वासिङ्टन, १२ भदौ । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले अमेरिकाले कोरियाली प्रायद्वीपमा उत्पन्न उत्तेजक एवं हिंस्रक व्यवहारको पनि शान्ति समाधान खोज्ने धारणा राख्नुभएको छ । 

उहाँले पछिल्ला समयमा उत्तर कोरियाले उक्त क्षेत्रमा गैरजिम्मेवारपूर्ण रुपमा हिंस्रक व्यवहार देखाइरहेको बताउँदै तर पनि अमेरिकाले भने त्यसको समाधान शान्तिपूर्ण रुपमा नै के कसरी गर्न सकिन्छ भनेर हेरिरहेको धारणा राख्नुभएको थियो ।

अमेरिकी फक्स टेलिभिजनलाई आइतबार दिनुभएको अन्तरवार्तामा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले उक्त क्षेत्रमा शान्तिपूर्ण बाहेकको अर्का विकल्पले कसैलाई पनि फाइदा नगर्ने बताउनुभएको हो ।

उक्त अन्तरवार्तामा उहाँले भन्नुभयो, उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा जारी राखेको क्रियाकलाप उत्तेजकबाहेक अरु केही होइन, यसले खासगरी अमेरिकालाई नै बढी तारो बनाएको देखिन्छ ।

तर उसले अमेरिकालाई तारो बनाएको भए पनि हामीले भने यसको समाधानको विकल्प शान्ति प्रक्रिया नै देखेका छौँ, उहाँले भन्नुभयो ।

विदेशमन्त्री टिलर्सनले भन्नुभयो, हामी यसको समाधानमा लागिरहेका छौँ । हामीले चीनलाई पनि भनेका छौँ र उसका अरु सहयोगी देशलाई पनि हाम्रो अनुरोध यो छ कि जसरी सकिन्छ शान्तिपूर्ण समाधानको टेबुलमा नै बसेर गर्नुपर्छ भनेर हामी लागिपरेका छौँ ।

उत्तर कोरियाले पछिल्लो समयमा गरेको एक क्षेप्यास्त्र परीक्षणपछि अमेरिकाको यो प्रतिक्रिया आएको छ ।

अमेरिकाको पछिल्लो प्रतिक्रियाअनुसार यो पछिल्लो क्षेप्यास्त्र परीक्षणले कुनै खतरा भने दिन सक्दैन । अमेरिकाले गरेको अध्ययनअनुसार सो क्षेप्यास्त्र गत शनिबार बिहान गरिएको थियो ।

तर यस विषयमा उत्तर कोरियाले पनि कुनै प्रतिक्रिया दिएको छैन । उत्तर कोरियाले उक्त क्षेप्यास्त्र परीक्षण गरेको घटनाको भने पुष्टी गरेको छ ।

यसरी बारम्बार गर्ने गरेका यी परीक्षणले संयुक्त राष्ट्रसंघको शान्ति तथा सुरक्षासम्बन्धी मापदण्डको उल्लंघन भइरहेको धारणा उहाँले राख्नुभयो ।

यसैबीच केही दिनअघिमात्र अमेरिका र दक्षिण कोरियाले दक्षिण कोरियाली राजधानी सोलमा संयुक्त सैन्य अभ्यास गरेका थिए ।

यस सैन्य अभ्यास यी दुई देशको नियमित प्रक्रिया हो भनिए पनि उत्तर कोरियाले भने यसलाई आफूविरुद्धको उत्तेजना हो भनेको छ ।

त्यसको पनि अमेरिकी विदेशमन्त्रीले विरोध गर्नुभएको छ । उहाँले सो सैनिक अभ्यास अमेरिका र दक्षिण कोरियाको विगत देखिकै एक नियमित प्रक्रिया हो भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.