हुलाकी न्यूज, काठमाडौं, १३ असोज । चमार सेवा समाज नेपालले संविधानमा दलित समुदायको हक अधिकार सुनिश्चित गर्न माग गरेको छ । काठमाडौंमा बसेको चमार सेवा समाज नेपालको बैठकले संविधानमा मधेशी दलितको अधिकार सुनिश्चित गर्नुपर्ने लगायतका विभिन्न मागहरु राखेको छ ।
समाजका अध्यक्ष दिनेश हरिजन चमारले जारी मधेश अन्दोलनमा मधेशी दलितको महत्वपुर्ण योगदान रहेकोले राज्यले मधेशको मुद्दा सम्बोधन गर्दा मधेशी दलितको मुद्दा पनि समावेश गर्नुपर्ने माग गरे । उनले मधेशी दलितहरुको मागलाई सरकार र स्थानीय मधेशी नेतृत्वले सम्बोधन नगरे मधेशी दलितहरु फेरि आन्दोलन गर्न बाध्य हुने बताए ।
चमार सेवा समाज नेपालले हरेक संघीय प्रदेशमा दलित समुदायको जनसंख्याको आधारमा प्रत्येक निकायमा प्रतिनिधित्व हुनुपर्ने, मधेश प्रदेशमा दलित समुदायको उच्च बाहुल रहेकोले उपमुख्यमन्त्री मधेशी दलितलाई दिनुपर्ने, तराई मधेशमा चमार समुदायको जनसंख्या दलित समुदायमा सबैभन्दा बढी भएकोले उनीहरुलाई उच्च सम्मानका साथ विशेष आरक्षण दिनुपर्ने, मधेशमा अहिले भइरहेको अन्दोलनलाई वार्ताको माध्यमबाट सम्बोधन गरी मधेशी, थारु, आदिबासी, जनजाती र दलितको माग यथासिघ्र पुरा गर्नुपर्ने लगायतका माग राखेको छ ।



