हुलाकी न्यूज, काठमाडौँ । शेयरमा लगानी गर्ने मन छ, पैसा नभएर लगानी गर्ने सोच भएर पनि चुपचाप बस्नु भएको छ । त्यसो हो भने अब चिन्ता नगर्नुस् । 

तपाईलाई बैंक तथा वित्तीय संस्थाले बोलाइबोलाइ शेयर कर्जा दिन थालेका छन् । बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई आर्कषित गर्ने लक्ष्यका साथ पछिल्लो समयमा शेयर कर्जा लिन आग्रह मात्रै गरेका छैनन् । ब्याजदरसमेत घटाएका छन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थालाई दिएको निर्देशनअनुसार शेयर कर्जाको नयाँ योजना ल्याएका हुन् । ‘क’ वर्गको नबील बैंकले सजिलो कर्जालाई नै ‘नबील सेयर कर्जा’ भनेर शेयरमा लगानीका लागि ऋण दिने योजना ल्याएको छ । आफूसँग भएको शेयर धितोमा राखेर सहज रुपमा कर्जा लिन सकिने सो बैंकले जनाएको छ ।

मुक्तिनाथ विकास बैंकले पनि शेयर कर्जाको योजना शुरु गरेको छ । ‘ख’ वर्गको उक्त बैंकले सेवा शुल्कमा विशेष छुट दिएको छ र ऋण लिनका लागि आग्रह गरेको छ । सो बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकमा लगानीयोग्य रकमको मात्रा बढ्दै गएको अवस्थामा अरु बैंकले जस्तै आफ्नो बैंकले पनि शेयर कर्जा योजना ल्याएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “नेपाल स्टक एक्सचेन्जमा लगातार शेयरको मूल्य घटेर बजार प्रभावित भइरहेको बेला केही राहत प्रदान गर्ने काम शेयर कर्जाले गर्न सक्छ ।” स्टकका अनुसार सोमबार नेप्सेपरिसूचक २५.४७ अंकले घटेर एक हजार ५५४.५६ बिन्दुमा पुगेको छ । उहाँका अनुसार आवश्यक कागजात पेश गरेको दुई दिनमै शेयर कर्जा पाइने छ । सर्वसुलभ दरमा सहजरुपमा शेयर कर्जा दिने घोषणा गरेको छ । बैंकले न्यूनतम १२ प्रतिशत ब्याजदरमा शेयर कर्जा दिन थालेको प्रमुख कार्यकारी अधिकृत ढकालले बताउनुभयो ।

यस्तै कैलाश विकास बैंकले सस्तोमा शेयर कर्जा दिने योजना सार्वजनिक गरेको छ । सो योजना सार्वजनिक भएको सात दिनभित्रै उल्लेख्य मात्रामा ऋण लिन चाहनेले आवेदन दिएको सो बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले जानकारी दिनुभयो । बैंकले १२ प्रतिशतमा शेयर कर्जा दिने गरी ‘कैलाश शेयर लोन योजना’ ल्याएको छ ।

हाल बजारमा शेयर कर्जा १५ प्रतिशतभन्दा कममा पाइन्न । यस समयमा बैंकले १२ प्रतिशतमा शेयर कर्जा दिने योजना ल्याएको उहाँले जानकारी दिनुभयो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले न्यूनतम रु ९० करोडसम्म शेयर कर्जामा लगानी गर्ने योजना बनाएको र त्यसले ग्राहकलाई बैंकप्रतिको विश्वास समेत बढाउनमा आशावादी रहेको बताउनुभयो ।

बैंकले बजार मूल्यको ५० प्रतिशतसम्म एक वर्षका लागि ऋण दिने योजना ल्याएको हो । कागजात पुगे एकै दिनमा र नभए प्रक्रिया थालेको दुई दिनमा शेयर कर्जा पाइने उहाँको भनाइ छ । बैंक तथा वित्तीय संस्थाले प्राथमिक पूँजीको ४० प्रतिशतमात्र लगानी गर्न पाउने व्यवस्था गरेको छ । वित्तीय घर्षण बढेपछि गत माघदेखि नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जालाई अनुत्पादक भन्दै लगानीमा अंकुश लगाउन थालेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था शेयर कर्जातर्फ आर्कषित भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.