भारतीय राष्ट्रिय कंग्रेसका वरिष्ठ नेता डा. करण सिंह भारतको नेपाल नीतिबारे विगतमा निर्णायक र यतिवेला राम्रो जानकार मानिन्छन् । सात दल र तत्कालीन माओवादीबीच १२ बुँदे समझदारी हुँदा तत्कालीन सत्तारुढ पार्टीको विदेश विभाग प्रमुख रहेका सिंहले राजा ज्ञानेन्द्रलाई त्यतिवेलै भेटेर सत्ता छाड्न आग्रहसहितको चिठी बुझाएका थिए । भारतीय राष्ट्रिय कंग्रेसको सरकार रहँदासम्म नेपाल मामिलाबारे राजनीतिक तहका निर्णायकमध्येका एक मानिएका सिंहले नयाँ संविधानपछि भारतको अनपेक्षित प्रतिक्रिया र त्यसपछि उत्पन्न असहजताबारे पहिलोपटक प्रतिक्रिया दिएका छन् ।

नेपालमा नयाँ संविधान जारी भएकोमा तपाईंको प्रतिक्रिया के छ ?

नेपालमा संविधान निर्माण प्रक्रिया नौ वर्षदेखि जारी थियो, यसपटक पूरा भएको छ । म जुन दिन (वैशाख ६, २०६३) राजा ज्ञानेन्द्रका लागि प्रधानमन्त्री डा.मनमोहन सिंहको पत्र लिएर गएको थिएँ, त्यसवेलादेखि नै यो प्रक्रिया प्रारम्भ भएको म मान्छु । अर्थात्, म नौ वर्षदेखि नै नेपालमा यो प्रक्रिया टुंगोमा पुगेको देख्न चाहन्थेँ ।

संविधान बनेपछि नेपाल एक स्थायित्व, शान्ति र समृद्धितर्फ अघि बढ्नेछ भन्ने मेरो विश्वास रहँदै आएको थियो । यसमा नौ वर्ष समय लाग्नु भनेको धेरै नै हो । तर, नयाँ संविधान निर्माणको खुसियालीसँगै असन्तुष्ट रहेका पक्षसँग पनि कुराकानी र समझदारी भइदियो भने हाम्रा लागि त्यो थप खुसीको कुरा हुनेछ । संविधान बन्यो तर संविधानबाट नेपालका अनेक नागरिक बेखुस छन् भन्ने समाचार आएको छ । ती कति संख्यामा छन्, तिनको असन्तुष्टिको गाँठी कुरा के हो, उनीहरूलाई पहिला सहमतिमा ल्याउन सकिन्थ्यो कि सकिन्नथ्यो, म जान्दिनँ । त्यतातिर म जान पनि चाहन्नँ ।

तर, म अहिले नेपालको परिस्थिति अलिकति दुर्भाग्यपूर्ण भइरहेको देख्दै छु । अधिक मतदानबाट, लोकतान्त्रिक विधिबाट र अत्यधिक सहभागितामा संविधान बन्यो, खुसियाली त मनाइयो । तर, तराईमा त्यसभन्दा फरक अवस्था सुनिँदै छ । अहिलेको अवस्थामा नेपालमा भारतबाट जाने आवश्यक वस्तु रोकिएको सुनेर हामी दु:खी छौँ । हामी सरकारमा अहिले छैनौँ तर त्यो घटनाप्रति हाम्रो गहिरो चिन्ता छ । सत्ताधारी दलका जो नेता छन्, उनीहरूले असन्तुष्ट पक्षसँग शीघ्र वार्ता गर्नु आवश्यक छ ।

वार्ता काठमाडौंमा वा असन्तुष्ट पक्ष रहेको ठाउँमा, जहाँ गर्दा पनि हुन्छ । तर, केही न केही उपाय निकाल्नका लागि बातचित हुनु जरुरी छ । आन्तरिक समझदारीबाट नेपालको राजनीतिक माहोल पनि सही बाटोमा जान्छ, भारतसँगको असमझदारी वा असहजपन पनि अन्त्य हुन्छ भन्नेमा म विश्वस्त छु ।

लामो समयपछि नेपालमा संविधान जारी भएकोमा सबैभन्दा घनिष्ट छिमेकीको नाताले भारतले समर्थन र स्वागत गर्नुपर्नेमा त्यो भएन, बरु असन्तुष्टि र आक्रोश व्यक्त भयो । कंग्रेस आईले पनि स्वागत गरेन, तपाईंचाहिँ यसलाई के ठान्नुुहुन्छ ?

नेपालकै सबै पक्षले संविधानको स्वागत गरेका छैनन् भने भारतले गर्ने स्वागत वा विरोधको के अर्थ हुन्छ ? नेपालमै विरोध भइरहँदा भारतको सरकार वा हाम्रो दलले स्वागत समर्थन गर्नुको महत्त्व कति हुन्छ ? यसको मतलब हामी नयाँ संविधानका विरोधी होइनौँ । नेपाली जनताको लामो समयदेखिको चाहनामा हामी पनि एकाकार छौँ, सद्भाव व्यक्त गर्छौं ।

तर, नेपाली नेताले सर्वसम्मतिबाट संविधान जारी गर्छौं भनेका थिए । हरेक व्यक्तिलाई खुसी पारेर नयाँ संविधान लेख्न सम्भव छैन । तर, सबै पक्षलाई सहमतिमा ल्याएर मात्रै जारी गर्दा त्यो दिगो र टिकाउ हुन्छ भन्ने मात्र मेरो धारणा हो । नेपालका सबै समूह खुसी भइदिएको भए, उनीहरूले स्वागत गरिदिएको भए हामी पनि खुसी हुन्थ्यौँ, हार्दिकतापूर्वक स्वागत गथ्र्यौं । नेपालकै समूह असन्तुष्ट हुँदा हामी सन्तुष्ट छौँ भन्न कसरी सकियो र ।

यो नेपालको आन्तरिक समस्या हो र सरकार तथा ठूला दलले साना असन्तुष्ट समूहलाई समेटेर जाने वचन दिँदै आएका छन् । यो वेला भारतको प्रतिक्रिया अनपेक्षित भएन र ?

तपाईंले भनेजस्तो यो सानो हो कि ठूलो समस्या हो, असन्तुष्टहरू सानो वा ठूलो संख्यामा छन् म केही भन्न सक्दिनँ, तपाईंहरूलाई नै जानकारी भएको विषय हो । नेपालको शुभचिन्तक भएका नाताले मेरो यही सुझाब छ कि असन्तुष्ट पक्षसँग छलफल गरेर नेपालले आगामी यात्रा तय गर्नुपर्छ । वार्तामा सरकारले बोलाएको, दलहरूले वचन दिएको एउटा पक्ष होला, तर सार्थक वार्ता भएको मलाई थाहा छैन । त्यसकारण ठूला दलले अग्रसरता लिएर सार्थक वार्ता गरून् भन्ने म चाहन्छु ।

यो यथाशीघ्र होस् । यदि सार्थक वार्ता भएन र असहज परिस्थिति धेरै दिनसम्म चल्यो भने जनतालाई थप कठिनाइ हुनेछ । किनभने नेपालमा चाडबाड आउँदै छन् । पितृपक्ष प्रारम्भ भएको छ, अब दसैँ–तिहार नजिकिँदै छन् । जनतालाई हुने कष्टबारे नेपालका दलले समयमै विचार पुर्‍याउनेछन् भन्ने मेरो आशा छ ।

भारतले अघोषित नाकाबन्दी लगाएको भनिएको छ र यसका कारण नेपालमा आपूर्ति ठप्प भएको छ, नेपाली जनताले दु:ख पाएका छन् । यसबारे के भन्नुहुन्छ ?

भारतका तर्फबाट आपूर्ति व्यवस्थामा गडबड छैन, बरु नेपालकै तराई अशान्त र असुरक्षित हुँदा ढुवानीमा समस्या परेको मैले बुझेको छु । अहिलेको अवस्थाले नेपालीलाई त नोक्सान भएकै छ, भारतका मानिसलाई पनि उत्तिकै नोक्सान भएको छ । ट्रक लिएर जानेहरूले ठूलो नोक्सानी व्यहोरिरहेका छन् । उनीहरूको सामान बिक्री नहुँदा भएको नोक्सानलाई पनि हामीले एकैसाथ हेर्नुपर्छ ।

तर, यो परिस्थितिपछि नेपालमा भारतविरोधी जनमत बढेको छ । भारतले नजिकको छिमेकीमाथि अन्याय गरेको भन्ने आक्रोश आइरहेको छ, यसबारेचाहिँ के भन्नुहुन्छ ?

नेपालमा भारतविरोधी सेन्टिमेन्ट नयाँ होइन । मैले धेरै पहिलेदेखि यो देख्दै–सुन्दै आएको हुँ । यसबाट न नेपाललाई फाइदा छ, न त भारतलाई नै । नेपालका पछिल्ला घटनाक्रममा भारतमाथि दोष दिनु मात्रै न्याय हुँदैन । नौ वर्षसम्म नेपालमा संविधान जारी हुन सकेन, यसमा भारतको के दोष ? अहिले सरकारमा हामी (भारतीय राष्ट्रिय कंग्रेस) छैन । तर, जहाँसम्म मलाई सम्झना छ, भारतको सरकारले पटक–पटक सबैलाई सहमतिमा लिएर संविधान बनाउनुस् भन्दै आएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीजीले पनि दुईपटक नेपाल गएर सहमतिका आधारमा संविधान बनाउनुस् भन्नुभएको हो । दोस्रो नेपाल भ्रमणका वेला त मोदीले स्पष्ट भनेका थिए, संविधान निर्माण बहुमतको कुरो होइन, सबैलाई मिलाएर जानुपर्छ । यो कुरा नभएपछि सरकारले असन्तुष्टि जनाएको हुनसक्छ । तर, म भन्छु समाधान नेपालमै छ, भारतमा छैन ।

तपाईंले नै भन्नुभयो कि तपाईंले राजा ज्ञानेन्द्रलाई चिठी दिएपछि संविधान निर्माणको कोर्स सुरु भयो र अहिले पूरा भयो । तर, आफैँले कोरेको गन्तव्य पूरा हुँदा तपाईं नै प्रशन्न हुनुहुन्न नि ?

नेपालले जे–जे राजनीतिक लाभ प्राप्त गर्‍यो, नेपालीले जे–जे प्राप्त गरे र उनीहरू जति खुसी भए, हामी पनि त्यति नै खुसी छौँ । म पनि नेपालको एक नातेदार र शुभचिन्तक हुनुको नाताले बेखुस छैन । तर, नेपालीहरूकै एउटा पक्ष असन्तुष्ट रहेका वेला म पूर्ण रूपमा कसरी प्रशन्न हुन सक्छु भन्ने मात्रै मेरो भनाइ हो । किनभने नेपालमा नयाँ संविधान जारी भएपछि तनाव सुरु भएको छ । अधिकतम जनता असन्तुष्ट छन् भन्ने खबर आइरहेको छ ।

दिल्लीमा बसेर यसको यथार्थ थाहा नहोला तर एउटा अंश त सही हो कि नेपालको दक्षिण क्षेत्र तनावग्रस्त छ । संविधानको विरोध भएको छ । मानिसको ज्यान गएको छ । त्यसकारण हामी खुसी रहनुपर्ने माहोल छैन भन्न मात्रै खोजेको हुँ मैले । नेपालीहरूले आफ्नो घर शान्त पार्नुस्, समस्याको समाधान गर्नुस् । हामी त्यसै खुसी हुन्छौँ । नेपालीसँग मिलेर हामी पनि खुसियाली मनाउँला । यसमा के समस्या छ र ?

अहिलेको असहजता हटाउन भारत सरकारलाई तपाईंको सुझाब के छ ?

भारत सरकारलाई मेरो सुझाब छ कि उसले अहिले केही गर्ने होइन । हस्तक्षेप भयो भनेर नेपालमा भारतको विरोध भइरहेका वेला अहिले भारतले के गर्ने ? भारतले गर्ने केही पनि ठाउँ छैन । भारतले नेपाललाई सहयोग गर्न केमा चुकेको छ ? त्यति ठूलो भूकम्प आयो, हामीले ठूलो सहयोग दियौँ । विकास निर्माणमा सहयोग दिएकै छौँ । नेपालको पुनर्निर्माणमा पनि भारतले ठूलो सहयोग घोषणा गरेको छ । अहिले हामीले फेरि मद्दत गरौँला त फेरि भारतविरोधी धारणा नेपालमा प्रदर्शन होला ।

तपाईंहरूले संविधान बनाउनुभयो, भारतको विरोध भयो । यो त गलत हो नि । भारतले संविधान बनाइदिएको भए पो भारतको विरोध गर्नुपथ्र्यो, नेपालले संविधान जारी गरेको छ । भारतको विरोध किन ? मैले बुझेको छैन । नेपाल र भारतवर्षको बीचमा प्राचीन सम्बन्ध छ । बृहत् सम्बन्ध छ । तपाईंहरू आफ्नो घर मिलाउनुस्, शान्त पार्नुस्, भारतलाई यसमा संलग्न गराउनु जरुरी छैन । भारतलाई यसमा गाली गर्नुपर्ने पनि आवश्यक छैन ।

पछिल्लो घटनाक्रमलाई कतिपयले त मोदी सरकारको छिमेकलाई पहिलो प्राथमिकतामा राख्ने विदेशनीति नेपालमा असफल भएको टिप्पणी गरिरहेका छन्, तपाईंलाई के लाग्छ ?

हेर्नुस्, यसबारे चर्चा गर्ने समय आइसकेको छैन । लामो चर्चा गरेर यसबारे म विवादमा आउन पनि चाहन्नँ । एउटा कुरा बोल्दा अर्को रिसाउने, अर्को बोल्दा अर्को पक्ष रिसाउने वातावरण छ । यसबारे पछि समीक्षा गरौँला, बताउँला । तर, नेपाल र भारतबीच आवागमन जसरी बन्द भएको छ, त्यसमा म दु:खी छु । नेपालतर्फ आपूर्ति सहज हुनुपर्छ, बन्द हुनु हुँदैन । अहिले नेपाली जनतालाई परेको कष्टमा मेरो सहानुभूति छ, भारतीय पक्षले पनि भोगेको कष्ट बडो दु:खद छ । नेपालका दललाई फेरि पनि असन्तुष्ट पक्षसँग वार्ता गरेर समाधान निकाल्न म आह्वान गर्छु र त्यसका लागि तयार हुन असन्तुष्ट पक्षलाई पनि म निवेदन गर्छु । शान्त नेपाल मेरो र भारतवर्षको चाहना हो । नयाँ पत्रिका / पर्शुराम काफ्ले

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.