हुलाकी न्युज, सप्तरी | सप्तरीका खेतमा पानी सुकेपछि रोपाइँ प्रभावित भएको छ। कृषि कार्यालय प्रमुख भागीरथ यादवले अहिलेसम्म ४० प्रतिशत मात्र रोपाइँ हुन सकेको बताए ।
धान रोप्न तयार गरिएका खेत सुकेका छन् भने रोपिएका धानमा पनि पानी अभाव छ । जिल्लामा ७० हजार हेक्टर जग्गा धान खेतीयोग्य छ। जसमध्ये आधामा मात्र विभिन्न नहर र कुलोपैनीबाट सिँचाइ सुविधा छ। आधा खेतीयोग्य जग्गामा आकाशे पानीकै भरमा खेती हुने गरेको छ।
‘सुरुमा पानी नपरेकाले बेर्ना तयार हुन ढिलो भयो, जसोतसो बेर्ना तयार भएपछि बाढी नै आयो, अहिले फेरि खडेरीजस्तो भएको छ,’ कृषि प्रमुख यादवले भने, ‘दुई–चार दिन अझै वर्षा भएन भने रोपिएका बेर्नामा समेत समस्या हुन्छ भने खेत रोप्न तयार पारिएका बेर्नासमेत प्रयोगयोग्य रहँदैन।’
यस्तै, तराईका झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहाका कुल ३ लाख ४७ हजार २ सय ५७ हेक्टर धान खेतीयोग्य जग्गामध्ये १ लाख ५९ हजार ३ सय १४ हेक्टर (४५ दशमलव ८८ प्रतिशत) मा मात्रै रोपाइँ भएको छ। यी जिल्लामा गत वर्ष ६३ दशमलव ५६ प्रतिशत रोपाइँ भएको कृषि निर्देशनालयले जनाएको छ।



