बीपी साह, सप्तरी (कोइलाडी) । मधेशका बाढी प्रभावितलाई राहतमा कुनै कमी नभएको गृहमन्त्रालयले बारम्बार दाबी गर्दै आएको छ । प्रभावित क्षेत्रका लागि रकम पनि ठूलो मात्रामा उठाइएको छ तर ति रकम अनुसारको राहत बाढी पीडितलाई सरकारले दिन सकेको छैन ।

हुलाकी न्यूजको टोली सप्तरीको कोइलाडी तिलाठी गाउँपालिका स्थित बनरझुल्लामा पुग्दा बाटो छेउमा होहल्ला हुँदै थियो । त्यहाँ वडा नम्बर पाँचका ३ सय १० घर परिवारलाई गृहमन्त्रालयको गाउँपालिकामार्फत पठाएको राहत बाँडिदै थियो ।

त्यस वडाका सचिव राजेन्द्र कर्णले पठाएको पत्रमा ३ सय १० परिवारका लागि ३१ कार्टुन चाउचाउ अर्थात प्रतिपरिवार ३ वटा चाउचाउ पठाइएको छ । त्यस्तै, ३ यस १० परिवारका लागि एक बोरा मुरही(भुजा) पठाइएको छ । प्रतिपरिवार २ वटा विस्कुटको दरले ५२ प्याकेट विस्कुट पठाइएको छ । त्यस्तै, पाँच किल्लो ग्रामको २० वटा च्युराको प्याकेट पठाइएको छ । (हेर्नुस् लिष्ट)

राहत वितरणमा सक्रिय रामकुमार राई आक्रोसित हुँदै भने,‘सरकारले परेवालाई पनि खाना दिदा मुठी भर दिन्छन् तर हामीलाई परेवाभन्दा पनि सानो ठानेको छ ।’

रोचक कुरा के छ भने यसअघि सरकारले पठाएको राहतमा कुहिएको चामल गएको थियो । उक्त चामल फिर्ता गरेपछि प्रमुख जिल्ला अधिकारीसहित सरकारी पक्षको निकै आलोचना भएको थियो । त्यसपछि शनिबार मात्रै पहिलो पटक यती राहत पठाइएको राई बताउँछन् ।

त्यसअघि प्रमुख जिल्ला अधिकारीले राहत लिन बोलाएका थिए । बनरझुल्लाबासी दुईवटा ट्याक्टर लिएर राहत लिन पुगेका थिए । तर खाली हात फर्के । किनभने त्यहाँको राहत माओवादीका सांसद अमर मण्डल मार्फत बाँडिएको प्रमुख जिल्ला अधिकारीले बताए । तर त्यो राहत बनरझुल्लासम्म आएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.