१ भदौ, सोल । दक्षिण कोरियाले उत्तर कोरियासँग वार्ता प्रस्ताव थालेको खबर सञ्चारमाध्यमहरुले जनाएको छ । प्रायः दुर्लभ मानिने उत्तर दक्षिण वार्ताको प्रस्तावलाई नयाँ प्रयासका रुपमा लिइएको सोलबाट प्राप्त पछिल्लो समाचारले जनाएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तर कोरियासँग वार्ताको प्रस्तावलाई अगाडी बढाउने प्रयास गर्नुभएको हो । उहाँले यस विषयमा आफू तयार रहेको भन्दै कोरियाली प्रायद्वीपमा बढ्दो तनाव कम गर्नका लागि पनि अब वार्ता नै एक विकल्प रहेको बताउनुभएको हो ।

यसअघि गत महिनामात्र रेड क्रसको अन्तर्राष्ट्रिय समितिले दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनसँग उत्तर र दक्षिण कोरियाका परिवारसँगको पुनर्मिलनका लागि छलफल गर्न समय माग गरेको थियो । त्यस समय पनि उहाँले सो वार्ताका लागि प्रक्रिया अघि बढाउन आग्रह गर्नुभएको थियो ।

तर सो प्रस्ताव हाल भने अघि बढ्न सकेको छैन । त्यसको महिनादिन पछि बिहीबार दक्षिण कोरियाली राष्ट्रपतिले उत्तर कोरियासँग यो शान्ति वार्ताको प्रस्ताव गनुर्भएको हो ।

बिहीबार राजधानी सोलमा राष्ट्रिय टेलिभिजनमा गर्नुभएको सम्बोधनमा उहाँले उत्तरसँग वार्ता गरेर कोरियाली प्रायद्वीपमा देखिएको समस्या हलगर्न सकिने प्रस्ताव गर्नुभएको बुझिएको छ ।

सन् १९५०–१९५३ मा भएको कोरियाली युद्धको समयमा अलग भएका परिवारलाई समय समयमा पुनर्मिलन गराउने कार्यक्रमअनुसार रेड क्रसले वार्ता गर्ने प्रस्ताव गरेको थियो । त्यस्तै गत महिनामात्र पनि दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँग रक्षा र सैनिक सम्बन्धमा वार्ताका लागि प्रस्ताव गरेको थियो ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँगको सीमा क्षेत्रमा रहेको पानुमजोम नामक एक गाँउमा वार्तागर्न प्रस्ताव राखेको थियो । त्यस स्थानमा यसअघि पनि यी दुई देशबीच वार्ता हुने गरेको थियो ।

त्यस विषयमा पनि उत्तर कोरियाले कुनै जवाफ पठाएको छैन । उसले दक्षिण कोरियासँग वार्ता गर्ने वा नगर्ने कुनै पनि विषयमा केही जवाफ दिएको छैन । पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा जारी रहेको तनाव कम गर्ने उद्देश्यले सो वार्ताको प्रस्ताव गरिएको दक्षिण कोरियाली राष्ट्रपतिले बिहीबार गर्नुभएको प्रस्तावका बारेमा पनि उत्तरको जवाफ आउला वा के गर्ला भन्ने बारेमा पनि यसै भन्न सकिने अवस्था नरहेको बताइएको छ ।

सन् २०१५ को अक्टोबरपछि दुवै देशका तर्फबाट कुनै वार्ता भएको छैन । त्यसैगरी त्यसयता दुवै देशका तर्फबाट गर्ने गरिएको पारिवारिक पुनर्मिलनका पनि हुन सकिरहेको छैन । पारिवारिक पुनर्मिललनका लागि दक्षिण कोरियाली सरकारलाई नागरिकले दबाब दिइरहेका छन् । कोरिया युद्धपछि उत्तर र दक्षिण कोरियाका रुपमा देश टुक्रिएका थिए । त्यसलगत्तै जो जता परे त्यतै बस्नुपर्ने नियम बनेका कारण यी दुवै देशका ६० हजारभन्दा बढीको सङ्ख्याका नागरिक अलग भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.