
हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टी(राजपा) नेपालको केन्द्रीय समितिको बैठक बस्ने विषयमा शुक्रबार टुँगो लाग्ने भएको छ । राजपाका नेताहरुले पार्टीको विधान र घोषणा पत्र केन्द्रीय समितिबाट अनुमोदन गराउनु पर्ने माग गरेपछि त्यस विषयमा छलफल भएको छ ।
विहीबार बसेको राजपाका अध्यक्ष मण्डलको बैठकमा पार्टीको आन्तरिक विषयमा छलफल भएको नेता महेन्द्र यादवले बताए । यादवका अनुसार पार्टीको केन्द्रीय समिति बैठक कहिले बोलाउने भन्ने विषयमा शुक्रबार टुँगो लाग्नेछ ।
हृदयेश त्रिपाठीलाई जिम्मेबारी दिने विषयमा छलफल
राजपाको अध्यक्ष मण्डल बैठकमा नेता हृदयेश त्रिपाठीको विषयमा चर्चा चलेको छ । केही दिन यता असन्तुष्ट बन्दै आएका त्रिपाठीलाई पाटीमा थप जिम्मेबारी दिने विषयमा छलफल भएको छ ।
अध्यक्ष मण्डलमा त्रिपाठीलाई ल्याउने अथवा सोही सरहको जिम्मेबारी दिने विषयमा छलफल भएको हुलाकी न्यूजलाई जानकारी प्राप्त भएको छ ।



