बीपी साह, सप्तरी (गोबरगाढा) । वर्षातको मौसम होस् अथवा कोसी नदीको प्रलय, चर्चामा आउने गरेको छ नेपालको एक मात्र टापु गोबरगाढा ।

गोबरगाढालाई चारैतिरबाट कोसी नदीले घेरेको छ । जहाँ आउन जान नाउँ(डुँगा) मात्र साधन हो ।

यहाँ करिब ३० दलित परिवारसहित हाल करिब ९० परिवारको उपस्थिति रहेको छ । यहाँबाट अधिकांश परिवार विस्थापित भइसकेका छन् ।

यस पटकको बाढीले करिब एक दर्जन घर बगाएको छ । र, पानी पस्नबाट कुनै घर जोगिएको छैन । घरमा भएका थोरै खाद्यान्न पनि बगेका छन् अथवा कुहिएको छ ।

बाढी गएको एक साता वित्दासमेत कुनै राहत पुगेको छैन । गाइमाल पालनबाट गुजारा गरिरहेका गोबरगाढा बासीको अधिकांश गाइ मरेका छन् । गाउँ नजिकै फालिएकोले महामारी फैलिने सम्भावना छ ।

स्थानीय सकल देव सादा भन्छन्,‘त्यो दिन बाढी आउँदा दिउँसोदेखि रातभरी परिवारसहित खाटमा बसेका थियौं । कोसी माताको पुजा गर्यौं । हामीले बाढी रोकियोस् भनी पाठी पनि चढायौं ।’

सादाले गाउँ नजिकै मरेका गाइमालको दुर्गन्धले बस्न अप्ठ्यारो भएको बताए । साथै कोसीमा बगेर आएका मरेका जनावरहरु पनि त्यही आसपासमा कुहिँदैछ ।

गोबरगाढाका लागि केही महिनाअघि सोलर लाइट खरिद गरिएको छ । तर अहिलेसम्म वितरण गरिएको छैन । भारदह नगरपालिका सचिवले स्थानीय चुनावको समयमा लाइट बाढ्ने भनेका छन् ।

गोबरगाढाका पूर्व वडा अध्यक्ष रामचरण यादव भन्छन्,‘हामी बारम्बार लाइट माग्न गयौं तर दिएन । सचिव जी भन्नु हुन्छ चुनावको समयमा दिने छौं । अहिले साँझ पर्ने वितिकै सर्पहरु घरमा पस्न थालेको छ । हामीलाई तत्काल लाइट उपलब्ध गराइदिन तपाईहरुले पहल गरिदिनुस् ।’

गोबरबागाढाबाट विस्थापित भएर सदरमुकाम आएका केही परिवारले समान्य राहत पाएका छन् तर गोबरगाढामा राहत लिएर न त सरकार पुगेको छ न त समाजिक संस्थाहरु नै ।

सरकारी संयन्त्र र गैरसरकारी संस्था अथवा समूहहरु सदरमुकाम आसपासका क्षेत्रमा सिमित छन् । गोबरगाढा पुग्न कठिन भएकोले पनि कुनै निकाय पुग्न चाहेको छैन ।

यहाँसम्म कि बाढी प्रभावितको तथ्यांक संकलन गर्दा प्रहरीले नदीको छेउबाटै तथ्यांक संकलन गरेको स्थानीय डुगाँ चलाउनेहरुले बताए ।

यहाँ तत्कालै खाद्यान्न सामाग्री पुर्याउन आवश्यक छ । अरु परिवारले जेनतेन गुजारा गरिरहे पनि दलित परिवारको अवस्था नाजुक छ ।

त्यस्तै, गोबरगाढा बासीको स्वाथ्य उपचार हुनु आवश्यक छ । जसका लागि तत्काल मेडिकल टिम जानु पर्नेछ ।
गाउँमा स्वास्थ्य चौकी हुँदासमेत डाक्टर छैनन् । आफ्ना नातागोताका मान्छेलाई स्वयम्सेवीका बनाइएकोले स्वयम् सेवीकाहरु स्वयम् औषधी चिन्न जान्दैनन् । जसकारण उनीहरुले बाँडेको औषधि स्थानीयबासीहरुले खाँदैनन् ।

पूर्व वडा अध्यक्ष यादव भन्छन्,‘डाक्टर नबसेपनि स्वयम्सेविका एसएलसीसम्म पढेको होस् जसले औषधिको पहिचान गर्न सकोस् । अहिले केही व्यक्तिले आफ्ना परिवारका अनपढहरुलाई स्वयम्सेविका बनाएको छ जसले औषधि चिन्हदैन । उनीहरुले दिएको औषधी खाएर मर्छु कि भन्ने डरले कसैले औषधि पनि लिदैन ।’

दिर्घकालिन के गर्न सकिन्छ ?

गोबरगाढाको केही परिवार पुर्नस्थापनामा जान चाहन्छन् । सरकारले महेन्द्र राजमार्ग आसपासको क्षेत्रमा पुर्नवास गराउने भने पनि प्रक्रिया अहिलेसम्म अगाडि बढेको छैन ।

गोबरगाढा बासीको सार्वजनिक डँुगा बारम्बार चोरी हुने गरेको छ । जसबाट सबभन्दा बढी दलित परिवार पीडित हुने गरेका छन् । गैर दलितको समूहको डुँगामा दलितहरु प्राथमिकतामा पर्ने गरेका छैनन् ।

स्थानीय विनोद सादाले भने,‘हामीलाई दिइएको डुँगा केही वर्षदेखि चोरी हुँदै आएका छ । यस पटक पनि हाम्रो डुँगा चोरी भएको छ । उपसभामुख जीले दिनु भएको टुँगा चोरी भएको छ । जसले हामी दलित परिवारलाई समस्या भएको छ । अरुहरुसँग डुँगा भएपनि तिनीहरुले हामीलाई चढाउन मान्दैनन् ।’

डुँगा चोरीको रहस्य खोज्दै जाँदा त्यहाँका अगुवाहरुले नै डुँगा बेच्ने गरेको अनुमान लाग्छ । किनभने केही व्यक्तिको नीजि डुँगा अहिलेसम्म चोरी भएको छैन । तर सार्वजनिक डुँगा बारम्बार चोरी हुँदै आएका छ । सार्वजनिक डुँगा जसको जिम्मेबारीमा दिइन्छ तिनीहरुकै मिलिमतोमा रातारात डुँगा बेचिने गरिएको एक स्थानीयबासीले बताए ।
हाल यस क्षेत्रमा डुँगाको पनि आवश्यकता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.