कञ्चनपुर, ७ भदौ । कञ्चनपुरको पुनर्वास नगरपालिकाले आव २०७४-७५ का लागि रु ४९ करोड २२ लाख ७१ हजारको बजेट विनियोजन गरेको छ ।

आन्तरिक आयतर्फ रु एक करोड आठ लाख, राजस्व बाँडफाँडबाट रु ६० लाख, नेपाल सरकारबाट प्राप्त हुने समानीकरण अनुदानबाट रु २६ करोड नौ लाख १० हजार, सशर्त अनुदान रु ११ करोड ९६ लाख ४९ हजार, सडकबोर्डबाट आउने सडक मर्मत खर्च रु १५ लाख बजेट विनियोजन गरेको छ ।

यसैगरी, सामाजिक सुरक्षा भत्ता रु सात करोड, सीमा क्षेत्र विकास कोषको रु ५६ लाख ३६ हजार तथा मौज्दात ल्याइएको गरी रु एक करोड ७७ लाख ७५ हजार बजेट विनियोजन गरिएको नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले बताउनुभयो ।

उहाँले विगतमा बालमैत्री, अपांगमैत्री नगरपालिका बनाउने लक्ष्य लिइएकोमा गत परिषद्ले थप ५५ शीर्षकमा स्रोत विनियोजन गरिएको र यस पुनर्वास नगरलाई बालमैत्री नगर बनाउने अभियानलाई विशेष प्राथमिकीकरणमा पार्ने गरी योजना कार्यक्रम तयार गरिएको बताउनुभयो ।

बजेटमा विद्युत् सवस्टेशनको स्थापना, विद्युत् महशुल बुझाउने काउण्टर स्थापना र जीर्ण विद्युत् लाइन मर्मत गर्ने बजेटमा व्यवस्था गरिएको छ ।

सडक पूर्वाधार विकास, कृषि उत्पादन बढाउन सिँचाइको व्यवस्था, कृषि वस्तु भण्डारण गर्न चिस्यान केन्द्र स्थापना गर्ने, नगरपालिका क्षेत्रभित्र नदी कटान, वन संरक्षण, घरेलु तथा कुटिर उद्योगको स्थापना र विकासका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

मंगलबार भएको नगर परिषद्ले विनियोजित बजेट र नीति तथा कार्यक्रम पनि पारित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.