रमेश ठाकुर, रौतहट, १४ असोज । 
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारसँग वार्ताको बटम लाइन पुराना सम्झौताहरु रहेको प्रष्ट पारेको छ । पहिलेदेखि नै वार्ताको बटम लाइन पुराना सम्झौताहरु रहेको प्रष्ट पारेको मधेशी मोर्चाले एकपटक फेरि आफ्नो अडान दोहो¥याउँदै पुराना सम्झौता कार्यान्वयन नभएसम्म वार्ता नहुने जनाएको छ ।

बुधबार गौरमा भएको मधेशी मोर्चाको वृहत आमसभामा मधेशी नेताहरुले विगतमा भएका सम्झौताहरु कार्यान्वयन भए मात्र सरकारसँग वार्ताको प्रयास हुनसक्ने अडान लिए ।

तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले हालसम्म वार्ताको लागि सहज वातावरण नबनाएको र विगतमा भएका सम्झौता कार्यान्वयनप्रति गम्भीर नदेखीएकाले अहिले मोर्चा पनि सरकारसँग वार्ता गर्न नसक्ने बताएका छन् । सरकारले मधेशी दलहरुसँग दुई पटकसम्म सम्झौता गरेर पनि पुरा नगरी मधेशलाई धोका दिएकोले अब तेश्रो पटक उधारोमा सम्झौता नगर्ने बताए ।

विरोध सभामा बोल्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तात्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालासँग भएको स्वायत्त मधेशको सम्झौता तथा बाँकी अन्य बुँदामा भएका सम्झौतालाई तीन दलले बेवास्ता गरेको र अन्तरिम संविधानमा लेखिएका कुराबाट समेत मधेशलाई वञ्चित गरेकोले अब सरकारसँग वार्ताको कुनै औचित्य नरहेको बताएका छन् । अध्यक्ष महतोले आन्दोलनका क्रममा मृत्यु भएकाहरु लाई सहिद घोषणा, परिवारजनलाई क्षतिपूर्ती र घाइतेहरुको उपचारको ग्यारेन्टी सरकारको तर्फबाट आए मात्र वार्ताको सार्थक प्रयासको थालनी हुने प्रष्ट पारेका छन् ।

भारतले कुनै किसिमको नाकाबन्दी नगरेको भन्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनको पूर्व घोषित कार्यक्रम अनुसार मोर्चाका नेता तथा कार्यकर्ताहरु नेपाल भारत सीमानामा धर्ना दिएको स्पष्ट पारे । विगतमा सरकारले नै मधेशलाई नाकाबन्दीमा राखेको आरोप लगाउँदै अध्यक्ष यादवले आफ्नो समस्याका लागि अरुलाई दोष दिन नहुने बताए ।

पटक पटक तीन दलले धोका दिएको भन्दै एमाले, कांग्रेस र एमाओवादीको चालमा अब मोर्चा नफस्ने बताउँदै तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले मधेशबाट बहुमत प्राप्त पार्टी भन्नेहरुले मधेशमा आएर देखाउन चुनौती समेत दिए । तीन दलका कुनै सभासद अहिले मधेश आउन नसक्ने बताउँदै शिर्ष दलका नेताहरुको पनि मधेशमा कुनै स्थान नभएको अध्यक्ष यादवले दाबी गरे ।

मधेश आन्दोलन निष्कर्समा पुग्न लागेको र अबको लडाई नै मधेशको अन्तिम लडाई भएको मोर्चाका चारै जना अध्यक्षले आफनो सम्बोधनमा प्रष्टाएका थिए । एक महिना भन्दा बढी समयसम्म मधेश बन्द भईरहँदा सरकारको ध्यान नगएको र केही दिनदेखि काठमाडौंको नाकाबन्दी भएपछि शासकहरुको होस उडेको समेत उनीहरुले बताए ।

gaur-birodh-sabha2

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.