राजविराज९सप्तरी०, । लगातार दुई दिनको वर्षाले मोहुली नदीमा आएको भीषण बाढीले जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय लहानद्वारा नदीमा निर्माण गरिएको बाँध क्षतिग्रस्त भएको छ ।
कार्यालयका अनुसार तिरुहत गाउँपालिकाअन्तर्गत मैनाकडेरी, भेडिया, त्रिकोल, गोइठी र हनुमानगर कंकालनी नगरपालिकाको पोताहालगायत ग्रामीण क्षेत्रलाई बाढीबाट सुरक्षा गर्न मोहुलीमा निर्मित बाँधमा करिब दुई किमीसम्म क्षति पुगेको बताइएको छ ।
बाँध क्षतिग्रस्त विभिन्न स्थानमा इन्जिनीयरसहित प्राविधिक एक टोली आज बिहानदेखि खटाइएको कार्यालयका प्रमुख रामनरेश मण्डलले जानकारी दिए । क्षतिग्रस्त स्थानमा बोरामा बालुवा, बाँसको पाइलिङ, चचरी९बाँसको जाली० र घाँसको मुठा राखेर बाढीबाट स्थानीय बासिन्दालाई सुरक्षति पार्ने प्रयास भइरहेको मण्डलले राससलाई जानकारी दिए ।
बाढीबाट कुनै किसिमको जनधनको क्षति नभएको र आउँदो समयमा पनि कुनै दुर्घटना हुन नदिन विशेष सर्तकता अपनाउने कार्य भइरहेको बताइएको छ । प्रकोप नियन्त्रण कार्यालयका इन्जिनीयर अरुण झाको नेत्तृवमा गएको टोलीले बाँधको क्षतिको निरीक्षण एवं सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाइरहेको बताइएको छ ।
करिब दुई महिना अगाडि मोहुली र खाँडो नदीमा आएको भीषण बाढीले दुवै नदीको बाँध भत्काउनाका साथै करिब एक हजार ५०० घर डुबानमा पारेको थियो । सो घटनामा सशस्त्र प्रहरीको मृत्युसमेत भएको थियो ।
यसैगरी खाँडो नदीमा आएको बाढीले खाँडोको सुरक्षाका लागि बनाइएको बाँधका दुई स्थानमा क्षति पु¥याई कटान गरेको छ । राजविराज १० स्थित बिरौल भन्ने ठाउँ र राजविराज १५ स्थित देउरी भरुवामा कटान भएको खाडो नदी नियन्त्रण आयोजनाका प्रमुख मोहम्मद सिद्धिकीले बताए ।
गत वर्ष स्थापित सो आयोजनाले रु १४ करोडको लागतमा सोही नदीको बालुवा र माटाबाट बाँध निर्माण गरेको थियो । आज खाँडोमा आएको बाढीबाट देउरी भरुवाका ६० वर्षीय डोमा यादव बेपत्ता भएको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार मोहुली र खाँडोमा आएको बाढीबाट क्षति हुन नदिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सम्बन्धित प्राविधिकको टोली खटाइएको छ ।
यसैबीच कोशी ब्यारेजमा रहेको जलमापन केन्द्रमा रहेको मापकअनुसार आजको बाढीले दुई लाख ४० हजार ८९० क्युसेक प्रतिसेकेण्ड वहाव मापन भएको छ । अपराह्नतिर सप्तकोशीमा आएको बाढीको मापनअनुसार कोशी ब्यारेजमा पानी निकासका लागि बनाइएका ५६ ढोकामध्ये ३० ढोका खोलिएको बताइएको छ ।
बाढीपीडितलाई क्षतिपूर्ति दिन निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीमा आएको बाढीबाट भएको धनजन क्षतिबाट पीडित भएकाहरुलाई तत्काल क्षतिपूर्ति दिन निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले आज सप्तरीको स्थानीय प्रशासनलाई बाढीबाट थप धनजनको क्षति हुन नदिन र समयमै व्यवस्थापन गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सप्तरीमा आएको बाढीका कारण राजविराज नगरपालिका–१५ मा केही घर डुबानमा परेका छन् ।
प्रधानमन्त्रीले तराईका उच्च जोखिम भएका क्षेत्रमा सम्भावित बाढीको पूर्वव्यवस्थापन गरेर जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न पनि निर्देशन दिएका छन् । रासस



