
हुलाकी न्यूज, काठमाडौं । स्थानीय निकायको तेस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सहभागी हुने निश्चित भएको छ । तर पदाधिकारीहरुले निर्वाचन सम्बन्धी सम्पूर्ण जिम्मेबारी अध्यक्ष मण्डललाई दिएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा दुई दिनसम्म चलेको बैठकले चुनावमा जाँदा पार्टीको चिन्ह र उम्मेदबार चयनको प्रक्रिया बारे निर्णय लिने जिम्मेबारी अध्यक्ष मण्डललाई दिएको छ ।
बैठकमा अधिकांश पदाधिकारीले निर्वाचनको पक्षमा बोलेका बताउँदै प्रवक्ता कृष्णा सिंहले अध्यक्ष मण्डलका सदस्यहरु पनि निर्वाचनको विरोधमा नदेखिएको दाबी गरे ।
‘हामी निर्वाचनमा जाने सुनिश्चित जस्तै भएको छ । तर यसको आधिकारिक निर्णय गर्ने जिम्मेबारी अध्यक्ष मण्डललाई दिइएका छौं । उहाँहरुले चुनाव चिन्ह र उम्मेदबार चयनको प्रक्रियाको पनि टुँगो लगाउनेछ ।’
महासचिव राजिव झाका अनुसार राजपाका अध्यक्ष मण्डलको बैठक अबेर रातीसम्म पनि चल्ने छ । बैठकमा चुनाव चिन्ह के राख्ने विषयमा छलफल हुने र चुनावी तालमेलका विषयमा पनि अध्यक्ष मण्डलमा छलफल भइरहेको झाले बताए ।



