वृजराज कुशवाहा, नवलपरासी ११ भदौ । संयुक्त लोकतान्त्रिक थरुहट मधेशी मोर्चा नवलपरासीले जिल्लाको मुख्य महेशपुर नााकामा आइतबारदेखि नाकाबन्दी गरेका छन् । मोर्चाले कुनै पनि सामान नेपाल भित्रयाउँदै गरेको पाइएमा गाडीसहित जलाउने चेतावनी दिएको छ । चेतावनी पश्चात महशेपुर नाकाबाट कुनै पनि सामान नेपाल भित्रिन पाएको छैन ।
नाकाबन्दी गर्दै मधेशी र थारुका नेताहरुले नवलपरासी जिल्लाका सबै नाकाहरु आइतबारदेखि अनिश्चितकालीन बन्द गरिएको जानकारी गराएका थिए । बन्द भएदेखि महेशपुर नाकाबाट कुनै पनि खाद्यपदार्थ नेपाल आउन दिईएको छैन । नाकाबन्दी पछि भारतीय बजार ठुठीबारी पूर्णरुपमा ठप्प भएको छ । कुनै प्रकारको किनमेल नभएपछि भारतीय व्यापारीहरु व्यावसायमा ठूलो असर परेको प्रतिक्रिया दिएका थिए ।
सबै माल सामान नवलपरासी भित्रिने र दैनिक करोडौंको व्यापार हुने भारतीय बजार ठुठीबारीमा नेपालबाट कुनै खरिदार नआएका कारण सामान बिक्री नभएको व्यापार मण्डल ठुठीबारीले जनाएको छ । नाकामा विहानैदेखि आन्दोलनकारीहरुको बाक्लो उपस्थिती रहेका कारण किनमेलका लागि भारतीय बजार जान चाहनेहरु सीमाबाट फर्किएका थिए ।
नवलपरासीका बजारमा खाद्य वस्तुको अभाव हुन थालेको छ । बन्दका कारण विगत ४८ दिनदेखि ठप्प रहेको नवलपरासीका बजारमा ग्यास, पेट्रोल, डिजेललगायतका वस्तुको अभाव भएको छ । अभावका कारण छिमेकी भारतीय बजारबाट हुने गरेको किनमेलसमेत गर्न नदिएपछि नवलपरासीको जनजीवन कष्टकर बनेको छ ।
नेपाल भारत सीमास्थित नवलपरासीको महेशपुरमा आयोजित विरोध सभामा बोल्दै मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य एवम पुर्वरक्षाराज्यमन्त्री रामबचन यादवले हालै ल्याईएको नेपालको संविधान २०७२ मा मधेशका नागरिक खाइपाइ आएको अधिकारबाट पनि वञ्चित गराएकाले आन्दोलन गर्नुपरेको बताएका थिए ।




