लक्ष्मी गारु, भक्तपुर, ६ साउन ।
साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा आज नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्ण राक्षसलाई धपाउने प्रचलनको गठामुंगः पर्व मनाउँदैछन् । नेवार समुदायले हर्षोल्लासका साथ मनाउने घण्टाकर्ण पर्व नेवारको मौलिक पर्वमध्येको एक हो ।

वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार समुदायको मौलिक पर्वका रुपमा लिने गरिएको हो ।

यस दिनलाई नेवार समुदायले आफ्नो घर गृहशान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोग–ब्याधी नलागोस् भनेर राक्षस धपाउने पूजा गर्ने दिनका रुपमा लिइन्छ । यस दिन नेवार एकाबिहानै उठेर घरलाई लिपपोत गरी सफा पार्ने र घरका सबैजनाले नुहाएपछि महादेवको मन्दिर पुगेर जल ल्याई आफ्नो घरको सम्पूर्ण भागमा सो जलले छर्केर चोखो बनाउने प्रचलन रहेको छ । घर चोखो बनाउने क्रममा दैनिक जीवनमा प्रयोग भइरहेका सम्पूर्ण भाँडाकँुडासमेत धोएर चोखो बनाउनु पर्दछ । महादेवको जल नछर्केसम्म कसैले खान नहुने मान्यता रहेको छ ।

घरलाई चोखो बनाएपछि नेवार समुदायले बौ वाय् ज्या (भूत मन्छाउने कार्य) गर्दछ । काँचो माटोको सानो दहीको कतारो वा सलीचा (एक प्रकारको माटोको भाँडो)मा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रङ्गीविरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोल बाहिरको दोबाटो वा चौबाटोमा लगेर राख्ने प्रचलनलाई बौ वाय् ज्या अर्थात् भूत मन्छाउने कार्य भनिन्छ । बौ वाय् ज्या गर्ने क्रममा कसै कसैले कुखुराको बलि पनि दिने चलन रहेको छ ।

बौ वाय् ज्या सँगसँगै घरघरको मूल ढोका र मुख्य निदालमा पञ्चरङ्गी मयूरको प्वाँख र तीनखुट्टे फलामको किला ठोक्ने चलन छ । यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको छ । घरका साना केटाकेटीलाई फलाम वा तामाको औँठी लगाइदिने चलन पनि रहेको छ । वयस्क युवतीले आजको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने प्रचलन पनि रहेको छ ।

त्यसैगरी, साँझपख घरघरबाट छ्वाली प्वाः वायगु ज्या (छ्वालीको मुठा फाल्ने कार्य) सम्पन्न गरिन्छ । छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरुको बोटको हाँगा, धुँ स्वाँ र बौ स्वाँ नामको विशेष प्रकारको फूलसमेत राखेर सो छ्वालीको मुठालाई बालेर घरको माथिल्लो भागदेखि तल्लो भाग छिँडीसम्म परिक्रमा गराई छ्वास (नेवार समुदायको मानिस मर्दा उसको लुगा फाल्ने ठाउँ)मा लगेर सेलाउने गरिन्छ ।

यसअघि घरका सम्पूर्ण झ्याल ढोकाको कुनाको माटो झिकेर सो माटो झिकेको सानो प्वालमा जौ, तोरीको गेडालगायतका वस्तु राखेर गोबरले लिप्ने प्रचलनसमेत रहेको छ । घण्टाकर्ण पर्वकै अवसरमा टोलवासीले नर्कट र छ््रवालीको मानवाकृति युक्त राक्षसको प्रतीक बनाई चोक चोकमा ठ्ड्याएर राखिन्छ । सँगसँगै एक व्यक्तिलाई पनि राक्षसको प्रतीक बनाई जगात अर्थात् पैसा उठाउन लगाइन्छ । साँझपख सो राक्षसको प्रतीक स्वरुपको नर्कट र छ्वालीको मानवाकृतिलाई नजिकको खोलामा लगेर जलाइन्छ ।

यस पर्वलाई किसानको “सिनाज्या ब्यंकेगु” (रोपाइँ कार्य सम्पन्न भएको) र चाडपर्वको शुरुबाट भएको सङ्केत पर्वका रुपमा पनि लिने गरेको छ । नेवार समुदायमा रोपाइँ सकेपछि घर सफा गर्ने, हिलो पखाल्ने पर्वका रुपमा ‘सिनाज्या ब्यंकेगु’ पर्व मनाउने गरिन्छ ।

नेवार समुदायमा घण्टाकर्ण पर्व प्राचीन कालदेखि नै प्रचलनमा रहेको इतिहासविद् एवम् संस्कृतिविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार यो पर्व काठमाडौँ उपत्यकामा करिब दुई हजार वर्षअघि देखि प्रचलनमा रहेको छ । यस पर्वले मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न उत्प्रेरणा मिल्ने र व्यक्ति, परिवार, समाज र देशमा शान्तिको कामना गर्ने पर्वका रुपमा समेत लिइने गरेको संस्कृतिविद् डा श्रेष्ठ बताउनुहुन्छ ।

कानमा घण्टा झुण्ड्याएर हिँड्ने राक्षसको पूजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व भनिएको हो । घण्टाकर्णलाई शिवको प्रतीकका रुपमा पनि लिइन्छ । पौराणिक कथनअनुसार महाभारतकालमा कृष्ण र वाणासुर राक्षसको युद्ध हुँदा वाणासुर राक्षसले कृष्णलाई हराउन महादेवको सहयोग माग्दछ । शिवभक्त वाणासुरको पुकार सुनेर महादेवले वाणासुरलाई सहयोग गर्ने वचन दिन्छन् । तर कृष्णसँग युद्ध गर्न महादेवलाई नैतिक सङ्कट परेपछि उनले घण्टाकर्णको रुप धारण गरेको पौराणिक कथन रहेको संस्कृतिविद् डा श्रेष्ठले बताउनुभयो ।

आजकै दिनदेखि नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन शुरु गरिन्छ । नेवारी समुदायमा सिठी नखःलाई वर्षको अन्तिम पर्वका रुपमा लिने र सो दिनदेखि घण्टाकर्णसम्म धान रोपाइँ सक्नुपर्ने भएकाले कुनै पनि धार्मिक महत्वको कार्य नगर्ने परम्परा रहेको छ ।

नेवारी समुदायले गाईजात्राका बेला प्रदर्शन गरिने विभिन्न भैरव नाच, व्यङ्ग्यले भरिपूर्ण नाटकको प्रशिक्षणसमेत घण्टाकर्ण पर्वपछि शुरु गरिन्छ । भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचका लागि आजकै दिनदेखि मुखुण्डो बनाउने कार्यको शुभारम्भ गरिन्छ । रासस -फाईल फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.