काठमाडौं, १३ आश्विन । एकीकृत माओवादीले प्रदेश नम्बर २ मा विशेष अभियान चलाउने तयारी गरेको छ । तराई–मधेसमा अनिश्चितकालीन बन्द जारी रहेकै अवस्थामा एमाओवादीले यस्तो अभियान चलाउने भएको हो ।
पार्टीका प्रमुख नेता, मधेसबाट प्रतिनिधित्व गर्ने नेता र त्यस क्षेत्रमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरूको मंगलबार बसेको बैठकले २ नम्बर प्रदेशका सबै जिल्लामा स्थानीयस्तरसम्म प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा बसेको बैठकले पोलिटब्युरो सदस्य रामचन्द्र झा, प्रभु साह, केन्द्रीय सदस्यहरू रामकुमार शर्मा र रामरिझन यादवले पार्टी छाड्दा पार्टीको जनाधारमा ठूलो घाटा नहुने निष्कर्ष निकालेको छ ।
सोमबार सम्पन्न एमाओवादी केन्द्रीय समिति बैठकले प्रभु साह, रामकुमार शर्मा र रामरिझन यादवलाई स्पष्टीकरण लिएर चित्तबुझ्दो जवाफ नदिए कारबाही गर्ने निर्णय गरेको थियो । ‘आठै जिल्लाका इन्चार्जहरूको रिपोर्टबाट पार्टीको बैठक बहिष्कार गरेका नेताहरूले पार्टी छाड्दा पनि जनाधारमा ठूलो समस्या नल्याउने निष्कर्ष निस्किएको छ,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘केही न केही घाटा त लाग्छ नै, तैपनि हामी चिरेर जान सक्छौँ ।’
पेरिसडाँडामा मधेसबाट प्रतिनिधित्व गर्ने नेताहरूको बैठक चल्दै गर्दा रामचन्द्र झालगायत नेताहरू भने जनकपुरमा एमाओवादी परित्याग गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई स्वागत गर्दै थिए । बैठकमा अध्यक्ष प्रचण्डले मधेसी नेताहरूलाई संविधानको राम्रो र नराम्रो पक्ष लिएर कार्यकर्ता र जनतालाई बुझाउन गाउँ पुग्न निर्देशन दिएका छन् ।
‘संविधानले हाम्रा धेरै उपलब्धिलाई संस्थागत गरेका छन्, केही हाम्रा माग सम्बोधन हुन सकेका छैनन्, हामी सम्बोधन भएका र नभएका दुवै विषय लिएर कार्यकर्ता र जनतालाई स्पष्ट पार्न जान्छौँ,’ केन्द्रीय सदस्य उमेशकुमार यादवले भने, ‘मधेसी जनताले केही नै नपाएजस्तो भ्रामक प्रचार गरिएको छ, हामी त्यसलाई चिर्छौँ ।’
अर्का कन्ेद्रीय सदस्य रामचन्द्र मण्डलले मौलिक हकमा समानुपातिक समावेशी प्रतिनिधित्व राख्नुपर्ने, झापा, मोरङ र सुनसरीलाई प्रदेश नम्बर २ मा राख्नुपर्ने र नवलपरासीदेखि कञ्चनपुरसम्म एउटै प्रदेश बनाउनुपर्ने पार्टीको फरक मत जनतामा लैजाने बताए । ‘मधेसले केही पनि पाएन कि भन्ने भ्रम छ, हामीले पाएका र नपाएका कुरा लैजान्छौँ,’ उनले भने । एमाओवादीका मधेसी नेताहरूले भारतले गरेको नाकाबन्दीको समेत भन्डाफोर गर्ने निर्णय गरेका छन् ।
‘मधेसवादी पार्टीका नेताका कारण सबै मधेसीलाई एउटै आँखाले हेर्ने गरिएको छ, जुन बेठीक हो, हामी भारतीय हस्तक्षविरुद्ध उत्रन्छौँ,’ एक नेताले भने, ‘मधेसवादी नेताहरूको गलत क्रियाकलापको भन्डाफोर पनि गर्छौैँ ।’ केन्द्रीय सदस्य ज्वाला साहले मधेसमा भट्टराईको समानान्तर समिति भएको भन्दै आधिकारिक समितिलाई सक्रिय बनाएर लैजानुपर्ने कुरा उठेको जानकारी दिइन् ।
संसद् सुरु हुनासाथ संविधान संशोधन
मधेसी नेताहरूसँगको बैठकमा अध्यक्ष प्रचण्डले प्रमुख दलबीच भएको सहमतिअनुसार व्यवस्थापिका–संसद् बैठक सुरु भएलगत्तै संविधान संशोधन प्रक्रिया अगाडि बढाउने जानकारी गराएका थिए । उनले संविधान संशोधन गरेर मधेसी र थारूको माग सम्बोधनमा लाग्ने बताए ।
‘बैठकमा संविधान संशोधन गरेर मात्रै २ नम्बर प्रदेशको प्रशिक्षण गर्ने कि भन्ने कुरा पनि उठ्यो । अध्यक्षले संविधान संशोधन गरेर मधेसी र थारूको मुद्दा सम्बोधन गर्न छिटोभन्दा छिटो लाग्छौँ भन्नुभयो,’ केन्द्रीय सदस्य साहले भनिन्, ‘संशोधन प्रक्रिया सुरु भइसकेकाले मधेसकेन्द्रित पार्टीहरूसँग वार्ता गरेर संशोधन गर्ने जानकारी गराउनुभयो ।’
‘सरकारको टुंगो छैन’
अध्यक्ष प्रचण्डले सरकार राष्ट्रिय सहमतिको बन्ने या बहुमतीय भन्ने टुंगो लागिनसकेकोसमेत बताए । उनले सरकार राष्ट्रिय सहमतिको या बहुमतीय बन्ने कांग्रेस र एमालेको हातमा भएको बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए । ‘हामी अहिलेको चुनौतीलाई सामना गर्न राष्ट्रिय सहमतिको सरकार चाहिन्छ भनिरहेका छौँ ।
यसमा कांग्रेस र एमालेको क्लियर कुरा आएको छैन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘राष्ट्रिय सरकार बन्छ कि बहुमतीय बन्ने भन्ने छलफलमा छौँ, टुंगिएको छैन ।’ प्रचण्डले पार्टी सरकारमा जाने अवस्थामा मधेसबाट प्रतिनिधित्व गराउने प्रतिबद्धतासमेत जनाएका छन् ।
बैठकमा एमाओवादी सचिव गिरिराजमणि पोखरेल, कोषाध्यक्ष हरिबोल गजुरेल, पोलिटब्युरो सदस्य विश्वनाथ साहसमेत सहभागी थिए । बैठकमा केन्द्रीय सदस्यहरू उमेशकुमार यादव, हरिनारायण चौधरी, रामचन्द्र मण्डल, राजु खड्का, विन्देश्वर यादव, अनिल श्रेष्ठ, ज्वाला साहलगायतले रिपोर्ट राखेका थिए । बैठकले २५ गते हुने प्रदेशको प्रशिक्षण भेला महोत्तरीको बर्दिबासमा गर्ने निर्णय गरेको छ ।
-नयाँ पत्रिका




madheshi ko indian bujne ko madhes ma ke kam