हुलाकी न्यूज, जनकपुरधाम ११ आश्विन । एमाओवादीबाट राजीनामा दिएका डा.बाबुराम भट्टराई भोली जनकपुर आउन लागेको एमाओवादी निकट मधेशी राष्ट्रिय मुक्ति मोर्चा (क्रान्तिकारी)ले जनाएको छ । तर बाबुरामलाई एयरपोर्टबाटै फिर्ता पठाउन तयारी भइरहेको मधेश अधिकार संघर्ष समिति (मास)का संयोजक सरोज मिश्राले बताएका छन् ।

मुक्ति मोर्चाका महासचिव रामरिझन यादवका अनुसार पार्टीबाट राजीनामा गरेपछि डा.बाबुराम भट्टराई पहिलो पटक भोली ११ बजे जनकपुर आउँदै छन् । स्वतन्त्र व्यक्तिको रुपमा डा.भट्टराई मधेशी आन्दोलनलाई बुझ्न र सम्वोधन गर्न जनकपुर आउन लागेको यादवले हुलाकी न्यूजलाई बताए ।

यता मासका संयोजक मिश्राले हुलाकी न्यूजसँग भने, ‘बाबुरामलाई हामी जनकपुर शहरमा खुट्टा टेक्न दिने छैनौं । उनी मधेश आन्दोलनमा घुसपैठ गर्न आउन लागेका हुन् । हिजोसम्म बाबुराम संविधान बनाउनमा लागेका थिए र आज मधेशमा नाटक देखाउन आउँदैछन् । उनलाई एयरपोर्टबाटै फिर्ता पठाउने तयारी संयुक्त मधेशी युवा मोर्चा तथा जनकपुरधामका संघसंस्थाले गरेको छ ।’

मिश्राले उनलाई एयरपोर्टबाट जबरजस्ती जनकपुरमा पसाउन खोजे कडा प्रतिकार हुने चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.