सुभाषप्रसाद साह

यतिबेला नेपाली राजनीतिमा ‘काठमाडौं, मधेश र दिल्ली’ चर्चाको बिषय बनेको छ । नेपाली मिडियामा काठमाडौं, मधेश र दिल्लीको राजनीतिले प्रमुख स्थान पाएसंगै यसको बारेमा गाउँ देहातमा पनि चाखलाग्दो चर्चा भईरहेको छ ।

ऐतिहासिक, पर्यटकिय, धार्मिक एवं प्रसिद्ध नगरी सिम्रौनगढ र गढीमाईको जिल्ला बाराको सदरमुकाम कलैयासंग टासिएको गाउँ बेलहिया हो । बेलहिया तरकारी, धान, गहु, मकै उत्पादन हुने प्रमुख क्षेत्र मध्येको एक हो । यहाँ उत्पादित तरकारी यहीको स्थानीय कृषी बजारबाट खरिदबिक्री हुने गर्छ ।

सधै तरकारी किन्ने र बेच्नेको भिड हुने बेलहिया, कृषी बजारमा शनिबार साँझ पुग्दा सुनशान जस्तै देखिन्थ्यो । सुनशान देखिने बजारमा बुढापाका उमेरका मान्छे एक आपसमा बर्तमान राजनीतिको बारेमा कुराकानी गर्दै थिए । उनीहरुमध्ये एक जनाले भन्दै गरेको शब्द यस्तो थियो–‘के गर्ने अवस्था गम्भिर छ, काठमाडौंले मधेशलाई र दिल्लीले काठमाडौंलाई पहिलै देखि हेप्दै आएको छ, एकले अर्कालाई आफ्नो स्वार्थअनुसार प्रयोग गर्न रुचाउँछन्, बेलैमा सचिएनन् भने ठुल्लो दुर्घटना हुन सक्छ ।’

हजुरबुवा उमेरका ति बृद्धको कुरा सुनेर जसको मन पनि रुन्छ । एक छिन मेरो आँखा पनि रसायो । वास्तबमा बिगतले यही कुरा पुष्टी गर्छ । इतिहासले पनि यस्तै देखाउँछ । काठमाडौबाट शासन व्यवस्था सञ्चालन गर्ने राज्यका स्थायी शेयरहोल्डरहरुको नजरिया ठिक छैन् । मधेशलाई हेर्ने उनीहरुको दृष्टीकोण नै गलत रहेको पुष्टी हुन्छ । मधेशमा बसोबास गर्ने मधेशी मुलका नेपाली नागरिकलाई काठमाडौंले कहिलै नेपाली ठानेन् ।

Shubhas Prasad Sah
सुभाषप्रसाद साह

मधेश र मधेशीलाई करदाता र मतदाता मात्रै ठान्ने काठमाडौंले मधेशको समस्या सम्बोधन गर्ने प्रयास कहिलै गरेन । त्यसको पछिल्लो उदाहरण– ‘४५ दिनदेखीको अनिश्चितकालिन मधेश बन्द’ बनेको छ । लगातारको बन्दले यहाँको शिक्षण संस्था, उधोगधन्दा, बजार, यातायात लगायत ठप्प रहेको छ । मधेशका शहर कुरुक्षेत्र बनेको छ । मधेशका सर्बसधारण मधेशी÷पहाडी जनताको जनजिवन कष्टकर बनेको छ । दैनिक उपभोग्य हुने समान पाउँन गह्ररो भएको छ । समस्या नै समस्याले गुज्रिरहेको मधेशको दैनिकी काठमाडौंले सम्बोधन गर्न नचाहेको जनगुनासो बढेको छ ।

मधेशका जनताले भन्छन् हामीले महाभूकम्पमा पीडित भएका पहाडका पीडित पहाडी नेपालीहरुको लागि छाक टारेर घर घरबाट संकलन गरिएको राहतका सामाग्री पठायौ तर त्यो कुरा काठमांडौले समेत सम्झेन् । लगातारको बन्दले कष्टकर जिवन बिताउँन बाध्य भएका मधेशीलाई काठमाडौले दुख दियो । शान्ति कायम गर्ने नाममा काठमाडौंले मधेशमा निषेधाज्ञा, कफ्र्यु घोषणा गरेर ‘मुर्दा शान्ति’ कायम गर्ने काम गर्यो । सेनासमेत परिचालन गरी बन्दुकै भरमा शासन गर्ने कामबाट समेत काठमाडौं अछुतो रहेन् ।

आफ्ना माग नयाँ संबिधानमा राख भनेर मधेशीले आवाज उठाउँदा तिनीहरुको आवाज दवाउँने प्रयास काठमाडौंले निरन्तर गर्यो । आन्दोलनमा सामेल भएका मधेशी आन्दोलनकारीलाई छाती, टाउँको, मुख लगायतका संबेदनशिल अंगमा ताकिताकि गोली ठोक्ने काम काठमाडौंकै आदेशमा भयो । यहाँ सम्म कि राजनीतिकको ‘रा’ संग समेत नाता नरहेका आन्दोलनमा सहभागि नभएका सर्बसधारण मधेशी जनतालाई समेत छोडिएन् । घर घरमा पसेर सर्बसधारणका साथै निमुखा बालबालिकालाई कुटपिट गर्ने, डरत्रास देखाउँने, गोलि ठोक्ने लगायतका कृयाकलाप काठमाडौंकै निर्देशनमा भएकै छ ।

काठमाडौंमा आन्दोलन गर्ने आन्दोलनकारीलाई नियन्त्रणमा लिनको लागि काठमाडौंले पानीको फोहरा र आश्रुग्या प्रहार गर्छ तर मधेशका मधेशीले आन्दोलन गर्दा ताकिताकी गोलि प्रहार किन हुन्छ । आम मधेशीले चौकचौकमा यस्तै प्रश्न गर्छन् । पहाडी नेताहरुले आफुजस्तै अनुहार भएका सुर्खेत, कर्णालीबासीहरुको माग दुई तीन दिनकै समान्य आन्दोलनमा पुरा गर्छन तर आफु जस्तो अनुहार नभएका मधेशी नेपालीले महिनौ आन्दोलन गर्दा सुन्ने प्रयास समेत गर्दैनन् । आफै जातीय राजनीति गर्ने पहाडी नेताहरुले अरुलाई समेत जातीय राजनीति गर्छ भन्ने आरोप लगाउँदै हल्ला फिजाउँने काम गरेकै छन् ।

युग परिवर्तन भयो । बिश्वका शक्तिशालि मानिएका राज्य जनताको बिकाशको लागि रातदिन एक गरि काम गरिरहेका छन् । बिश्वमा आर्थिक क्रान्ति गरी राज्य शाक्तिशाली मुलुकको रुपमा बिकाश गर्दैछन् । अल्पबिकशित राज्यले आर्थिक क्रान्तिमा जोड दिइरहेका छन् । तर मधेशमा राजनीतिक अधिकारको लागि भएको आन्दोलनलाई जसरी पनि दमन गर्नुपर्छ, बन्दुककै भरमा मधेशको आवाज दवाउँनुपर्छ भन्ने सोचाई काठमाडौंको रहेको छ ।

मधेश ठप्प भएर कष्टकर भएको यहाँको जनजिवन समान्य बनाउँन नखोजेको काठमाडौंले केही दिनकै नाकाबन्दीले त्रसित भएको छ । दिल्लीको अघोषित र मधेशको घोषित नीतिअनुरुप अहिले नेपाल भारतको नाकाहरु ठप्प भएको छ । केही दिनदेखी नाका ठप्प भएपछि लामो समयदेखी दुख पाएको मधेशले त दुख पाईरहेकै छ काठमाडौंले समेत दुख पाउँने अवस्था सृजना भएको छ ।

नेपाल एक भुपरिबेष्टीक देश हो । दुई बिशाल छिमेकी देश भारत र चीनको बीचमा रहेको नेपाल आत्मनिर्भर नभएको अल्पबिकशित देश हो । नेपालमा राजनीतिक क्रान्ति सफलता पुर्वक सम्पन्न भएर आर्थिक क्रान्तिको बाटोमा आफ्नो कदम चाल्ने प्रयासमा छ । बिगतदेखी नै नेपालको हरेक मुख्य राजनीतिक परिवर्तनमा दिल्लीको मुख्य भुमिका रहदै आएको कुरा सत्य हो ।

नेपाली राजनीतिक परिवर्तनमा दिल्लीको भुमिका रहदै आएकोमा हालै घोषणा गरिएको संबिधानमा दिल्लीले आफ्नो भुमिका खोज्नु नेपाली राजीतिज्ञको बिगतको कमजोरीकै सृखंला हो । बिगतदेखी नै नेपाली राजीतिकज्ञले दिल्लीलाई बिशेष भुमिका दिदै आएकोमा सार्वभौमसता सम्पन्न नेपाली जनताले चुनेको प्रतिनिधिहरुले संबिधानसभाबाट संबिधान घोषणा गर्दा एस्पेश नपाएको दिल्ली असन्तुष्ट हुनु स्वाभाविक नै छ ।

बिगतको राणा शासन बिरोधी आन्दोलन होस, निर्दलिय व्यवस्थाको बिरोध गर्दै प्रजातन्त्र स्थापना गर्ने, १२ बुन्दे समझदारी होस नेपालको हरेक महत्वप्रर्ण राजनीतिक परिर्वनमा नेपाली राजनीतिज्ञले दिल्लीलाई दिदै आएको भुमिका नपाएपछि दिल्ली त्यति खुशी देखिदैन् । नेपाली राजनीतिज्ञहरुका लागि बिगतको आफ्नो कर्तुत सच्याउँने बेला पनि यही हो । नेपाली राजनीतिज्ञले दिल्लीलाई बिचौलिया राखेर आफ्नो घरायसी झगडा समाधान गर्दैआएको इतिहास बे्रक गर्नुपर्छ । आफ्नो घरायसी झगडा आफै समाधान गर्न नसकेर दिल्लीलाई बिचौलिया बनिदिन बाध्य पार्ने नेपाली राजीतिकज्ञले आफ्नो समस्या आफै समाधान गरे अरुको कामै छैन् ।

दिल्लीले नेपालबाट लिन खोजेको नेपाली पानी र नेपाली जवानी हो । जुन कुरा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमै आएर बोल्दा यहाँका नेताले टेबुल फुटने गरी नै तालि बजाएका थिए । चरम लोडसेडिङ्गको पीडा खेपिरहेको दिल्लीले नेपालको पानीबाट उत्पादन हुने बिजुली लिन खोजेको हो जुन मधेशमा होईन पहाडमा छ । त्यसैले मधेशलाई अलग देश नै बनाउँनुपर्ने चाहना न त दिल्लीको छ न त मधेशीको नै छ । मधेशलाई अलग देश बनाएर दोहोरो अनुदान तिर्न दिल्लीको चाहना छैन् । त्यसैले यस्ता नचाहिने कुरामा समय खेर नफालि हामी आफ्नो समस्या आफै समाधान गर्दै आर्थिक क्रान्तिको बाटोमै हिडनुपर्ने आजको आवश्यक्ता रहेको छ । त्यस्तै भारतको बिहार राज्यमा निर्वाचन नजिक्दै गएकोमा मधेशको झगडा त्यहाँ पनि सर्ने डरले दिल्ली चिन्तित भएको हुनुपर्छ । अर्को कुरा आर्थिक क्रान्तिको बाटोमा रहेको दिल्लीलाई नेपाली जवानी अर्थात उर्जावान शक्तिसहितको मजदुरको आवश्यक्ता छ जुन नेपालबाट पाउँन सक्ने उसको अनुमान रहेको छ ।

मधेशमा आन्दोलनरत राजनीतिक पार्टीले घोषणा गरेर नै नाका ठप्प पारेका हुन् । दिल्लीले उनीहरुलाई सहयोग गर्दै अघोषितरुपमा नाका ठप्प पार्ने काम भएको छ । दिल्लीको अघोषित र नेपालकै राजनीतिक पार्टीको घोषित कार्यक्रम अनुसार नाका ठप्प भएपछि दुख भनेको नेपालकै नागरिकले पाईरहेका छन् । त्यसैले यो नेपालको आन्तरिक झगडा भएकोले नेपाली राजनीतिज्ञले नै समाधान गर्नुपर्छ ।

४५ दिनदेखी मधेशमा अनिश्चितकालिन आन्दोलन जारी रहेको अवस्थामा यसलाई समाधान गर्न काठमाडौं खुल्ला हृदयका साथ अगाडी बढनुपर्छ । मधेशको समस्या काठमाडौंले आफ्नै समस्या ठानेर आफै समाधान गर्नुपर्छ । बेलहिया कृषी बजारका ति हजुरवुवा उमेर जस्तै फेरी अर्को पुस्ताले भन्न नपाओस कि मधेशलाई काठमाडौंले र काठमाडौंलाई दिल्लीले हेप्छ ।

spsah.subhash@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.