सङ्गीतश्रोता

संविधानसभाबाट संविधान बनाउने झन्डै पौने शताब्दीदेखि लामो नेपाली जनताको ‘अधुरो सपना’ले आकार पाएको छ । तर, त्यो आकारले अँगाल्न नसकेका मुद्दा यतिखेर सडकमा पछारिएका छन् । र, सडकमा सबैभन्दा भावपूर्ण आवेगमा उभिएको छ इतिहासदेखि बहिष्करणमा पारिएको मधेस–भूमि । मधेस एउटा इतिहास हो, राष्ट्रियता हो र संस्कृतिसमेत हो । नेपाली साहित्यको मूलधार भनिने परम्पराले मधेसलाई साहित्यको मूल बिम्ब बनाउन सधैँ अनकनाइरह्यो । उसका लागि विषय र पात्र भइरहे– ‘सगरमाथा’, ‘गौतम बुद्ध’, ‘बहादुर नेपाली’, ‘राष्ट्र निर्माता’… । प्रतिरोधी धाराका रूपमा चिनिएको प्रगतिशील लेखनले भने सापेक्ष रूपमा मधेसलाई सम्बोधन गर्दै आएको छ । विमल निभाको पैंतीस वर्ष पुरानो ‘गाउँ’ कविता त्यसैको एउटा साक्षी हो । यहाँ त्यही ऐतिहासिक कविताबारे चर्चा गर्न खोजिएको छ ।

‘गाउँ’ निभाको फुटकर कविता हो । ०३७ सालमा लेखिएको यो कविता ‘आगोनेर उभिएको मानिस’मा संकलित छ । मधेसको रामगढवा गाउँलाई उत्पीडित किसानको बिम्ब बनाएको यस कविताले किसान मुक्तिको आकांक्षालाई ध्वनि दिएको छ । मधेसको मुक्तिको सुर किसान र मजदुरको मुक्तिसँग घुलिएको छ । कवितामा सिंगो रामगढवालाई श्रमशील र इमानदार किसानका रूपमा मानवीकरण गरिएको छ । यसलाई भूगोलको किसानीकरण भन्न सकिन्छ । रामगढवा एउटा भूगोल हो र किसान त्यहाँका बासिन्दाको पहिचान । भूगोलले सामथ्र्य खोज्छ र पहिचानले सम्मान । कविले मधेसमा किसानहरूले भोग्नुपरेको शोषणकारी व्यवस्था र त्यसले सिर्जेको तत्कालीन परिस्थितिलाई त्यही सामथ्र्य र पहिचानसँग जोडेका छन् । कवितामा एकातिर किसानहरूको सामूहिकता र एकतामा विश्वास गर्ने पक्षको उद्घाटन भएको छ भने अर्कोतिर उनीहरूको मुक्तिको स्वप्न मुखरित छ ।

किसान कृषिकर्ममा आबद्ध श्रमजीवी मानव समुदाय हो । खेतबारीमा उत्पादनको काम गर्ने, सामूहिक भाव तथा श्रमचेतना भएको र मूलत: शारीरिक श्रममा जोडिने वर्गलाई सामान्यतया किसान भनिन्छ । शब्दकोशले ‘खेतीपातीको काम गरेर जीविका चलाउने व्यक्ति’ भन्ने किसानहरू विशेषत: ग्रामीण श्रमिक हुन् । पुँजीवादी विकासमा अघि बढिसकेको ठाउँमा किसानलाई ग्रामीण सर्वहारा, अर्धसर्वहारा अर्थात् कृषि मजदुरका रूपमा लिइन्छ । नेपालका ६५.७ प्रतिशतभन्दा बढी जनता प्रत्यक्ष कृषिमा आबद्ध रहेका र देशको कुल गार्हस्थ उत्पादनको करिब ३२.५ प्रतिशत योगदान कृषि क्षेत्रकै रहेको तथ्यांकहरूले बताउँछन् । कृषिप्रधान मुलुकका रूपमा चिनाइने नेपालको मुख्य किसानी–थलो मधेस हो । नेपाली साहित्य र सिनेमामा भने मधेस क्षेत्रका किसानका वास्तविक दुर्दशा र उनीहरूको निरन्तरको संघर्षको प्रतिबिम्बन अत्यन्तै न्यून देखिन्छ । आजका कविताको मूल विषयवस्तुमा ग्रामीण किसान हुँदैन, मधेस झन् हुँदैन । सहरी मध्यमवर्गीय जीवनको चित्रण नै कलासाहित्यको केन्द्रमा छ । भारतीय लेखक सुभाषचन्द्र कुशवाहाले सहरी मध्यमवर्गको प्रेमसम्बन्ध, खाए–पिएर अघाएका मान्छेका सामाजिक चिन्ता आदिलाई विषय बनाएर धेरैजसो साहित्य लेखिइरहेको र ठूलो संख्यामा हत्या वा बलात्कारका घटना नभएसम्म मिडियाको पहुँचमा गाउँ कहिल्यै नआएको उल्लेख गरेका छन् ।

कुशवाहाको टिप्पणी नेपालका सन्दर्भमा पनि त्यत्तिकै मिल्दो छ । अहिले चलिरहेको मधेस आन्दोलन दमन गर्ने नाममा राज्यले गरिखाने वर्गका मान्छेकै ज्यान लिएको छ । तीन दर्जनभन्दा बढी मान्छे मारिइसक्दा पनि काठमाडौंका मिडियाका मूल–हेडलाइनमा मधेस छैन । साहित्य–समीक्षामा किसानजीवन वा मधेस–संस्कृतिलाई मुख्य दृष्टिबिन्दु बनाएर मूल्यांकन गर्ने परिपाटी देखिन्न । लेखनकर्मलाई सामाजिक दायित्व र समाज रूपान्तरणसँग जोडेर हेर्ने समीक्षकहरूको यतातिर ध्यान नजानु चिन्ताको विषय हो । नेपाली किसानका जीवनका आधारभूत चेतना वा सौन्दर्य, उनीहरूका सांस्कृतिक विशिष्टता वा सामाजिक पहिचानले कलासाहित्यमा कसरी अभिव्यक्ति पाएको छ भनेर खोज्ने चलन त छँदै छैन । किसानले आर्जेको श्रम चेतनाको अभिव्यक्ति, चरित्रमा किसानजनको नायकत्व, सामूहिकता, संघर्षशीलता, ग्रामकेन्द्री सौन्दर्यचेत, भूमिप्रेम तथा प्रकृतिप्रेम, भौतिकवादी दृष्टि आदिलाई किसान चेतनाका केही आधारभूत विशेषता मान्न सकिन्छ । ‘गाउँ’ कविताको सन्दर्भमा किसानको नायकत्व, श्रमचेतना, सामूहिकता र संघर्षशीलता वा मधेसी मुक्तिचेतना ध्यान दिनुपर्ने पक्ष हुन् ।

‘गाउँ’ कवितामा समाख्याताले श्रोतालाई रामगढवा आउन आह्वान गरेको छ । रामगढवामा एक दिन मात्रै बिताउने हो भने त्यस गाउँ र सुक्खाले खाएको खेतमा कति समानता थाहा हुने भन्दै कविले गाउँको विशेषता बखान गर्छन् । गाउँ सखारै बिउँझन्छ र खेतमा गएर हलो जोत्ने, माटो सम्याउने काम गर्छ, सँगसँगै थाकेको गोरुलाई माया गर्दै ‘जोवनवा हमरा बीत गइल हो…’ भन्ने गीत गाउँछ । ब्याजको दर र बूढो साहुको लामो आयु कति दु:खदायी छ भन्ने जान्नका लागि त्यही गाउँमा जानुपर्छ । कविले पाठक वा श्रोतालाई आह्वान गर्छन्– रामगढवामा एक दिन बिताउन, त्यहाँको घर–आँगन तथा खेत–खलियानमा गएर मानिसलाई भेट्न अनि त्यस गाउँ र सुक्खाले खाएको खेतमा कति समानता छ भन्ने थाहा पाउन ।

मधेसमा आधारित किसानकेन्द्री यस कवितामा रामगढवा नै यसको नायक हो । किसानकेन्द्री साहित्यमा खेतबारीमा शारीरिक श्रम गर्ने व्यक्ति नै मूल चरित्र हुन्छन् । किसान साहित्यले उत्पादनसँग नजोडिने व्यक्तिलाई नायक मान्दैन । ‘गाउँ’ कवितामा चलायमान मानव पात्र ‘गाउँ’ नै हो । कविले रामगढवा गाउँको किसानीकरण गरेका छन् ।

सखारै यो गाउँ बिउँझन्छ
खेतमा जान्छ
हलो चलाउँछ
माटो सम्याउँछ
थाकेको गोरुलाई माया गर्छ
र गीत गाउँछ
‘जोवनवा हमरा बीत गइल हो ’

थाकेको गोरुलाई माया गर्ने कुनै निर्जीव वा मानवेतर गाउँ होइन, बरु सचेत, परिश्रमी र मिहिनेती किसान हो । रामगढवा गाउँ सखारै उठेदेखि मध्यरातसम्म काममै व्यस्त देखिन्छ । श्रमचेतना युगौँ लामो मानव सभ्यताको सर्जक–चेतना हो र परिवर्तनकामी चेतना पनि । मानव सभ्यताको आजसम्मका सम्पूर्ण उपलब्धि कुनै न कुनै रूपमा श्रम–प्रक्रियासँग जोडिएका छन् । किसान आजसम्म मूलत: शारीरिक श्रमसँग जोडिएको वर्ग हो । कविताको मूलपात्र श्रम गर्ने वर्गप्रति सम्मानभाव राख्छ ।

किसानमा सामाजिक र सामूहिक भावना हुन्छ । आलोपालो, अर्मपर्म, संगुतेजस्ता सामूहिक श्रमका नेपाली सामाजिक प्रथा किसान समाजका निर्मिति हुन् । खेतबारीमा किसानहरू समूहमा हुन्छन्, सामाजिक सरोकारका काम गर्नुपर्दा उनीहरूले सामूहिक प्रयास गर्छन्, आफ्ना समस्या र आफूमाथिको शोषण–अत्याचारको अन्त्य गर्न पनि उनीहरू संगठनबद्ध हुन्छन् । किसानहरू आफन्तको खुसीको क्षणमा सँगै हुन्छन् र दु:खको घडीमा पनि । दिनभरि श्रममा सहभागी हुनु र राति फुर्सद निकालेर छिमेकीबीच पानी नपरेको, बाली नसप्रेको वा ब्याजको दर बढाइरहने बूढो साहुको अन्त्य नभएको विषयमा सरसल्लाह गर्नुले प्रस्तुत कविताले किसानमा हुने सामूहिक भावनाको प्रतिनिधित्व गर्छ । कृषिक्षेत्र औद्योगीकरण नभइसकेको र सहरमा किसानचेतना कमजोर हुने भएकाले साहित्यमा किसान चेतना अभिव्यक्त हुँदा त्यो गाउँकेन्द्री यथार्थमा आधारित हुनु स्वाभाविक छ । प्रस्तुत कविताको सन्दर्भ र पृष्ठभूमि नेपालको मधेस क्षेत्रको ग्रामीण परिवेशमा आधारित छ । जस्तै :

‘…एक रात
यहाँ बिताउने मौका पायौ भने
तिमीलाई थाहा हुनेछ
ब्याजको दर र बूढो साहुको लामो आयु
दुवै कत्ति दु:खदायी छ ?
…यो गाउँ र सुक्खाले खाएको खेतमा
कति समानता छ ?’

परालको आगो ताप्नु, घर–आँगनमा डुल्नु, खेत–खलियान पुग्नु ग्रामीण परिवेशको यथार्थ हो । सहरमा पुँजीको कारोबार बैंकमार्फत हुन्छ, विभिन्न कम्पनी तथा संस्थाले पुँजी लेनदेन गर्छन् तर अहिले पनि गाउँमा किसानलाई ऋण साहुले दिन्छ र ब्याज तोक्छ । यो ग्रामीण यथार्थकै एउटा पाटो हो । नेपालको अर्थतन्त्र पुँजीवादी–नवउदारवादी मोडलतिर अभिमुख भइरहेको भए पनि ग्रामीण परिस्थितिमा अझै पनि सामन्तवादी अर्थप्रणालीका अवशेष बाँकी छन् । कविताले त्यही यथार्थलाई अभिव्यक्ति दिएको छ ।

त्यसो त किसानहरू श्रमशील मात्रै होइन, संघर्षशील पनि हुन्छन् । साझा हितका लागि एकै ठाउँ उभिनु र संघर्षमा होमिनु उनीहरूको विशेषता हो । किसान सामन्तवादी समाजमा सामन्त, साहु वा राजामहाराजाबाट अत्याचारमा पारिएका हुन्छन् भने पुँजीवादी समाजमा पुँजीवादी व्यवस्था र त्यसका सञ्चालक र उपभोक्तावादी–बजारवादी संस्कृतिबाट उत्पीडित हुन्छन् । यसबाट उन्मुक्ति पाउन उनीहरूमा संघर्ष–चेतना विकास भएको हुन्छ । ं‘गाउँ’ कवितामा किसानको मुक्ति–चेतना वाच्यार्थभन्दा पर पुगेर ध्वनित भएको पाइन्छ । ब्याजको दर र बूढो साहुको लामो आयुलाई दु:खदायी भन्नु अनि गाउँ र सुक्खाले खाएको खेतलाई दाँज्नु मुक्तिचेतकै ध्वनि हो ।

‘ब्याजको दर र बूढो साहुको आयु कति दु:खदायी छ’ र ‘यो गाउँ र सुक्खाले खाएको खेतमा कति समानता छ’ भन्ने दुई प्रश्नात्मक वाक्य संरचनाले एकातिर किसान–जीवनको मार्मिकतालाई अभिव्यक्त गरेको छ भने अर्कोतिर ‘सुक्खाले खाएको खेत’ र ‘ब्याजदर तथा बूढो साहु’बाट चाहेको मुक्तिको आकांक्षालाई ध्वनित गरेको छ । किसानले सुक्खाले खाएको खेतको सट्टा हराभरा खेतको अपेक्षा गर्छ भने बढिरहने ब्याजसहितको ऋण होइन, गरिखानेका लागि आफ्नै भूमि चाहिन्छ (जसलाई जसको जोत, उसको पोत) भन्ने मान्यतामा विश्वास राखेर आन्दोलन गरिराखेको हुन्छ । किसान–जीवनको सौन्दर्य–चेतना, उनीहरूका विशिष्ट मानवीय भावना तथा संवेदना र उनीहरूले आर्जन गरेका सामाजिक–सांस्कृतिक विश्वदृष्टि वा मौलिकता नै साहित्यमा किसान–चेतनाको खोजी गर्ने आधार हुन् । साहित्यमा किसानी श्रमचेतना, सामूहिकता, सङ्घर्षशीलता, ग्रामकेन्द्री सौन्दर्यचेत, भूमिप्रेमी दृष्टि खोज्नु आजको खाँचो हो ।

विमल निभाको ‘गाउँ’ कविता किसान–चेतना र मधेसमुक्तिका दृष्टिले निकै महत्त्वपूर्ण रचना हो । मधेसलाई पृष्ठभूमि बनाएर किसान वर्गको सामाजिक–सांस्कृतिक चेतना प्रभावकारी ढंगले अभिव्यक्त गर्ने यो कविता तीन दशकअघि लेखिएको थियो । तर, यो अहिले पनि उत्तिकै सान्दर्भिक छ । मधेसी सांस्कृतिक परिप्रेक्ष्य तथा किसान मुक्तिचेतका हिसाबले यो अब्बल छ । किसानकेन्द्री आधुनिक नेपाली प्रगतिवादी कवितामध्ये यो किसान–चेतनाको उदात्त र उच्चतम प्रस्तुति भएको महत्त्वपूर्ण काव्यरचना हो ।

गाउँ

विमल निभा

यो गाउँको नाम रामगढवा हो
यहाँ एक दिन बिताउने मौका पायौ भने
तिमीलाई थहा हुनेछ
यो गाउँ र सुक्खाले खाएको खेतमा
कत्ति समानता छ ?

सखारै यो गाउँ बिउँझन्छ
खेतमा जान्छ
हलो चलाउँछ
माटो सम्याउँछ
थाकेको गोरुलाई माया गर्छ
र गीत गाउँछ
‘जोवनवा हमरा बित गइल हो…†’

दिनभरि कडा मिहिनेत गरेर
जब पेटभरि खान पाइँदैन तब
तिमीलाई थाहा हुनेछ
खेतमा थाकेको गोरुलाई माया गर्दै
गाइने गीतको अर्थ के हो ?

राति यो गाउँ एक ठाउँमा भेला हुन्छ
कहिले चोकटाकहाँ
कहिले बगडाभाइकहाँ
कहिले मखनाकाकाकहाँ
घुर ताप्छ
कुराकानी गर्छ
पानी परेन
बाली सप्रेन
बूढो साहू मरेन
परालको आगो तापेर एक रात
यहाँ बिताउने मौका पायौ भने
तिमीलाई थाहा हुनेछ
ब्याजको दर र बूढो साहूको लामो आयु
दुवै कत्ति दु:खदायी छ †

तिमी रामगढवामा एक रात जरुर बिताऊ
घर–आँगनमा डुल
खेत–खलियानमा जाऊ
र यहाँका मानिसहरूसँग भेट
तिमीलाई थाहा हुनेछ
यो गाउँ र सुक्खाले खाएको खेतमा
कति समानता छ ?

 

-नयाँ पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.