
हुलाकी न्यूज, काठमाडौं । राष्ट्रि जनता पार्टी (राजपा) नेपालको पदाधिकारी बैठकले निर्वाचन विथोल्ने निर्णयलाई यथावत राखेको छ । चार दिनसम्म चलेको पदाधिकारी बैठकले यथास्थितिमा निर्वाचन बहिस्कार गर्ने प्रस्तावसहितको राजनीतिक प्रतिवेदन शनिबार राती पारित गरेको छ ।
निर्वाचन बहिस्कार गर्दै निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधिहरुमा अवरोध पुर्याउने पार्टीको पुरानो निर्णयलाई नै पदाधिकारी बैठकले सदर गर्दै अन्तिम निर्णयको जिम्मेबारी केन्द्रीय कार्य समितिलाई दिएको छ ।
बैठकको सुरुमा पार्टी संयोजक महन्थ ठाकुरले पेस गरेको राजनीतिक प्रतिवेदन संशोधनसहित पारित भएको छ । साथै विधान, घोषणा पत्रलगायतका दस्ताबेजहरु पनि पदाधिकारी बैठकबाट पारित भएको हो ।
बैठकको समापनमा बोल्दै संयोजक ठाकुरले निर्वाचनमा सहभागी नहुने प्रष्ट पारेका छन् । ठाकुरले निर्वाचनमा सहभागी हुने वातावरण नबनेको बताउँदै सरकारले झुक्याउन खोजेको आरोप लगाए ।
‘राज्यले कुनै पनि अधिकार दिन खोजेको छैन । सबै मुद्दाहरुलाई डाइलुट गर्न खोजेको छ । अर्थात राज्यले हामीसँग संघर्ष मागेको छ । हामी संघर्षबाट पछि हट्दैनौं । अहिलेको निर्वाचनबाट हामीले केही उपलब्धी हासिल हुने छैन । त्यसकारण हामीसँग संघर्ष मै जानु पर्छ ।’
ठाकुरले निर्वाचनमा सहभागी भएका दुई मधेशी दलहरुको अवस्था पनि ठिक नभएको जिकिर गर्दै मधेशी जनताले अहिले पनि संघर्ष गर्न चाहेको बताए ।
बैठकमा केही पदाधिकारीहरुले संगठन बचाउन निर्वाचनमा सहभागी हुनु पर्ने तर्क गर्दै आएका थिए । निर्वाचनलाई आन्दोलनको रुपमा उपयोग गर्न उनीहरुले सुझाव दिएका थिए । तर ठाकुरले आफुहरु संगठनका लागि नभई अधिकारका लागि संघर्षमा रहेकोले निर्वाचनमा सहभागी हुनु उपयुक्त नहुने बताए । राजतन्त्रका बेला भएको निर्वाचनमा पनि सहभागी भएकाहरु समाप्त भएको बृतान्त ठाकुरले सुनाए ।
यता राजपाको केन्द्रीय समिति बैठक आइतबारबाट सुरु हुँदैछ । बबरमहलस्थित कार्की बैंक्वेटमा विहान साढे आठ बजेबाट केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
बैठकबाट पार्टीको विधान र घोषणा पत्र अनुमोदन हुनेछ । साथै तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुने अथवा नहुने विषयमा अन्तिम टुँगो लाग्ने महासचिव मनिष सुमनले हुलाकी न्यूजलाई बताए ।



