लहान, १ भदौ । जिल्लाको बाढी प्रभावित क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालयले निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

सिरहाको अति प्रभावित क्षेत्रमा कार्यालयबाट खटिएको टोलीले बाढीबाट सबैभन्दा बढी प्रभावित सिरहाको कल्याणपुर नगरपालिका–३ स्थित इटारी प्रसाहीका बाढीपीडितलाई लक्षित गरी तीनदिने निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको कार्यालयका प्रमुख डा चुमनलाल दासले जानकारी दिनुभयो ।

बाढी प्रभावित स्थानमा रोगको संक्रमण फैलिन नदिन र बाढीपीडितलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले इटारी प्रसाहीस्थित निमावि परिसरमा साउन २९ देखि ३२ गतेसम्म सञ्चालन गरेको स्वास्थ्य शिविरमा बाढीबाट विस्थापित भई स्थानीय विद्यालयमा शरण लिएर बस्दै आएका २४८ जनाको निःशुल्क स्वास्थ्य जाँच गराएको उहाँले बताउनुभयो ।

सो क्रममा काठमाडौँ विश्वविद्यालयको धुलिखेल अस्पतालले स्वास्थ्य शिविरसँगै विभिन्न लत्ताकपडा, भाँडाकुडालगायतका सामग्री बाढीपीडितलाई वितरण गर्न कल्याणपुर नगरपालिका कार्यालयको जिम्मा लगाएको जनाएको छ ।

यसैगरी बाढी प्रभावित जिल्लाको कर्जन्हा गाउँपालिका–२ मा स्वास्थ्यकर्मीको टोली परिचालन गरी २९ जना बाढीपीडितको स्वास्थ्य जाँच गरेको छ भने लहान नगरपालिका–१ मुसहरबस्ती, कर्जन्हा गाउँपालिकाको गौतारी, औरही र मिर्चैया नगरपालिकाका बाढी प्रभावित स्थानमा समेत स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको प्रमुख डा दासले जानकारी दिनुभयो ।

शिविरमा दूषित पानी तथा खाना तथा प्रदुषणका कारण हुने कमलपित्त (जण्डिस), झाडापखाला, ज्वरो, रुघा, खोकी, बान्ता आउने, रिंगटा लाग्नेजस्ता रोगको परीक्षण र निःशुल्क औषधि समेतको प्रबन्ध मिलाइएको उहाँको भनाइ छ ।

यसैबीच बाढीका कारण खानेपानी दूषित भएकाले पानी शुद्धीकरणका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयलगायत खानेपानीका क्षेत्रमा कार्यरत सङ्घघसंस्थाले इटारी प्रसाहीका बाढीबाट पीडित ७६ परिवारलाई हाइजिंब किट, पियुस र बाल्टिन वितरण गरेको छ ।

बाढीका कारण प्रदूषण फैलिएको र खानेपानीको मुहानसमेत दूषित भएकाले पानी निर्मलीकरण गर्न बाढीपीडित परिवारलाई ती सामान वितरण गरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख राजेश कुशवाहाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.