हुलाकी न्यूज, काठमाडौं १० आश्विन । आइतबार पनि भारतीय सम्पूर्ण नाकाहरु ठप्प रहेको छ । काँकडभिट्टादेखि रुपैडियासम्मका सम्पूर्ण नाका मधेशवादी दलका कार्यकर्ता तथा मधेशी–थारुहरुले बन्द गरेर बसेका छन् ।
शनिबार केही स्थानमा प्रहरीले खुलाउने प्रयास गरे पछि झडप भएको थियो । झडपका क्रममा एक दर्जनभन्दा अधिक घाइते भएका छन् ।
यता संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बाँडफाँड गरेको जिम्मेबारीअनुसार शीर्ष नेताहरु पनि नाकामा बसेका छन् ।
त्यस्तै नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झासहितका नेताहरु पनि नाकामा बसेका छन् ।
काठमाडौंमा पेट्रोलियम पदार्थदेखि खाद्यान्नको पनि अभाव सुरु भएको छ । दैनिक उपभोग्य सामानाहरुको अभाव हुन थालेपछि सर्वसाधारणहरु मर्कामा परेका छन् ।
रौतहटबाट हुलाकी न्यूज सहकर्मी रमेश ठाकुरले दिएको जानकारी अनुसार गौर बैरगनिया सिमानामा मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुको धर्नाका कारण आज चौथो दिन पनि गौर भन्सार नाका ठप्प भएको छ ।
नाकाबन्दी गर्ने संयूक्त लोकतान्त्रीक मधेशी मोर्चाको केन्द्रीय निर्णय अनुसार मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले गौर बैरगनियाको सिमामा रहेको पुलमा धर्नामा बसेर नाका ठप्प पारेका हुन् । मोर्चाका नेताहरु सिमानामा धर्ना बसेर नाराबाजी गरेपछि नेपाल भारत दुबै तर्फबाट सवारी साधनको आवत जावत ठप्प भएको छ ।
गत विहिबारदेखी नै मोर्चाले मधेशको विभिन्न भागमा रहेको नेपाल भारत सिमामा नाकाबन्दी गर्ने निर्णय गरेपनि रौतहटका मोर्चाका कार्यकर्ताहरुले मुस्लीमहरुको पर्वलाई ध्यानमा राखी नाकाबन्दी कार्यक्रमलाई केहि खुकुलो बनाएको मोर्चाका संयोजक तमलोपाका जिल्ला अध्यक्ष बाबुलाल साहले बताए ।
पर्व सकेलगतै आजदेखी मोर्चाका कार्यकर्ताहरुले सिमामा धर्ना दिएर सम्पूर्ण आवत जावत ठप्प पारेका छन् । मोर्चाले गरेका अनिश्चितकालिन मधेश बन्दको आज ४४ औं दिनसम्म आइ पुग्दा रौतहटको जन जिवन निकै कष्टकर बनेको छ । बन्दका कारण पेट्रोलिय पदार्थ ढुवानी हुन नसक्दा रौतहटका सम्पूर्ण पेट्रोल पम्प बन्द भइ सकेका छन् भने खाना पकाउने ग्यास पनि अभाव भएको छ ।
मोर्चाका निर्णय अनुसार गरिएको नाकाबन्दीमा नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झा, सभासद डिम्पल झा, पूर्व सभासद रम्भा देवी, तमलोपाका नेता अनिल सिंह, सदभावनका केन्द्रीय सदस्य योगेन्द्र राय यादव, महिला नेत्री किरण ठाकुर, शोभा साह, गिता कुश्वाहा लगायतका सँयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका नेता कार्यकर्ताले पुल मै बसेर विरोध प्रदर्शन गरीरहेका छन् ।




