महेन्द्रनगर ९धनुषा०, । जनकपुर उपमहानगरपालिकाका कर्मचारीले कार्यालयको कामकाज ठप्प पारी आजदेखि आन्दोलनमा उत्रेका छन् ।

साउन १७ गते जनकपुर नगर क्षेत्रमा एडिबीको ऋण सहयोगमा सञ्चालित एकीकृत विकास आयोजनाको स्थलगत अनुगमनका लागि सम्बन्धित कार्यालयका प्रमुखसहित शहरी विकासमन्त्री प्रभु साह स्थानीय विद्यापति चोक पुगेको बेला कार्यकारी अधिकृत अर्जुनप्रसाद सुवेदीलाई स्थानीय केही व्यक्तिहरुले कुटपिट गरेको घटनाको विरोधमा कर्मचारी आन्दोलित भएका हुन् ।

मन्त्री साहले सडक आयोजनाको काममा भइआएको ढिलासुस्ती हटाउन सम्बन्धित कार्यालय प्रमुखहरुलाई बोलाएर निर्देशन दिइरहनुभएका बेला जनकपुर उपमनपाका कार्यकारी प्रमुख सुवेदी आफ्नो गाडीमा मोबाइल चलाएर बसिरहेका थिए।

उपमहानगरपालिकाकै समन्वयमा सञ्चालित आयोजनाका सबैभन्दा बढी जिम्मेवार कार्यकारी अधिकृत मन्त्रीका अगाडि नबसेर गाडीमा बसेको देखेपछि केही स्थानीयवासी युवाले उनलाई बाहिर निस्केर मन्त्री साहको कुरा सुन्न आग्रह गरेका थिए तर, प्रमुख सुवेदीले आफू मन्त्रीको कुरा सुन्न नजाने भनेर जवाफ फर्काएपछि ती युवा आक्रोशित भएको र उनलाई गाडीबाट तान्दै कुटपिट गरेका थिए ।

मन्त्रीकै साम्मुने नै कार्यालय प्रमुख सुवेदीमाथि हातपात गरेको घटनाको एक साता बितिसक्दा पनि पटक–पटक लिखित तथा मौखिक रुमा स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराउँदासमेत दोषीलाई पक्राउ गरी कारबाही नगरेकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको कर्मचारी युनियनका अध्यक्ष कृष्णकुमार झाले बताए। उहाँले दोषीमाथि कारबाही नभएसम्म कडा संघर्षमा उत्रिने चेतावनी पनि दिए ।

कार्यकारी अधिकृतलाई हातपात गर्नेलाई कारबाहीको माग गर्दै कर्मचारीहरुले उपमहानगरपालिका कार्यालय बन्द गरेपछि सेवाग्राहीलाई समस्या परेको छ । यता, उपमहानगरपालिकाका कर्मचारी आन्दोलित भएपछि स्थानीय प्रशासनले हातपात गर्नेमध्ये एक सतिस झामाथि सार्वजनिक अपराध मुद्दा दर्ता गरेको छ । झालाई प्रहरीले नियन्त्रणमा लिन खोजे पनि उनी आफ्नो घरमा नभेटिएको प्रहरी उपरीक्षक लालमणि आचार्यले बताए ।

यता झालाई बिनाकारण झुठो मुद्दामा फसाउन खोजिएको र उनले कार्यकारी अधिकृत सुवेदीलाई मन्त्रीको निर्देशन सुन्न आग्रहमात्र गर्दा सुवेदीले हातपातको आरोप लगाएको भन्दै मुरली चोकका बासिन्दाले बिहीबारदेखि सो क्षेत्रमा सडक जाम गर्दै टायर बालेर प्रदर्शन गरिरहेका छन् । सो क्षेत्रका बासिन्दाले तीन सूत्रीय माग राख्दै सडक अवरुद्ध गरेका छन् ।

स्थानीय सतिस झा विरुद्धको सार्वजनिक अपराध मुद्दा फिर्ता हुनुपर्ने, कार्यकारी अधिकृतको सरुवा र सडक मर्मतको माग गर्दै स्थानीयवासीले प्रदर्शन शुरु गरेका हुन् । सडक निर्माणको नाममा मुख्य बाटोमा खानेपानी संस्थानद्वारा खाल्डो खनेर करिब दुईसातादेखि अलपत्र छाडिएको र यस विषयमा गुनासो गर्दा सरोकारवाला कार्यालयका प्रमुखले एकअर्कामाथि दोषारोपण मात्र गरेकाले स्थानीयवासीले आक्रोश पोख्दा तिनलाई हातपातको आरोप लगाउने काम निन्दनीय रहेको स्थानीयवासी नन्दकुमार झाले बताए।

यसैबीच गएराति परेको मुसलाधारे पानीका कारण जनकपुरधामका विभिन्न चोक–चौराहा जलमग्न भएको छ ।

सामान्य झरी परेसँगै जनकपुरधामको भानुचोक, वकिल टोल, शिव चोक, जनक चोक, विश्वकर्मा चोक, हटिया बजारलगायतका चोकमा पानी जमेर पोखरी नै बनेको छ । त्यस्तै नालाको उचित व्यवस्थापनको अभावमा जनकपुर–८ दशरथ नगर, विद्यापति चोक, विश्वकर्मा चोक, किशोरी नगर, वकिल टोल, कटैया चौरी, जिरोमाइल एरियालगायतका टोलमा घर–घरमा पानी पसेको छ ।

जनकपुरधाममा खुल्ला नाला तथा नालाको सफाइ नहुनाले नाला बन्द भई फोहर पानी घर–घरमा पसेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.