
हुलाकी न्युज, सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३ दुर्गापुर डङ्ग्राहाका दुई महिलालाई छिमेकीले मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।
फेसबुक र इमोमा फोटो राखेको भन्दै छिमेकी आलम मिया, मोहमद जाहिर मिया र उनका छोरा कलिमले वर्ष ३६ की मकिना खातुन र वर्ष ३५ की खैरुल खातुनलाई गाउँलेको भेला बोलाई कुटपिट गरेका हुन् ।
दुवैजना नुहाउँदै गर्दा छिमेकी सञ्जिला खातुनले फोटो खिचेकी थिइन् । सञ्जिलाकै फेसबुक र इमोमा ती फोटो राखिएको हो । नुहाउँदै गरेको फोटो इन्टरनेटमा राखेको भन्दै छिमेकीले बाँसको लाठीले कुटेको पीडित महिलाले बताएका छन् ।
उनीहरूमाथि समाज राखेर कुटपिट भएको थियो । कुटाइबाट मकिनाको शरीरको पछिल्लो भागको खुट्टादेखि घाँटीसम्म ठूलठूला नीलडाम छन् । खैरुलको पनि शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।घाइते दुवैको गोलबजार–४ स्थित आकाशगंगा पोलिक्लिनिकमा उपचार गराइएको छ ।
मकिनाको शरीरको अधिकांश भागमा गम्भीर चोट रहेकोे डा। दीपेन्द्र यादवले बताए । उनले भने, ‘दुईजनाको शरीरमा कुटपिट नभएको कुनै ठाउँ दैखिँदैन, गहिरो चोट पर्ने गरी कुटपिट भएको छ ।’ सञ्जिलाले उनीहरूको फोटो १२ असारमा खिचेकी थिइन् । त्यसको केही दिनपछि इन्टरनेटमा राखेकी थिइन् । सोबारे छलफल गर्न भन्दै आलम मिया र जाहिर मियाले २० असारमा गाउँलेको भेला बोलाए ।
तर, मकिना र खैरुललाई भने भेलामा नराखी जाहिरले आफ्नै घरमा थुनेर राखे । वडा नागरिक मञ्चकी सदस्य शहिदा खातुनको घरमा भएको छलफलमा दुवै महिला चरित्रहीन भएको निष्कर्ष निकालियो । दुवै महिलालाई ५० हजार रुपैयाँ जरिवाना गर्ने र नतिरे गाउँनिकाला गर्ने निर्णय भयो । तर, निर्णयको वडा नागरिक मञ्चकी सदस्य शहिदा खातुनले प्रतिवाद गरिन् ।
अरूले फोटो खिचेर हालिदिएका कारण दुवै महिला निर्दोष रहेको उनको भनाइ थियो । तर, जाकिर मियाले उनको कुरा सुनेनन् । दुवै महिलालाई भेलामा झिकाए । त्यहीँ उनीहरूलाई कुटपिट गरियो । कुटपिटपछि जाहिर मियाले उनीहरूको साथमा रहेको मोबाइल खोसेर मोबाइलमा रहेको सम्पूर्ण नम्बर र फोटोहरू डिलिट गरेर दुई दिनपछि फिर्ता दिएका थिए ।
कुटपिटपछि घटना बाहिर लगे योभन्दा कडा सजाय दिने धम्की दिएको पीडितले बताएका छन् । गाउँमै मिलाउने भनेर तीन दिनसम्म थुनेर राखे पनि आफूहरूको कुरा कसैले नसुनेको मकिनाले दुखेसो पोखिन् । उनले भनिन्, ‘सबैले गाउँमै मिल्नुपर्छ भने, तर कसैले केही सहयोग गरेनन् ।’
इन्टरनेटमा यसरी गयो फोटो
मुस्लिमहरूको पर्व इदको दिन १२ असारमा मकिनाको घरमा रहेको चापाकलमा उनी छिमेकी खैरुल खातुनसँगै नुहाउँदै थिइन् । अर्की छिमेकी सञ्जिला खातुन नुहाइरहेको ठाउँमा आइन् । उनले जिस्किएजस्तो गरी मोबाइलले दुवैको फोटो खिचिन् ।
दुवैले फोटो नखिच्न आग्रह गरे तर आफूले कतै नहाल्ने र एकछिनमा मेट्ने भन्दै फोटो खिचेकी थिइन् । केही दिनपछि गाउँकै अमिना खातुनले ती फोटो देखिन् । अमिनाले सञ्जिलाको मोबाइलबाट उनकै इमो र फेसबुकमा फोटो हालिदिइन् ।
ती फोटो बाहिर रहेका आफन्तले इन्टरनेटमा हेरेपछि घटनाबारे गाउँभरि हल्ला फैलियो । गाउँमा एकपछि अर्कोले कुरा काट्न थालेपछि मात्रै मकिना खातुन र खैरुल खातुनले आफ्नो फोटो इन्टरनेटमा सार्वजनिक भएको
थाहा पाए ।
बेहोस नहुन्जेलसम्म यौनांगमा कुटपिट
२० असारमा भएको गाउँले भेलामा जाहिर मियाँले दुवै महिलालाई हाजिर गराए । उनीहरूलाई चरित्रहीनको आरोप लगाइयो । दुवैलाई उत्तानो पारेर लौराले कुटपिट गर्न सुरु भयो ।
जाहिर मियाँले नै दुवैलाई बाँसको लौराले कुटेका थिए । उनले यौनांग छेउछाउमा अत्यधिक कुटपिट गरेको चिकित्सकको भनाइ छ । करिब एक घन्टासम्म कलिम मियाँ र मोहम्मद आलमलगायतले पालैपालो कुटपिट गरे ।
दुवैजना बेहोस भएपछि मात्रै कुट्न छाडिएको थियो । उनीहरू बेहोस भएपछि जाकिरले फोटो खिच्ने महिला सञ्जिला खातुनलाई बोलाएर सामान्य कुटपिट गरेका थिए । कुटपिटबाट तीनैजना घाइते छन् ।
चार दिनसम्म उपचार गराउन दिइएन
समाजको निर्णय समाजमै कार्यान्वयन भएको भन्दै दुवैजनालाई उपचारका लागि अस्पताल जान रोक लगाइएको थियो । उपचार अभावमा दुवै महिलाको अवस्था दयनीय भएपछि वडा नागरिक मञ्चकी सदस्य शहिदा खातुनले २४ असारमा गोलबजार प्रहरी चौकीलाई गुहारिन् । प्रहरीकै सहयोगमा दुवैलाई उपचारका लागि आकाशगंगा पोलिक्लिनिक भर्ना गरिएको थियो ।सभार: नयाँ पत्रिका



