हुलाकी न्युज, सप्तरी । सप्तरी जिल्लाको राजविराज–६ निवासी ३० वर्षीय युवा जितेन्द्र नारायण देवको हत्या भएको तीन महिना भइसक्दा पनि ठोसरुपमा अनुसन्धान अगाडि नबढेको भन्दै विभिन्न २५ वटा अधिकारवादी संघसंगठनहरुले हत्याको सिआइबी छानबिन हुनुपर्ने माग गरेका छन् ।
शनिबार मधेश मिडिया हाउसमा पीडित परिवारले मानव अधिकारवादी, संञ्चारकर्मी, राजनीतिक पार्टीका भ्रातृ संगठनहरुलाई जम्मा गरी हत्याको न्यायिक छानबिनका लागि आग्रह गरेको थियो ।
कार्यक्रममा उपस्थिति संचारकर्मी, मानव अधिकारवादी, पार्टीका प्रतिनिधिहरुले घटनाको तीन महिना हुन लाग्दा पनि ठोसरुपमा अनुसन्धान प्रक्रिया अगाडि नबढ्नु र सत्यतथ्य बाहिर नआउनुले गम्भीर ध्यानाकर्षण भएको संयुक्त प्रेस विज्ञप्तिमार्फत् जनाएका छन् । कार्यक्रममा घटनाको तत्काल निष्पक्ष उच्चस्तरीय सिआइबी छानबिन हुनुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति र सुरक्षाको ग्यारेन्टीको माग गरिएको छ ।
अशोज ३० गते शनिबारका दिन जितेन्द्र नारायण देवलाई आफ्नो गृहनगर राजविराजबाटै बेपत्ता पारी निर्ममतापूर्वक चरम यातना दिई पास्विक तरिकाले हत्या गरिएको अवस्थामा कार्तिक ३ गते बिरहीविरपुर–८ स्थित कोशी नहरमा शव फेला परेको थियो ।



