वृजराज कुशवाहा, भैरहवा १२ आश्विन । नेपालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरिएको भन्दै सिमा क्षेत्रका भारतीय व्यापारीहरु पनि विरोधमा उत्रेका छन् । विरोधमा उत्रेका भारतीय व्यापारीहरु मालवाहक गाडी नेपाल आउनमा रोक लगाएका छन् ।
उनीहरुले मोदीको पुतला जलाउने देशमा भारतीय सामान जान नदिने बताएका छन् । उनीहरुले नेपाल आउन लागेको लु १ ज ८२६९ र लु १ ज ८३८७ नं. को पेट्रोल बोकेको ट्यांकरमा भारतीय बजार सुनौलीमा तोडफोड गरेका छन् । पसल बन्द गरी सयौंका संख्यामा भारतीय व्यापारीहरु विरोधमा उत्रेका छन् ।
हिजो सोमवार नवलपरासीको कावासोती र बर्दघाट तथा रुपन्देहीको भैरहवामा भारतीय प्रधानमन्त्री मोदीको पुतला जलाईएकाले भारतीय व्यापारीहरु आक्रोसित बनेका हुन् ।
नाकामा कडाई, भारतीय व्यापारीको समर्थन
मधेशवादीको शान्तिपूर्ण आन्दोलनमा नेपाल प्रहरीले दमन गरेको तथा बेलहियाका नेपाली व्यापारीले बन्दकर्ताको प्रतिकार गरेको भन्दै आक्रोसित बनेका सीमापारीका भारतीय व्यापारीहरुले आज आफ्ना पसल बन्द गरी विरोध जनाएका छन् ।

यता मधेशी मोर्चाको जारी रहेको सीमा नाकाबन्दीका कारण रुपन्देहीको सुनौली नाकाबाट आज मंगलवार कुनै पनि मालवाहक गाडी नेपाल भित्रिन पाएन । मधेशी मोर्चाका आन्दोलनकारी कार्यकर्ताहरुको बाक्लो उपस्थितीका कारण नेपाल भित्रिनका लागि आएका पेट्रोलियम पदार्थ तथा मालवाहक गाडीहरु नेपाली सीमामा प्रवेश गर्न पाएनन् ।
आन्दोलनकारीहरु सुनौली नाकास्थित बेलहियामा नाकाबन्द गरी सडकमै बसेका थिए । नाका आज छैंठौं दिन पनि पुर्ण प्रभावित बनेको छ । कुनै पनि सामान नेपाल भित्रिन पाएको छैन ।
रुपन्देहीको सुनौली नाकामा विगत ५ दिनदेखि आन्दोलनकारीको नेतृत्व गर्दै आएका ओमप्रकाश यादव गुल्जारीले आज मंगलवार कुनै पनि मालवाहक गाडी नेपाल प्रवेश नगरेको बताए । नेपाल जान भनी भारतबाट कुनै पनि गाडी सीमातर्फ नआएको र आएमा आफुहरु नेपाल भित्रिन नदिनका लागि हजारौंको संख्यामा जुटिरहेको दावी गरे ।
नाकाबन्दीको कार्यक्रममा सहभागी हुन नवलपरासीबाट पनि सयोैंको संख्यामा आन्दोलनकारीहरु आज सुनौली पुगेका थिए । बेलहियामा भएको झडपको क्रममा प्रहरीले २ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले सडकमा बसेका पोखरभिण्डी १ का योगेन्द्र चौधरी र हात्तबिनगाईं ९ का आकाश भनिने महम्मद हसन रजाकलाई नियन्त्रणमा लिएको हो ।



