रमेश ठाकुर, रौतहट, १२ असोज । मधेशी मोर्चाले रौतहटको गौर बैरगनिया नाका मंगलबार पनि ठप्प पारेको छ । गौर बैरगनियको सीमानामा धर्ना बसेर मोर्चाका नेता तथा कार्यकर्ताले छैठौ दिन पनि गौर भन्सार नाका ठप्प पारेका हुन् ।
मधेशी मोर्चाको केन्द्रीय निर्णय अनुसार मोर्चाका नेता तथा कार्यकर्ताहरुले गौर बैरगनियाको सीमामा रहेको पुलमा सोमबार देखि २४ सै घण्टा रिले अनसनमा बसेर नाका ठप्प पारेका हुन् । नाकाबन्दीको छैठो र रिले अनशनको दोश्रो दिन मंगलबार मोर्चाका नेताहरु सीमानामा धर्नामा बसेर नाराबाजी गरेका छन् । सीमामा रहेको पुलमै बसेर नाराबाजी गरेपछि सवारी साधनको आवत जावतमा कठिनाई भएको छ । गौर बैरगनिया नाकाबाट खासै ठूलो मात्रामा कारोबार नभएपनि मुख्य रुपमा आलु, प्याज, दाल, फलफूल, कपडा तथा कोइला बोकेका ट्रक नेपाल भित्रिने गरेका थिए । तर, मोर्चाले गरेको नाकाबन्दीका कारण अहिले सम्पुर्ण कारोबार ठप्प भएको छ ।
सोमबार देखि सुरु भएको रिले अनशनको दोश्रो दिन निर्माण व्यवसायी संघका सदस्यहरु अनशनमा बसेका छन् । अनशन बस्नेहरुमा निर्माण व्यवसायी संघका अध्यक्ष नागेन्द्र साह, महासचिव अरबिन्द जैस्वाल, सदस्यहरु बिक्रान्तल विक्रम नेपाल, अर्जुन सिंह लगायत रहेका छन् ।



