हुलाकी न्युज, जनकपुरधाम । अविरल वर्षाले जनकपुर उप–महानगरपालिकाको सहित धनुषा जिल्लानै डुबानमा परेको हो ।
बुधवार रातिदेखिको लगातारको भारी वर्षाका कारण जनकपुरको ऐतिहासिक बाह्रबिघा रंगभूमी मैदान, जनकपुर अञ्चल अस्पताल, उद्योग वाणिज्य संघ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर जलमग्न भएको हो ।
जनकपुर मिथिलाको प्राचीन एवं ऐतिहासिक नगरीका रुपमा परिचित जनकपुरमा खाल्टाखुल्डी सडक, ढलको उचित निकास र फोहर व्यवस्थापनको उचित व्यवस्थापन नभईदिँदा बर्षाको मौसमा जनकपुर उपमहानगरपालिका जलमग्न भई डुबानमा परेको हो ।
साथै हाल एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित एकीकृत सहरी विकास आयोजना काम सुस्तगतिमा भइरहेका कारण नालामा पानीको निकास नहुँदा राष्ट्रिय समाचार समिति, हुलाक, मालापोत, नापी, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषालगायतका सरकारी कार्यालय र आनन्दनगर, बलवा टोल, देवी चोक क्षेत्र डुबानमा परेको छ ।
मुसलधारे वर्षाका कारणले गर्दा सडक जलमग्न बनेको छ । सम्बन्धित निकायले ध्यान नदिएका कारण जनकपुर फोहोरले भरिएको छ । जनकपुरको मुख्य समस्या समाधानका लागि एसियाली विकास बैंक र स्थानीय लगानीमा एकीकृत सहरी विकास आयोजना लागू भएको छ । जनकपुरवासी त्यो योजना लागू भयो भने जनकपुरको अनुहार फेरिने प्रतिक्षामा छन् ।
नगरक्षेत्रभित्र २६ किमी मुख्य सडक, पाँच किमी सहायक सडक, ३० किमी ढल निर्माण र फोहोर व्यवस्थापनका लागि सुविधासम्पन्न ल्याण्डफिल साइट निर्माण गरिनेछ । पाँच वर्ष्भित्र जनकपुरमा रु २० करोडभन्दा बढी रकम खर्चिए पनि कर्मचारी, दलीय संयन्त्र र उपभोक्ता समितिको मिलेमतोमा अनियमितता भएकै कारण यहाँको विकास निर्माण हुन सकेको छैैन ।
वर्षाका कारण जनकपुर उपमहानगरपालिका जलमग्न भई यहाँका घर घरमा पानी पसेको छ । पानीको निकास हुन नसकेकाले मुख्य सडक जलाशयमा परिणत भएको छ । एकीकृत शहरी विकास आयोजनाले नाला निर्माणमा गरेको ढिलाइ र लापर्बाहीले गर्दा पानीको बहाव बन्द भई प्रजिअ, सुरक्षाकर्मी आवास परिसर, राष्ट्रिय समाचार समिति, आन्तरिक राजस्व, हुलाक, परिवार नियोजन, महिला विकास, कोष तथा लेखा नियन्त्रण, जिल्ला प्रहरी कार्यालय, अञ्चल प्रहरी कार्यालय परिसर डुबानमा परेका छन् ।
जनकपुर अञ्चल अस्पतालमा दुई फिटभन्दा अधिक पानी जमेको छ भने रासस र हुलाक कार्यालयका कोठामा पानी पसेर कागजात भिजेका छन । अञ्चल अस्पतालमा पानी जमेका कारण बिरामीले सास्ती भोग्नुपरिरहेको छ । यहाँका नालाका पानीले परिसर दुर्ग्न्धित भएको छ ।
त्यस्तै उपमहानगरपालिका बाहिर जिल्लाको कयौ स्थानमा पुलहरु भत्किएर गाउँबासीहरुलाई आवजात समेत अवरुद्ध भएको छ । यसैबिच जिल्ला प्रहरी कार्यालय धनुषाले दिईएको जानकारी अनुसार जिल्लामा ८५ वटा घरमा क्षति , १२ सय ३२ घर डुबानमा रहेको छ । जसमध्ये जिल्लाको दक्षिणी भेग बाढीले बढी प्रभावित रहेको प्रहरी उपरिक्षक लालमणि आचार्यले बताए ।
खोलाले बगाएर १ को मृत्यु
धनुषामा खोलाले बगाएर एक युवकको मृत्यु भएको छ । गणेशमान चारनाथ नगरपालिका १ फुलबरियाका बस्ने रामअशिष यादवका छोरा २२ बर्षिय राजाराम यादवको चारनाथ खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यादव शनिवार दिउँसो गोठालो गएको र फर्किने बेला चारनाथ खोलामा तर्ने क्रममा बगेको थियो । स्थानियबासिन्दा र प्रहरीले खोजतलास गरेपछि बेलुका ८ बजे करिब २ किलोमटिरको दुरीमा यादवको शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जनाए । यसैबिच बाढीले बागाए्र एक बालिका बेपत्ता भएको छ । धनुषामा नगराईन नगरपालिका ४ घोडघास बस्ने घुरघुर राउतकी १० बर्षिय छोरी दुर्गा राउत बेपत्ता भएको हो । आइतबार दिउँसो घाँस काट्न गएको बेला आएको बाढीले बगाएर बेपत्ता बनाएको स्थानियले बताएका छन् । बालिका स्थानिय दुर्गासँगै बगेका अन्य दुई जना बालिकालाई स्थानिले सकुशल उद्धार गर्न सफल भएका छन् । बेपत्ता बालिकाको खोजी कार्य जारी रहेको जनाईएको हो ।
निजि बिद्यालय ३ दिनको लागि बन्द
अविरल वर्षाका कारण जनकपुर जलमग्न भएपछि यहाँका निजी विद्यालयहरु ३१ सम्मका लागि बन्द गरिएको छ । प्याबस,एन प्याबसन र मधेश प्याबसनको संयुक्त निर्णय अनुसार मंगलबार सम्मका लागि विद्यालयहरु बन्द गरिएको प्याबसन धनुषाका अध्यक्ष विश्वलाल सिंहले बताएका छन ।
घर ढल्यो
वर्षाका कारण जनकपुरमा घर ढल्ने क्रम जारी रहेको छ । चार दिन देखि परिरहेको लगातारको पानीका कारण जानकी मेडीकल कलेज सिटी हस्पीटलको छेउमै रहेको एक घर ढलेको छ । लगातार वर्षाका कारण शुक्रवार राती चार वजे तिर जानकी मेडीकल कलेज सिटी हस्पीटलको छेउमा चिया पसल संचालन गर्दै आएका विभा शर्माको घर ढलेको छ । रातीको समयमा घर ढलेपनि समयमै घरबाट बाहिर निस्केकोले कुनै पनि मानवीय क्षति हुन पाएनन । घरधनी विभा शर्माका अनुसार करिव चार वजे तिर घर अचानक हल्लेको र डर लागेर बाहिर निस्कना साथ घर ढलेको वताइन । तीन बच्चा ,एक युवती र एक महिला रहेको उक्त घरबाट समयमै निस्केपछि सबै जना बाँच्न सफल भएको उनले वताइन । मानवीय क्षति नभएपनि घरमारहेको टिभी ,दराज,खानेकुरा सामान,नगद सहित सबै सामान त्यसै भित्र च्यापिएको उनले वताइन ।यसभन्दा पहिले पनि जानकी मन्दिरको वगलमा रहेको मुश्लिम वस्तीमा दुइवटा घर ढलेको थियो ।
खानेपानी मन्त्रीको गृह जिल्लामै सम्बन्धित कार्यालय डुबानमा
उपमहानगरपाकिलाको रामानन्द चोकमा रहेको नगरमा शुद्ध पानी बाडने अभिभारा लिएका खानेपानी संस्थान आफै पानी नै पानीमा डुवेको छ ।चार दिन देखि लगातार परिरहेको अविरल वर्षाका कारण खानेपानी संस्थान जनकपुर पुर्ण रुपमा डुवानमा परेको छ । उक्त कार्यालयको पानी निस्कने कुनै पनि निकास नहुदा कार्यालय पुर्ण रुपमा डुवानमा परेको छ । कार्यालयमा करिव पाच फिट जती पानी जमेको छ । पानीको चाप यति रहेको छ कि कार्यालयको झयाल बाट पनि पानी पसिरहेको देखिएको छ ।खानेपानी मन्त्रि महेन्द्र यादवको गृह जिल्लाको सम्वन्धित कार्यालयको यस्तो अवस्था देख्दा स्थानियवासीहरु आश्चर्यमा परेको छ । पानीको कारण कार्यालयको सबै डेस्क टेवुलहरु डुविसकेको छ भने कार्यालयमा पस्ने कुनै अवस्था देखिएको छैन । प्रत्येक वर्षाको समयमा खानेपानी संस्थान डुवानमा परेपनि कार्यालयको अवस्था सुधार गर्नका लागि कुनै पहल गरेको देखिएको छैन । आफनै कार्यकक्षमा पानी पस्नबाट रोक्न नसकेका खानेपानी कार्यालयले उपभोक्तालाई कसरी सुद्ध पानी बाडला पनि आशंका पनि बढेर गएको छ ।






