हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै आज काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका मुख्य मुख्य शहरमा धुमधामका साथ गाईजात्रा पर्व मनाइँदैछ ।

गाईजात्रा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो । भक्तपुरमा गाईजात्राको औपचारिक शुरुवात जनैपूर्णिमाको साँझ नै गरिन्छ । गाईजात्राको पूर्व सन्ध्यामा जनैपूर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पूजा गरी निकालेको घिन्ताङ्घिसी नाचले नगर परिक्रमा गरेसँगै भक्तपुरमा गाईजात्रा शुरु भएको गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए।

भक्तपुरमा गाईजात्रा जनैपूर्णिमाको साँझ शुरु भए पनि सर्वसाधारणले मुख्यरुपमा आजमात्र गाईजात्रा निकालिन्छ । सर्वसाधारणले गाईजात्रा निकाल्नुअघि आजै बिहान सबेरै दरबार स्क्वायरस्थित तलेजु भवानीको गाईजात्रा निकाल्ने परम्परा रहेको छ । सोअनुसार आज बिहान कुखुरा नबास्दै तलेजुको गाईजात्रा निकालिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

भक्तपुरको गाईजात्रालाई मुलुकका अन्य भागमा मनाउने गाईजात्राभन्दा भिन्न र मौलिक शैलीका रुपमा लिइन्छ । यहाँको मुख्य आकर्षण घिन्ताङ्घिसी नाच हो । त्यससँगै मृतात्माको प्रतीकस्वरुप नगर परिक्रमा गरिने तहामचा अर्को आकर्षण हो । तहामचा बाँसबाट बनाइन्छ । हरियो, करिब १५ फिट लामा चारवटा बाँसलाई ठाडो पारेर आयताकारमा बाँधेर त्यसलाई कपडाले बेरेर तहामचा बनाइन्छ ।

तहामचाको शिरमा गाईको चित्र, परालको सिङ राख्ने र त्यसलाई छाता ओढाइन्छ । तहामचालाई बाँसको नोल लगाएर मृतकका आफन्तले काँधमा बोकेर नगर परिक्रमा गराइन्छ । तहामचामा मृतकको तस्बिरसमेत राखिन्छ । त्यसले जात्रा हेर्न आएकाहरुलाई कसको तहामचा निकालेको त्यो स्पष्ट हुने गर्छ । तहामचालाई नगर परिक्रमा गराउनु पूर्व मृतकको घरको मूलढोका अगाडि पुरोहितले किरियापुत्रीद्वारा संकल्प गराई विधि बमोजिम पूजा गर्ने प्रचलन रहेको छ ।

भक्तपुरकै तालाकोस्थित कुमालेहरुले भने मृतात्माको शान्तिका लागि माटोको गाई बनाएर नगर परिक्रमा गराउँछन् । कुमालेहरुको पुख्र्यौली पेशा माटोका भाँडा बनाउनु हो । त्यसैले उनीहरुले आफ्नै मौलिक पुख्यौली पेशाअन्तर्गतको माटोको आकर्षक गाई बनाएर नगर परिक्रमा गराइन्छ ।
गाईसँगै मृतकको स्मृति झल्काउने करुण रस प्रधान गीति लीला, रामायण र श्रीकृष्ण लीलासमेत प्रदर्शन गरिन्छ । साथै, केटाकेटीलाई आकर्षक तवरले महादेव–पार्वती, कृष्ण–राधिकाका रुपमा सिंगारी बाजागाजाका साथ ‘वासा लुइके’ गरेर प्रदर्शन गर्ने प्रचलनसमेत रहेको छ ।

गाईजात्राको दिन विधिवत्रुपमा गाईलाई नगर परिक्रमा गराएमा मृतात्माहरु सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास रहेको छ । गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतात्माले गाईको पुच्छर समातेर वैतरणी नदी पार गरी स्वर्गलोकमा पुग्छ भन्ने जनविश्वास रहेको छ ।

गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो । राजा प्रताप मल्लले गाईजात्रा पर्व चलाएको किंवदन्ती भएपनि नेवार समुदायबाहेकले गाईजात्रा गर्ने प्रचलन रहेको पाइँदैन ।

मल्लकालमा नेपाल मण्डल विशेष गरी काठमाडौँ उपत्यकामा नेवार समुदायको मात्र बसोबास भएको स्थान भएकाले गाईजात्रा नेवार समुदायले मात्र मनाउने पर्वका रुपमा विकास भएको प्रा डा श्रेष्ठ बताउनुहुन्छ । नेवार समुदायमा पनि भक्तपुरको गाईजात्रा भिन्न र विशेषखालको हुनुमा तत्कालीन नेपाल मण्डलको राजधानी भक्तपुर हुनु प्रमुख कारण भएको प्रा डा श्रेष्ठले बताए ।
किंवदन्तीअनुसार राजा प्रताप मल्लको छोराको मृत्युपश्चात् रानी धेरै शोकमा डुबेपछि उनलाई नगरका जनताका घरमा पनि कसै न कसैको मृत्यु भएको हुन्छ भन्ने देखाउन गाई निकाल्ने प्रचलन शुरु भएको मानिन्छ । यतिले पनि रानीको मन शान्त नभएपछि रानीको मनलाई शान्त पार्न हास्य व्यंग्य, ख्यालठट्टासमेत प्रदर्शन गर्न राजाले आदेश दिए बमोजिम गाईजात्राको अवसरमा हास्य व्यंग्यसमेत प्रदर्शन गरिन्छ ।रासस

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.