हुलाकी न्युज, जनकपुरधाम
। शहरी विकास तथा भवन निर्माण मन्त्री प्रभु साहसंगै विकास निर्माण कार्यको अनुगमनमा रहेका जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत स्थानीयद्वारा कुटिएका छन् ।
 
जनकपुर नगरक्षेत्रमा एडिबीको ऋण सहयोगमा संचालित एकिकृत विकास आयोजनाको स्थलगत अनुगमनको लागि मंगलबार विहानै विभिन्न सम्बन्धित कार्यालयका प्रमुखहरुसहित मन्त्री साह स्थानीय विद्यापति चोक पुगेका थिए ।
 
आयोजनाको काममा भईरहेको ढिलासुस्ती र ठेकेदारको लापरवाहीका विषयमा मन्त्री साहलाई नगरवासीले गुनासो गरेपछि अनुगमन गर्ने निधो गरिएको थियो । विद्यापति चोकमा निर्माण व्यवसायीले सडक निर्माणको क्रममा ठूलो खाल्डो खनेर जथाभावि छाडेको अवस्थामा देखेपछि मन्त्री साहले आक्रोशित हुदैं त्यहाँ उपस्थित ठेकेदार बलराम महतोलाई हप्काए ।
 
मन्त्री साहले ठेकेदारलाई झपार्दै भने, ‘के हो यसरी सडकमा खाल्डो खनेर मान्छे मार्ने ?’ मन्त्रीले स्थलगत अनुगमन गरेको देखेर सडकको कारण सास्ती भोग्न बाध्य स्थानीयहरु पनि आफ्नो गुनासो राख्न थाले ।
 
यसै क्रममा मन्त्री साहले सडक आयोजनाको काममा भएका ढिलासुस्ती हटाउन विभिन्न सम्बन्धित कार्यालयका प्रमुखहरुलाई बोलाएर निर्देशन दिईरहेको बेला जनकपुर उपमहानगरपालिकाका कार्यकारी प्रमुख अर्जुन प्रसाद सुवेदी आफ्नो गाडीमा मोबाईल चलाएर बसेका थिए।
 
उपमहानगरपालिकाकै समन्वयमा संचालित आयोजनामा सबैभन्दा बढि जिम्मेवार कार्यकारी प्रमुख मन्त्रीलाई नटेरी गाडीमा बसेको देखेपछि केही स्थानीय युवाहरुले उनलाई बाहिर निस्केर मन्त्री साहको कुरा सुन्न आग्रह गरे ।
 
तर, प्रमुख सुवेदीले आफू मन्त्रीको कुरा सुन्न नजाने भनेर जवाफ फर्काएपछि आक्रोशित युवाहरुले उनलाई गाडीबाट तान्दै कुटपिट गरे। युवाहरुले सुवेदीको लुगा समेत च्यातचुत पारेका थिए । कुटपिट पछि अवस्था तनावग्रस्त भएको देखेर मन्त्री साहलाई तुरुन्तै प्रहरीले घटनास्थलबाट बाहिर लगेको थियो। मन्त्रीको अनुगमन भएको हुनाले प्रहरी प्रमुखहरु आफैं उपस्थित भएकाले घटनालाई तत्कालै नियन्त्रणमा लिइएको थियो ।
 
यता, मन्त्री साहले बिजुली विभाग, टेलिकम र खानेपानीको असहयोगको कारण कामले गति लिन नसकेको आफूहरुले जानकारी पाएको बताए । प्रभावकारी समन्वय नभएको हुँदा सबै काम प्रभावित भएको र जनताले सास्ती भोग्नु परिरहेको हुनाले यसमा शीघ्र समन्वय गरी दुई तीन दिन भित्रमा सबै समस्याहरु समाधान गर्न आफूले सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.