हुलाकी न्यूज, काठमाडौं । आगामी निर्वाचनहरुमा राष्ट्रिय जनता पार्टी(राजपा) नेपालसँग सहकार्य गरेर जाने प्रस्ताव संघीय समाजवादी फोरम नेपालको केन्द्रीय समिति बैठकले गरेको छ ।
शुक्रबार सम्पन्न फोरम नेपालको तीन दिवसीय केन्द्रीय समिति बैठकबाट आगामी निर्वाचनमा राजपा र नयाँ शक्तिसँग सहकार्य गर्ने प्रस्ताव गरेको छ । तर शुक्रबार नै सम्पन्न नयाँ शक्ति पार्टी नेपालको बैठकले फोरम नेपालसँग एकता वा सहकार्य हुन नसक्ने प्रष्ट पारेको छ ।
स्थानीय निकायको पहिलो र दोस्रो चरणको निर्वाचनमा अपेक्षाकृत मत नपाएको भन्दै अव दुई नम्बर प्रदेशको निर्वाचनमा राजपासँग सहकार्य गर्ने प्रस्ताव गरेको छ ।
बैठकको अन्तिम दिन पहाडी र मधेशी नेताहरुबीच आरोप प्रत्यारोप भएको छ । पहाडमा संगठन भएपनि निर्वाचनमा मत आउन नसकेको भन्दै पहाडका नेताहरुप्रति मधेशी नेताहरु आक्रमक रुपमा प्रस्तुत भएका थिए ।
‘पहाडमा हाम्रो संगठन बलियो छ भनेर निर्वाचनमा सहभागी भयौं तर पहाडबाट मत आएन । हामी हार्नुको मुख्य कारण पहाड हो ।’, नेता जयराम यादवले भन्नु भयो,‘पहाडको कारणले निर्वाचनमा गयौं, जसकारण हामीलाई मधेशी जनताले पनि पत्याएनन् र मत दिएनन् ।’
पहाडका नेताहरुले पनि मधेशीले भोट नदिएको आरोप लगाउँदै नेताहरुले काम गर्न नसकेको गुनासो गरे ।
‘मधेशमा बलियो संगठन छ भन्ने भाषण दिन्छन् तर भोट आउँदैन । मधेशका नेताहरुले जवाफ दिनु पर्छ । अध्यक्ष र ठुला ठुला पदाधिकारीहरु मधेशबाटै छन् तर मत खोइ ?’, बैठकमा धनप्रसाद गुरुङ्गले बताए ।
‘पार्टीभित्र मधेशका नेताहरु पहाडका नेताहरुसँग रुष्ट छन्, पहाडका नेता मधेशका नेतासँग रुष्ट छन् । सबैलाई मिलाएर लग्नु पर्ने हुन्छ ।’ हुलाकी न्यूजसँग कुराकानी गर्दै नेता अभिशेष प्रताप शाहले भने ।
केन्द्रीय समिति बैठकबाट आगामी निर्वाचनका लागि राजपासहित नयाँ शक्ति पार्टी नेपालसँग पनि सहकार्य गर्ने प्रस्ताव भएको साहले प्रष्ट पारे ।
यता नेतृ रेखा यादवले सरिता गिरीसहित लिम्बुवान पार्टीका दुई जना पदाधिकारीलाई राजनीतिक समितिमा ल्याउने निर्णय भएको बताए ।
सोमबारबाट बस्ने राजनीतिक समितिको बैठकले थप निर्णयहरु गर्ने बताउँदै यादवले आगामी निर्वाचनलाई केन्द्रीत गरी केन्द्रीय सदस्यहरुलाई जिम्मेबारी दिइने बताए ।



