
हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रधानमन्त्री शेरबहादुर देउवासहितसँगको छलफलमा संविधान संशोधन विधेयक निणर्याथ पेस गर्ने सहमति भएको जनाएको छ । शुक्रबार विहान भएको छलफलमा संसदमा विचाराधिन रहेको संशोधन विधेयक निणर्याथ पेस गर्ने सहमति भएको नेता महेन्द्र राय यादवले बताए ।
हुलाकी न्यूजसँग कुराकानी गर्दै राजपा नेता यादवले भने,‘संविधान संशोधन विधेयक निणर्याथ पेस गर्ने विषयमा छलफल भएको छ । उहाँहरु तत्कालै सदनमा लगेर पास गराउने विश्वास दिलाउनु भएको छ । तर हामीले निर्वाचनमा सहभागी भइहाल्ने कुनै सहमति गरेका छैनौं । संशोधन विधेयकको परिणाम पछि हामीले निर्वाचनमा जाने कि नजाने भन्ने निर्णय गर्छौं ।’
यता माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजपा निर्वाचनमा सहभागी जनाउने सहमति गरेको दाबी गरेका छन् । श्रेष्ठले संशोधन विधेयक निर्णयका लागि पेस गर्ने र राजपा निर्वाचनमा जाने सहमति भएको जनाएको छ ।
राजपा नेता शरत्सिंह भण्डारीले निर्वाचनमा सहभागी हुने सहमति नभएको दाबी गरेका छन् । भण्डारीले संशोधन विधेयक पारित भए वा फेल भएपछि मात्र निर्णय लिन सकिने बताएका छन् ।
यता राजपा नेताहरुबीच संविधान संशोधन विधेयक, मुद्दा फिर्ता लगायतको विषयमा थप छलफल भइरहेको छ । नेता यादवका अनुसार संविधान संशोधन विधेयक मात्र होइन मुद्दा फिर्ताको काम पनि सम्पन्न नभएकोले निर्वाचनमा गइहाल्ने अवस्था छैन ।
तस्बीर प्रम देउवाको ट्वीटरबाट



