तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनल र बारा जिल्ला अध्यक्ष नवलकिशोर सिंह अदालतको आदेशले आइतबार जेल चलान भएका छन् । सार्वजनिक अपराध मुद्दामा जिल्ला प्रशासन कार्यालय बाराले तोकेको धरौटी नबुझाएपछि जेल चलान गरिएको हो ।

सार्वजनिक सवारीसाधनमा आगजनी गरेको आरोपमा पक्राउ परेका सोनल र सिंहविरुद्ध प्रहरीले सार्वजनिक अपराध मुद्दा दर्ता गरेको थियो । जिल्ला प्रशासन कार्यालय बाराले उनीहरूसँग जनही एक लाख ४९ हजार तीन सय ७५ रुपैयाँ धरौटी राख्न आदेश गरेको थियो । आफूहरूले शान्तिपूर्ण आन्दोलन गरे पनि प्रहरीले तोडफोड र आगजनीको झुटो मुद्दा दर्ता गरेको भन्दै उनीहरूले धरौटी तिर्न अस्वीकार गरेका थिए । सोनल र सिंहलाई वीरगन्ज जेल पठाइएको छ ।

बाराको लिपनीमाल–९ चैनपुरमा पार्किङ गरी राखिएको ट्रकमा तोडफोड तथा आगजनी गरेको आरोपमा इलाका प्रहरी कार्यालय सिमराले २९ भदौमा दुवैजनालाई पक्राउ गरेको थियो । जनताको अधिकारका लागि लडाइँ भइरहेकाले धरौटी तिरेर रिहा हुनुभन्दा जेल जानु उपयुक्त भएको तमलोपा महामन्त्री सोनलले बताए । – नयाँ पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.