हुलाकी न्यूज, काठमाडौं । अन्ततः राष्ट्रिय जनता पार्टी (राजपा) स्थानीय निकायको तेस्रो चरणको निर्वाचनसहित सम्पूर्ण निर्वाचनमा भाग लिने भएको छ । साइकल छाप चुनाव चिन्ह लिएर राजपा निर्वाचनमा जान लागेको हो ।
दुई दिनसम्म चलेको पदाधिकारी बैठक र त्यसपछिको अध्यक्ष मण्डलको बैठकले अव सबै निर्वाचनमा भाग लिने निर्णय गरेको हो । निर्वाचनमा भाग लिने निर्णयसँगै उम्मेदबारहरुले टिकटका लागि दौडादौड सुरु गरेका छन् । पार्टी अध्यक्ष मण्डलसँग टिकट माग्नेको लाइन लागेको छ ।

हुलाकी न्यूजसँग कुराकानी गर्दैै छाता चुनाव चिन्हको माग गर्दै आएको राजपाले साइकल चुनाव चिन्ह लिएर निर्वाचनमा जाने राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले बताए ।

महतोले भने,‘चुनावलाई आन्दोलनको रुपमा प्रयोग गर्न हामी निर्वाचनमा सहभागी हुँदैछौं । हाम्रा अधिकांश माग पुरा भएको छ । संविधान संशोधनको माग हामी निरन्तर राख्नेछौं । तर हामीले निर्वाचनमा पनि भाग लिने छौं ।’
महतोले निर्वाचनमा जाँदा सबै नेता तथा कार्यकर्ताहरुले कालो पट्टी बाँधेर प्रचारप्रसारमा लाग्ने बताए । उनले भने,‘कालो पट्टीको अर्थ हामी अहिले पनि आन्दोलन मै छौं हो ।’

पार्टीको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा राजपाले चुनाव तयारीका कार्यक्रम समेत सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रमअनुसार भदौ नौ गते सवै जिल्लाका अध्यक्ष र केन्द्रीय सदस्य तथा पदाधिकारीको संयुक्त बैठक बसेर पर्यवेक्षक टोली बनाउने छ । भदौ १० गते उम्मेदवारको नाम संकलन गर्ने, ११ गते उम्मेदारका लागि आएका नाम स्थानीय स्तरमै सहमति गर्न प्रयास गर्ने, १२ गते सहमति नभएका विषय जिल्लास्तरमा टुङग्याउने र १३ गते केन्द्रीय अध्यक्ष मण्डललाई उमेदवार चयनको प्रतिवेदन बुझाउने रहेका छन् ।

त्यस्तै राजपाले निर्वाचनका लागि २ नम्बर प्रदेशका आठवटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार सिराहामा गजाधर यादव, धनुषामा अरुण सिंह, महोत्तरीमा गोविन्द चौधरी, सर्लाहीमा शेखर सिंह, रौतहटमा सत्यनारायण मण्डल, वारामा मालावती राना थारु, पर्सामा विजय गुप्ता र सप्तरीमा नरसिंह चौधरी रहेका छन् ।

राजपाको केन्द्रीय नेतृत्वले निर्वाचनमा सहभागी हुने निर्णय गरेपनि कतिपय स्थानीय नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.