हुलाकी न्यूज, काठमाडौं । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय समिति बैठकमा हालै सम्पन्न स्थानीय निकायको निर्वाचन बारे समिक्षा भएको छ । बुधबार पहिलो दिनको बैठकमा केन्द्रीय सदस्य तथा जिल्ला नेताहरुले चुनावको समिक्षा गरेका छन् ।
फोरम नेता अभिशेष प्रताप शाहले हुलाकी न्यूजसँग कुराकानी गर्दै केन्द्रीय समिति बैठकमा चुनावको समिक्षा भएको बताउँदै दुई नम्बर प्रदेशका लागि रणनीति बनाउने विषयमा पनि छलफल भइरहेको बताए ।
मधेशमा आन्दोलन जारी रहेको अवस्थामा एक्कासी पार्टी निर्वाचनमा गएको भन्दै फोरमका नेताहरुले नेतृत्वप्रति आक्रोस व्यक्त गरेका छन् । आन्दोलनमा रहेको अवस्थामा एकाएक चुनावमा भाग लिएपछि त्यसको प्रभाव पार्टीमा परेको नेताहरुले बताएका थिए । पार्टी युटर्न भएपछि जनतामा अन्योलमा देखिएको र उनीहरुले मतदान नगरेको जिल्ला अध्यक्षहरुले आफ्नो धारणा सुनाएका थिए ।
नयाँ शक्ति पार्टी नेपालसँगको एकीकरणलाई अन्तिम टुँगो लगाउन बोलाइएको बैठकमा नयाँ शक्ति एकीकरणबाट पछि हटेपछि बैठक चुनाव केन्द्रीत बनेको छ ।
केन्द्रीय समिति बैठकको उद्घाटनमा फोरम अध्यक्ष उपेन्द्र यादव राष्ट्रिय जनता पार्टी नेपालप्रति आक्रमक रुपमा प्रस्तुत भएका थिए । यादवले राष्ट्रिय जनता पार्टी नेपाल एमालेको गोटी बनेको आरोपसमेत लगाए ।
फोरम नेपालले मात्र चुनावमा भाग नलिएको भए गणतन्त्र र संघीयता समेत खतरामा पर्ने देखिएकाले अन्तिम समयमा आएर चुनावमा भाग लिने निर्णय गरेको दाबी यादवले गरे ।
फोरम नेतृ रेखा यादवले केन्द्रीय समिति बैठक १३ गतेसम्म चल्ने जानकारी दिए ।



