विरेन्द्र झा

पछिल्ला महिनाहरुमा नेपालमा केही प्राकृतिक तथा राजनीतिक चमत्कारहरु भए । एकातिर महाविनाशकारी भूकम्पले अपुरणीय धनजनको क्षति गर्यो भने अर्कोतिर भूकम्पको झट्काले नै मानौ प्रमुख तीन दललाई एकठाउँमा ल्याएर एकाएक फास्ट ट्रयाकबाट संविधान जारी गर्न दिव्य ज्ञानको ज्योती जगाई दियो । भनिन्छ राजनीतिमा हरेक अवसरको फाइदा उठाउन सक्नुपर्छ । लाससम्मको फाइदा उठाउने हाम्रा नेताहरु लगभग १०० वर्षमा आएको महाभूकम्पलाई कसरी बाम जान दिन्थ्यो ?

महाभूकम्पमा परेका जनतालाई राज्यद्वारा निर्णय गरिएको रु. १५००० पाउनु त पर जाओस्, राहतका लागि खरिद भएका त्रिपालमा समेत घोटाला भएको भनेर अख्तियारले मुद्दा चलाएको खबरले दैविक प्रकोपबाट पीडित जनताप्रतिको राज्यको संबेदनशिलता छर्लङ हुँदाहँुदै देशको पुनर्निर्माण गर्ने बहानामा बिगत ७० बर्ष देखिको सपना एकाएक फास्ट ट्रयाकबाट १ महिनामै फुत्त निस्कियो ।

महाज्ञानीहरुद्वारा विश्लेषण हुँदैछ, विश्वको नमुना र प्रगतिशील संविधान नेपालले बनाएको छ, यसमा जे पनि परिवर्तन गर्न सकिन्छ अरे, गणतन्त्र पनि । स्मरण रहोस्, २०४७ सालको संविधानलाई विश्वको सर्वोत्कृष्ट भएको दाबी गर्नेहरुको हुल पनि सानो थिएन ।

लोकतान्त्रिक पद्धतिबाट ९०५ मत प्राप्त गरेर प्राप्त भएको संविधान बन्दुकको नोखमा जारी भयो । जारी गर्नु क्षणिक प्रक्रिया हो, बन्दुकको नोखमा गर्न सकिन्छ, इतिहासमा पनि यस्ता धेरै नमुनाहरु छन्, तर लागु गर्नु दिर्घकालिन प्रक्रिया हो, कतिन्जेलसम्म बन्दुक तेर्सयाइ राख्ने ? यो यक्ष प्रश्न आजका शीर्ष नेताहरु सामु छ । नेपाली जनताद्वारा चुनिएका प्रतिनिधिहरुबाट जारी भएको संविधान नेपालीहरुबाट नै तिरस्कृत हुनुले प्रस्ट परेको छ कि जनमतको सम्मान नगरी एउटा विशेष वर्गको हठको उपज भएको संविधानमा नेपालका सबै वर्ग, समुदायले आफ्नो अनुहार देख्न पाइरहेको छैन । बन्दुकको बलमा जारी गरिएको संविधानलाई संसारबाट वैधानिकता दिलाउन भगीरथ प्रयास भइरहँदा आफ्नै देसका नागरकि जो असन्तुस्ट मात्र नभई आन्दोलित छन्, त्यसलाई सम्बोधन गरी समस्या समाधान गर्न शिर्ष नेताहरुको अहंकार सँगसँगै उनीहरुको अन्तर्निहित स्वार्थ अवरोधक रहेको प्रस्ट भइसकेको छ ।

मुलुकको आधा भन्दा बढी जनसंख्या ओगटेको तराई मधेशको जायज मांगहरु जुन पहिले नै सम्झौता भइसकेको छ, त्यो पनि कुनै संघ संस्थासँग नभई राज्य सत्ता प्रमुखसँग, त्यसलाई लत्याएर जारी गरिएको संविधान बन्दुकको नोखमा कति दिनसम्म लागु गर्न सकिन्छ ?
अहिले राष्ट्रिय मिडियाहरुद्वारा संविधानको व्यापक ब्याख्या गरिँदैछ, विशेष गरी मधेशका सबै मांगहरु पुरा भइसकेका छन् भनेर । यदि मधेशका सबै मांग पुरा भइसकेका छन् भने ती नेताहरु मधेशमा आएर आफ्ना जनतालाई किन सन्तुस्ट पार्ने पहल सुरु गरेका छैनन् ? जुन जनताबाट निर्वाचित भएका छन् तिनको बीचमा गएर यथार्थ किन राख्न सकी रहेको छैन ? किनभने जारी भएको संविधानमा खोट छ, जनताको अधिकारमाथि सुनियोजित कुठाराघात गरिएको छ, जसले गर्दा नेताहरुमा जनता सामु जाने आँट नै छैन ।

सँगै आन्दोलन गर्नु, सँगै शासन गर्नु र सँगै सुरक्षा गर्नु, यी तीनलाई दिगो राष्ट्र निर्माणको लागि आधारभूत तत्व मानिन्छ । एकचोटी इतिहासमा ध्यान दिएर हेर्ने हो भन्ने मधेश र मधेशीलाई हरेक चोटी आन्दोलनमा मात्रै साथमा राखिएको पाईन्छ, बाँकी दुई कुरामा कहिले हिस्सेदारी दिईएन । जसको परिणाम हो, पटक पटकको मधेश बिद्रोह । गणतन्त्रमा प्रजा नागरिकमा परिणत हुन्छ, प्रजा त राजतन्त्रमा हुने हो । तर थारु, मधेशीलाई अझै काठमाडौंका शासकहरुले प्रजाका रुपमा देख्नु उनीहरु आफुलाई राजा ठान्नु हो ।

थरुहट मधेशको जारी आन्दोलन ४५ दिन भइसक्दासम्म राज्य पक्षलाई जारी आन्दोलनको मांगसम्म थाहा छैन । भनिन्छ सुतेको मान्छेलाई जगाउँदा फुर्र जाग्छ, तर जांड खाएर नालामा खसेको मान्छेलाई नालाबाट तानेर काँधमा बोकेर लग्दासम्म चाल पाउँदैन । ओलीले मधेशको मांग थाहा नपाउनुलाई अचम्म मान्न सकिँदैन, कारण उनको शैक्षिक हैसियत उजागर भइसकेको छ । एक हदसम्म बामदेवलाई पनि ओलीकै कित्तामा राख्दा अन्याय हुँदैन । तर खस भाषामै लेखिएको राज्यद्वारा हस्ताक्षरित दस्तावेज अन्य खस विद्वानहरुलाई नचल्नु सत्ताको मदमा मदमस्त रहेका सत्ता संचालकहरुको हठ मात्रलाई उजागर गरिरहेकोछ ।

भनिन्छ अति गर्नु अत्याचार न गर्नु, राज्य सत्ताले आफ्नै मुलुकका सार्बभौम नागरिकले अधिकारको लागि सुरु गरेको आन्दोलनलाई जुन किसिमको रबैया प्रयोग गर्दै आइरहेकोछ, त्यसले निश्चित रुपमा राष्ट्रिय एकता र अखण्डतामा गम्भीर प्रहार भएको छ । मुलुकको आधाभन्दा बढी जनसंख्याको मनोविज्ञानमा गम्भीर असर परेको छ । फलस्वरुप राष्ट्र गम्भीर कालखण्डमा प्रवेश गरेको सहजै बुझ्न सकिन्छ । मधेशमा जारी जन आन्दोलनलाई टेकेर भारतले अघोषित नाकाबन्दी लगाएको अवस्थामा नेताहरुको चुरीफुरी र राष्ट्र भक्तिको राग अलाप आकाशमा थुक्नु जस्तो हो, जुन आफ्नै अनुहारमा पर्छ ।

साइकल राष्ट्रवादका कुरा गर्ने नेता कहिले नेपाललाई स्विट्जरलैंड बनाउने सपना देखाएर १७००० नेपालीको बलि प्रदान दिएको इतिहास आलो नै छ । मुलुक त स्विट्जरलैंड बन्यो कि बनेन सर्वविदितै छ । तर, नेताजीको जीवन स्तर चाँहि स्विस नागरिक सरह पक्कै भएको छ ।

थारु मधेशीको शान्तिपूर्ण जनआन्दोलन आज विश्वकै लामो र सफल हुने उपक्रममा छ । तर नेपालका शासकहरु यसप्रति संवेदनशिल नभएर भारतलाई गाली गर्नुमा आफुलाई बहादुर र राष्ट्रप्रेमी ठानिरहेका छन् । बेलाबेलामा नेताहरुले मधेशको आन्दोलन हाम्रो आन्तरिक समस्या हो, यसमा भारतले हस्तक्षेप गर्नु अन्याय हो भनिरहँदा भारतलाई गाली गर्न समय खर्च गर्नु भन्दा आफ्नो आन्तरिक समस्यालाई सम्बोधन गरी यथाशीघ्र समस्या समाधान गर्नु बुद्धिमता होला ।

मुलुक भयावह स्थितिबाट गुज्रिरहेको अवस्थामा यसलाई यथाशीघ्र समाधानतिर नलगेर आलटाल गर्नु र भारतलाई गाली गर्दैमा राष्ट्रप्रेमी भइन्छ भन्ने खोक्रो मानसिकताबाट माथि उक्लेर यथार्थबादी हुनु आजको आवश्यकता हो । थारु मधेशीको जनआन्दोलनको सहि मुल्यांकन यथाशीघ्र गरी गम्भीर समस्याको समाधानतिर अग्रसर हुनु भन्दा खोक्रो राष्ट्रवादको बिन बजाउनु कासी जान कुतीको बाटोबाहेक अरु केहि हुन सक्दैन……….

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.