरमा कांग्रेस पार्टीका कोषाध्यक्ष सितादेवी यादवको छोरा डा. सुवासचन्द्र यादवलाई उठाउने भएपछि पार्टी कार्यालयमा ढुंगा हानाहान भएको छ । ढुंगा हानाहानमा कांग्रेसका एक दर्जन भन्दा बढी कार्यकर्ता घाइते भएका छन् ।
सिरहा क्षेत्र नं ३ का सभापति संजय प्रकाश यादवले मंगलवार साँझ पार्टी कार्यालयमा सिरहा नगरपालिकामा सिफारिस भएका वडा अध्यक्षहरुको लागि मनोयन पत्र लिन पुुगेका थिए तर, उनलाई कार्यालयका सचिव रामबाबु यादवले दिएनन् । बुुधवार पुनः मनोयन पत्रका लागि जाँदा पनि कार्यालय सचिव रामबाबु यादवले विवाद गरेपछि झडप भएको सिरहा नगरपालिका मेयरका उम्मेदवार डा यादवले जानकारी गराएका छन् ।
उम्मेदवारी दर्ता गर्ने क्रममा पार्टी सचिव उपेन्द्र यादवले सुवासचन्द्रको विरोध गरेपछि विवाद सृजना भएको थियो ।यादवले सिरहा नगरपालिकामा मेयरको दाबी गरेका थिए । विवादले उग्ररुप लिँदा ढुंगा हानाहान भएको हो । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अहिले घटनास्थलमा व्यापक प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।




