हुलाकी न्यूज, काठमाडौं । आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपाल र सत्तारुढ दल नेपाली कांग्रेर तथा माओवादी केन्द्रबीच भएको वार्ता विनानिष्कर्ष सकिएको छ ।

बुधबार विहानदेखि भएको वार्तामा सत्तारुढ दलका नेताहरुले राजपासँग निर्वाचनमा सहभागी हुने प्रतिवद्धता मागेका थिए । तर मन्त्रिपरिषद्बाट हुन सक्ने कामहरु पनि नभएको भन्दै राजपाका नेताहरुले सत्ता पक्षका प्रस्तावहरु अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफुहरु संविधान संशोधन विधेयक निर्णायार्थ पेस गर्न तयार रहेको तर संशोधन फेल भएपनि राजपाले परिणाम स्वीकार गर्नु पर्ने प्रस्ताव राखेका थिए ।

तर राजपाका नेताहरुले पहिले मन्त्रिपरिषद्बाट हुने सहिद घोषणा, मुद्दा फिर्ता र क्षतिपुर्तिलगायतका कामहरु गर्न माग गरेका थिए ।

बैठकमा सहभागी राजपाका नेता अनिल झाका अनुसार सरकारी पक्षले पुरानै कुराहरु दोहर्याएका थिए । राजपा पनि आफ्नो अडानमा कायम रहेको झाले बताए ।

बैठकमा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले संविधान संशोधन प्रस्ताव पारित गराउन बहुमत नरहेको जिकिर गरेका थिए । उनीहरुले संशोधन प्रस्ताव फेल भएपनि परिणाम स्वीकार गर्न दबाब दिएका थिए ।

तर बैठकमा राजपाका संयोजक महन्थ ठाकुरले भने,‘तपाईहरुले गर्न सक्ने काम पनि गर्नु भएको छैन । नेताहरुमाथि मुद्दा चलाइएको छ । कार्यकर्ताहरु जेलमा छन् । यो मागहरु पुरा गर्न सक्नु भएको छैन । पहिले यी मागहरु पुरा गर्नुस्, त्यसपछि संविधान संशोधनका बारे छलफल गरौंला ।’

त्यसलगतै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले तीन दिनभित्र संविधान संशोधन बाहेकका मागहरु पुरा हुने आश्वासन दिए । माओवादी नेता नारायणकाजी श्रेष्ठले मुद्दा फिर्तालगायतको काम अगाडि बढेको दाबी गरे ।

बैठक पछि पत्रकारहरुसँग कुराकानी गर्दै राजपाका संयोजक ठाकुरले कुनै विषयमा सहमती नभएको बताउँदै थप छलफल हुने जानकारी दिए । ठाकुरले अहिले कै अवस्थामा राजपा निर्वाचनमा सहभागी नहुने पनि प्रष्ट पारे ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.