हुलाकी न्युज, रुपन्देही । रुपन्देही जिल्लाबाट यस वर्ष मुस्लिम समुदायका १३५ जना हज गर्नका लागि साउदी अरेबियाको मक्का मदिना जाने भएका छन् ।

हज गर्नका लागि मक्का मदिना जान यस जिल्लाबाट ३१५ जनाले केन्द्रीय हज समितिमा आवेदन गरेका थिए तर कोटा अभावका कारण यो वर्ष १३५ जनाले मात्र हज गर्न मक्का मदिना जान पाउने भएका छन् । तीमध्ये गत वर्ष निवेदन दिएका ८२ जना र यस वर्षका ५३ जना छन् ।

हज यात्राका लागि अरब सरकारले नेपाललाई एक हजार २०० कोटा दिएको छ । त्यसका लागि देशभरबाट एक हजार ९१६ जनाले आवेदन दिएका थिए । जसमध्ये ६१५ जना गत वर्ष छनोटमा नपरेकाले यस वर्ष पहिलो प्रथमिकतामा जाँदैछन्, कोटाभन्दा बढी आवेदन परेकाले केन्द्रीय हज समितिबाट गठित कार्य सम्पादन उपसमितिले जनसङ्ख्या, उमेर, रकम पेश्की भौचर र आवेदन मितिको आधारबाट हजयात्रामा जानेको नाम छनोट गरेको मुस्लिम वेलफेयर सोसाइटी हज व्यवस्थापन उपसमितिका अध्यक्ष अब्दुल रहमान खाँनले बताउनुभयो ।

हज यात्रामा जानेहरुका लागि हवाई भाडा, होटल भाडा तथा अन्य धार्मिक कार्यका लागि केन्द्रीय हज कमिटीले प्रतिव्यक्ति रु एक लाख ९० हजार अनुमानित खर्च लाग्ने आँकलन गर्दै हजका लागि आवेदन दिएका सबैलाई असार ५ गते नै जम्मा गराइसकेको छ । जान नपाएका निवेदकको राहदानी तथा जम्मा गरेका रकम यथाशीघ्र फिर्ता गरिने र आगामी वर्षको हजयात्रामा पहिलो प्राथमिकतामा राखिने केन्द्रीय हज कमिटी सचिवालयले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत जनाएको छ ।

मुस्लिम धर्मका पाँचवटा महत्वपूर्ण धार्मिक कार्यअनुसार इमान (आस्था, विश्वास), नमाज (प्रार्थना), रोजा (व्रत), जकात (दान) मध्ये हज (तीर्थाटन) समेत एक रहेको मुस्लिम अगुवा बताउँछन् ।

इस्लाम धर्मावलम्बीको जीवनमा एकपटक गर्नैपर्ने धार्मिक तीर्थयात्रामध्ये साउदी अरेबियाको मक्का मदिनाको यात्रामा पुगेर गरिने धार्मिक कार्यलाई ‘हज’ भनिन्छ । मुस्लिममा हज गर्नु अत्यन्त उत्तम र पुनित कार्य मानिन्छ । हज गर्नाले स्वर्ग जानेसरह पुण्यफल प्राप्ति गर्ने र अञ्जानमा भएका गल्तीबाट मुक्ति पाउनाका साथै भेदभावको अन्त्य तथा आमाको गर्भबाट भर्खरै जन्मेका शिशु जस्तै निश्छल र पवित्र हुने धार्मिक विश्वास छ ।

मक्कालाई अल्लाहको घर र मोहम्मदको जन्मथालो मानिन्छ । हजयात्रीले ३० दिन मक्का र १० दिन मदिनामा धार्मिक यात्रा गर्नुपर्छ । मक्कामा सातपटक परिक्रमा (तवाफ) गर्नुपर्छ जसले एक हज प्राप्त हुन्छ । हजयात्रीले बकरईदको बेला साउदी अरबस्थित मक्का मदिना सरिफमा सामूहिक नमाज पढी जनावरको बलि (कुर्बानी) दिने गर्छन । हज यात्रा गरी आउनेलाई हाजी भन्ने गरिन्छ ।

हरेक वर्ष विवादमा आएको नेपाली हजयात्रीको खाना र आवासका लागि यस पटक भने नजिकै सुविधा सम्पन्न होटलको व्यवस्था गरिएको हज कमिटीले जनाएको छ । रुपन्देही जिल्लाका हज तीर्थयात्रीको टोली साउन २८ र २९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अरेबिया एयरले साउदी अरबका लागि प्रस्थान गर्नेछन । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.