हुलाकी न्यूज, भैरहवा, ११ असोज । मधेशी मोर्चाले भारतसँग सीमा जोडिएका सबै नाका बन्द गरे पनि पश्चिमको भैरहवाको मुख्य नाकाबाट भने तेल सहितका सामान आउँदै छन् । पश्चिमी बेलहिया नाकाबाट तेल सहितका मालवाहक गाडी नेपाल आउने क्रम जारी नै रहेको छ ।

पूर्वी सीमा नाकामा हजारौं प्रदर्शनकारी उतारेर नाका बन्द गर्न सफल मधेशी मोर्चाको रणनीति पश्चिममा भने विफल हुँदै गएको देखिएको छ ।

पश्चिमको सबैभन्दा ठूलो र मुख्य नाका बेलहियाबाट सोमबार मात्र साँझ ५ बजेसम्ममा ४५ वटा मालवाहक गाडी नेपाल भित्रिएका छन् । त्यसमध्ये तेलको एउटा र ग्याँस बोकेको तीन वटा गाडी रहेका छन् ।

बिहिबारबाट नाकाबन्दी गर्ने निर्णय लिएको मधेशी मोर्चाले बिहिबार बिहानैबाट भारतसँग सीमा जोडिएका सबै नाकामा कार्यकर्ता खटायो । लोकतान्त्रिक मोर्चाआबद्ध चार दलभन्दा बाहिरका संघीय लोकतान्त्रिक मोर्चा र संघीय मधेशी मोर्चाका शिर्षस्थ नेताहरु पनि मधेशी मोर्चाको निर्णयमा सहमति जनाउँदै बिहिबार बिहानै देखि नाकामा धर्नामा बसे ।

यता, पश्चिममा भने मधेशी मोर्चाले आफ्ना नेता कार्यकर्ता खटाउन नसक्दा मोर्चाको नाकाबन्दी विफल भयो ।

स्थानीय एक पत्रकारले जनाए अनुसार बुधबार मात्र बेलहिया नाकाबाट ४० वटा, बिहिबार १५ वटा र शुक्रबार १२ वटा गाडी नेपाल भित्रिएका थिए । शनिबार र आईतबार भने बेलहिया नाकाबाट एउटा पनि गाडी नेपाल प्रवेश गरेको छैन ।

मधेशी मोर्चाको बैठकले पश्चिमको बेलहिया नाका ठप्प पार्ने जिम्मेवारी तमलोपालाई दिएको थियो । रुपन्देही लगायतका पश्चिमी जिल्लाहरुमा तमलोपाका ठूला र प्रभावकारी नेताहरुको पहुँच र शक्ति हेर्दै पश्चिमको जिम्मेवारी तमलोपालाई दिइएको थियो । तर, तमलोपाका नेताहरु नै पछाडि हट्न थालेपछि मोर्चाको घोषित नाकाबन्दी पश्चिममा चल्न नसकेको हो ।

रुपन्देहीको सात वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ६ र ७ मधेशी बाहुल्यता भएको क्षेत्र हो । विशेषगरी मर्चवार र लुम्बिनीमा मधेशी बाहुल्यता छ । तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्ला क्षेत्र नम्बर ६ बाट र तमलोपाकै कमलेश्वर पुरी गोस्वामी क्षेत्र नम्बर ७ बाट प्रत्यक्ष निर्वाचित छन् ।

पश्चिमी नाकाबाट सामान भित्रिँदै गर्दा त्यहाँका स्थानीय मधेशी जनता, मोर्चाका कार्यकर्ता तथा प्रदर्शनकारी आक्रोशित हुन थालेका छन् । नाकाबन्दी सुरु भएदेखि एकजना पनि ठूला नेता बेलहियाको दशगजा क्षेत्रमा नआएको तमलोपाका एक कार्यकर्ताले बताए । उनले अहिलेसम्मको प्रदर्शन जिल्ला अध्यक्ष तथा संयोजकहरुकै नेतृत्वमा भइरहेको बताए ।

अर्का एक कार्यकर्ताले तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्लाप्रति रिस पोख्दै उनकै कारण नाकाबन्दी सफल हुन नसकेको आरोप लगाए । ती कार्यकर्ताले लगभग ४५ दिनको आन्दोलनमा शुक्ला मुस्किलले ४–५ दिन मात्र देखिएको बताए ।
उनले नाकाबन्दी गर्न एक दिन पनि शुक्ला नआएको जनाए । उनले अर्का सांसद गोस्वामी पनि शुक्लाकै कारण आन्दोलनमा सहभागी नभएको जिकिर गरे । ती कार्यकर्ताले भारतीय पक्ष र प्रहरीकै समर्थन रहँदा पनि नाकाबन्दी गर्न नसक्नु रुपन्देहीका शिर्षस्थ नेताहरुको कमजोरी रहेको स्विकारे ।

स्थानीय एक पत्रकारले सीमा पारीका पत्रकारहरु पनि मधेशी नेताको क्रियाकलाप देखेर जिल्ल परेको जिकिर गरे । ती पत्रकारले भारतीय पत्रकारहरु नाकाबन्दीको समाचारका लागि आउने गरेपनि मधेशी नेताहरु पछि हटिदिँदा निराश भएको बताए ।

तमलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठी आफै पनि नवलपरासीकै हुन् । हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ला, वृजेश गुप्ताजस्ता तमलोपाका प्रभावशाली नेताहरु पश्चिमकै भएपनि तमलोपा पूर्ण रुपले नाकाबन्दी गराउन असफल भइसकेको छ । नाकाबन्दी स्थलमा अहिलेसम्म तमलोपाका एकजना पनि केन्द्रीय नेता पुगेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.