हुलाकी न्यूज, वीरगंज, १३ असोज ।पर्सामा नेपाली च्यानलको प्रसारण बन्द भएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साको निर्णय अनुसार जिल्लाका केबल अपरेटरले नेपाली च्यानलहरुको प्रसारण रोकेका हुन् ।
मोर्चाको जनपरिचालन समितिका संयोजक प्रदिप यादवले स्थानीय केबल अपरेटरहरुलाई नेपाली च्यानलको प्रसारण बन्द गर्न पत्राचार गरेपछि टेलिभिजनमा नेपाली च्यानलको प्रसारण रोकिएको हो ।
मोर्चाले नेपाली च्यानल प्रसारण बन्द गर्न पत्राचार गरेपछि आफूहरु बाध्य भएर प्रसारण रोक्नु परेको स्थानीय केबल अपरेटरहरुले जनाएका छन् । उनीहरुले सुरक्षाको कारण देखाउँदै जबरजस्ती च्यानल प्रसारण गर्ने अवस्था नरहेको पनि बताएका छन् ।
अहिले वीरगंज र आसपासका क्षेत्रमा एबीसी, कान्तिपुर टिभी, माउण्टेन टिभी, सगरमाथा, न्यूज २४ लगायतका नेपाली च्यानलको प्रसारण बन्द भएको छ ।
संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष पनि रहेका यादवले नेपाली च्यानलहरुले मधेश विरोधी समाचार दिएको र काठमाडौंलगायतको ठाउँमा भारतीय च्यानल प्रसारणमा रोक लगाइएको विरोधमा वीरगंजमा नेपाली च्यानलको प्रसारण बन्द गरिएको बताए ।
मोर्चाले स्थानीय एफएमहरुमा नेपाली गीत नबजाउन पनि आग्रह गरेको छ ।
यसअघि बुधबार बिहानै मोर्चाका कार्यकर्ताले काठ्माडौंबाट प्रकाशन हुने गोरखापत्र, कान्तिपुर, अन्नपूर्णा, नागरिक, द हिमालयन टाइम्स, नयाँ पत्रिका लगायतका पत्रिकाहरु जलाएका थिए ।



