हुलाकी न्यूज, बीरगंज ११ आश्विन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका घटक तथा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आदिवासी–जनजातिलाई आन्दोलनमा होमिन अपील गरेका छन् । महतोले पहाडी र हिमाली क्षेत्रमा पनि आन्दोलन चर्काउन आग्रह गरेका छन् ।
हुलाकी न्यूजसँग कुराकानी गर्दै अध्यक्ष महतोले भने,‘आदिवासी–जनजातिले चीनीयाँ बोर्डरमा गर्न लागेको नाकाबन्दी स्वागतयोग्य छ । उहाँहरुले तत्कालै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेर आन्दोलनमा उत्रिनु आवश्यक छ । अहिले हामी मधेश–थरुहट तताएका छौं, उहाँहरुले पहाड–हिमाल तताउनु भयो भने यो अंहकारबादी शासकहरु तुरुन्त घुँडा टेक्नेछ ।’
मोर्चाको निर्णयअनुसार बीरगंज नाकामा धर्ना बसेका महतोले आदिवासी जनजातिहरुसँग सहकार्य गर्ने प्रक्रिया पनि अघि बढीरहेको बताए । उनले राज्य सत्ताले अहिले पनि नसुने आन्दोलन अझै सशक्त हुँदै जाने बताए ।
महतोले हुलाकी न्यूजसँग भने, ‘काठमाडौंमा सर्वसाधारणले खेप्नु परेको समस्याको जिम्मेबार सरकार र तीन दल नै हो । तीन दलको मनसाय ठिक भए, मधेशी–थारु–आदिवासी–जनजाति–मुस्लिम–दलितले अधिकार पाए काठमाडौंको जनताले दुःख पाउने छैन । त्यसकारण म पुनः अहंकारवादी तीन दलका नेताहरुलाई दिमाग ठिक गर्न आग्रह गर्दछु ।’
यता बीरगंजका पत्रकारहरुले उक्त नाकामा एक्यवद्धता जनाएका छन् ।




