महोत्तरी, । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले हरेक स्वास्थ्य संस्थामा औषधिको कमी हुन नदिने बताएका छन् ।
आज महोत्तरीमा सञ्चालित स्वास्थ्य शिविरको अवलोकनपश्चात् गौशाला बजारमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री पोखरेलले सो कुरा बताएका हुन्।
विगतको परिवेशलाई मध्यनजर गर्दै कुनै पनि स्वास्थ्य संस्थामा आवश्यक औषधिको कमी कदापि हुन नदिने मन्त्री पोखरेलले बताए । देशका अस्पतालहरुमा विषालु जीवजन्तुको टोकाइबाट घाइते भएकालाई स्थानीयस्तरकै स्वास्थ्य संस्थामा उपचारका लागि पहलकदमी गरिने मन्त्री पोखरेलले प्रतिबद्धता व्यक्त गरे ।
यता आजै जिल्लाका २६ स्थानमा एकैसाथ बाढीपीडितका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सो निःशुल्क स्वास्थ्य शिविरमा बाढीपीडितलाई स्वास्थ्य परीक्षण गर्नाका साथै औषधि पनि वितरण गरिएको जिल्ला जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले जानकारी दिए ।
शिविरमा धरान, जनकपुर, सिन्धुलीलगायत स्थानीय स्वास्थ्यकर्मीले बिरामीलाई सेवा प्रदान गरेका थिए । रासस



