
हुलाकी न्यूज, रियाद । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदीले बक्रइदको अवसरमा विभिन्न क्षेत्रमा योगदान दिएका मधेशीहरुलाई सम्मान गरेको छ ।
इस्लाम धर्ममाम्बलीहरुको महान पर्व बक्रइदको अवसरमा आयोजित कार्यक्रममा अहोरात्र खटेर सम्बृद्ध मधेश बनाउने अभियान लागेका मधेशीहरुलाई सम्मान गरिएको छ । इलसेफ कम्पनीमा भएको उक्त कार्यक्रममा घर फर्किन लागेका अधिकांश मधेशीहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा त्यसआसपासमा काम गर्ने दुई सय ४० जनाभन्दा बढी मधेशी सहभागी थिए । कार्यक्रममा सम्मानित हुनेहरूमा आरएन मण्डल, बिनोद कुमार मण्डल, नरेश यादब र शुशील साह रहेका छन् ।
कार्यक्रममा एनआरएमएका साउदी संयोजक निर्मल कुमार मंडलले साउदीमा कार्यरत सम्पूर्ण मधेशीहरुलाई एनआरएमएमा सहभागी हुन आग्रह गरे । मंडलले मधेश विकासमा आफ्नो स्तरबाट सहयोग गर्न आग्रह गरे ।
उक्त कार्यक्रमको अवसरमा शुभकामना सन्देश दिदै एनआरएमएका अन्तर्राष्ट्रिय अध्यक्ष बशन्त कुसहावाले विदेशमा रहेर काम गर्ने सम्पूर्ण मधेशीहरु बधाइका पात्र रहेको बताउनु भयो । कुसहावाले उहाँहरुप्रति सम्मान व्यक्त गर्दै प्रवासमा रहेका सम्पूर्ण मधेशीहरुलाई गैर आवासीय मधेशी संघको छाता मुनी आएर मधेशको विकासमा सहयोग गर्न आग्रह गरे । कुशवाहाले आफ्ना सन्तानको भविष्यको सुरक्षाका लागि विदेशमा खटेका मधेशीहरुले मधेशलाई सम्बृद्ध बनाउनमा योगदान पुर्याउनु पर्ने बताए ।
कार्यक्रमको प्रमुख अतिथी गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी शाखाका संयोजक निर्मल कुमार मण्डल थिए भने अतिथिहरूमा रियाद टिम(ख) का अध्यक्ष आरएन मण्डल, कोषाध्यक्ष शुभनारायण साह थिए । त्यस्तै, सदस्यहरु जय कुमार यादब, इलसेफ कम्पनीका उपसमितिका उपाध्यक्ष श्रीनारायणलगायतका सहभागी थिए ।
कार्यक्रमको अध्यक्षता बिनोद कुमार मण्डलले गरेका थिए भने सञ्चालन मुकेश साहले गरेका थिए ।



