हुलाकी न्युज, सिरहा । जिल्ला शिक्षा कार्यालय सिरहाका शिक्षा अधिकारी अरविन्द लाल कर्णले जिल्लाका सामुदायिक विद्यालयहरुलाई आफूले भनेकै पसलवाट मम्प्युटर खरिद गर्न दवाव दिएका छन् ।
सिरहाका ४५ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुलाई शुक्रवार एकै स्थानमा भेला गराई आफ्नै उपस्थितिमा कम्प्यूटर विक्रेतावाट अभिमुखिकरण गराएका छन् । काठमाण्डौस्थित कम्प्यूटर विक्रेता आईसिटी कम्पनीका प्राविधिकहरुले शिक्षा अधिकारीका समक्ष प्रधानाध्यापकहरुलाई उपकरण आईसिटी काठमाण्डौवाट खरिद गर्न दबाब दिएका छन् ।
शिक्षा अधिकारी कर्णले कम्प्यूटर खरिदमा आफ्नो कमिशन जोगाउन छड्के दाउ लगाएको प्रष्ट देखिन्छ । जिल्ला शिक्षा कार्यालयवाट एकसाथ कम्प्यूटर खरिद गर्दा टेण्डर गर्नुपर्ने बाध्यतालाई छल्न शिक्षा अधिकारी कर्णले विद्यालयहरु आफैले खरिद गर्ने गरी रकम निकासा त दिए तर कमिशन प्राप्त गर्न विद्यालयहरुलाई आफूले भनेको पसल वा कम्पनीवाट खरिद गर्न अह्राएका छन् । त्यसका लागि उनले आफ्नो पदीय गरिमा समेत भुलेका छन् र कम्प्यूटर विक्रेता आईसिटीको व्राण्ड एम्वेसडरको रुपमा प्रस्तुत भएका छन् ।
शिक्षा अधिकारी कर्णको यस्तो रवैयाको स्थानीय क्म्प्यूटर विक्रेताहरुले भने विरोध गरेका छन् । स्थानीय व्यापारीहरुले कि त टेण्डर गर्नु पर्छ कि त स्थानीय विक्रेताहरुवाट खरिद गर्नुपर्छ भनेर कार्यक्रम स्थलमै शिक्षा अधिकारीलाई दवाव दिए । स्थानीय कम्प्युटर विक्रेता सुधिर साहले कमिशन खाने दाउ मात्र शिक्षा अधिकारीले अपनाएर आईसिटी काठमाडौंबाट कम्प्यूटर खरिद गर्न प्रधानाध्यापकहरुलाई अहएको आरोप लगाएका छन् ।
सिरहाका ४५ वटा माध्यमिक विद्यालयलाई जिल्ला शिक्षा कार्यालय मार्फत शिक्षा मन्त्रालयले एक –एक थान कम्प्यूटर, प्रिन्टर र प्रोजेक्टर खरिद गर्न करीव ७२ लाख रुपैया निकासा दिएको छ । १ लाख ६० हजार जिल्ला शिक्षा कार्यालयले र ४० हजार सम्बन्धित विद्यालयले बेहोर्ने गरी खरिद गर्नुपर्ने छ ।
शिक्षा अधिकारी कर्णसंग ४५ जना प्रधनाध्यापकहरुलाई बोलाएर अनुशिक्षणका नाममा कम्प्यूटर विक्रेतासंग भेट गराउनु कमिशनको चक्कर त होईन ? भनी प्रश्न गर्दा शिक्षा अधिकारी कर्णले गुणस्तर निर्धारण गर्न मात्र प्रधानाध्यापकहरुलाई एकै ठाउँमा भेला गरिएको हो भनेर पन्छिने प्रयास गरेका छन् । तर उनको भित्रि योजना भने आईसिटीबाटै कम्प्यूटर खरिद गर्न लगाएर कमिशन खाने रहेका छन् । सभार : दैनिक नेपाल



