हुलाकी न्यूज,, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालभित्र महेन्द्र राय यादव र अनिल झाबीचको विवादले पार्टी दर्ता प्रक्रिया रोकिएको छ । दुई नेताबीच भएको विवादका कारण बुधबार हुने भनिएको पार्टी दर्ता प्रक्रिया लम्बिएको छ ।

महेन्द्र यादवले एकीकृत पार्टीको विधानमा स्व.गजेन्द्रनारायण सिंह र बाबराम जनम तिवारीको नाम राख्न नमिल्ने बताएका छन् । उनले गजेन्द्रनारायण सिंहका विषयमा पार्टीको विधानमा उल्लेख भए कार्लमाक्स र अन्य कम्युनिष्ट नेताहरुको इतिहास पनि उल्लेख गर्नु पर्ने बताउँदै आएका छन् ।

बुधबारको बैठकमा पनि यादवले स्व.सिंहको र स्व.तिवारीको नाम राख्न इन्कार गरेपछि अनिल झा आक्रमक बनेका थिए । नेता झाले मधेश केन्द्रीत पार्टीले गजेन्द्रनारायण सिंहको मूल्य मान्यता विर्सना नहुने बताउँदै स्व.सिंह र स्व.तिवारीको नाम पार्टीको विधानमा राख्नै पर्ने अडान लिएका छन् ।

यसअघिको बैठकमा पनि यस विषयमा विवाद हुँदै आएको थियो । जसकारण पार्टी एकीकृत भएपनि निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन ।

हुलाकी न्यूजसँग कुराकानी गर्दै नेता झाले भने,‘मधेशवादीका महानेता एवं नेपालमा संघीयतालाई अगाडि बढाउने स्व.गजेन्द्रनारायण सिंहलाई देशविदेशले स्वीकार गरिसकेको छ । यस अवस्थामा हाम्रै पार्टीमा उहाँको सम्मान नहुनु दुःख हुनेछ । त्यसकारण म मधेशको इतिहास विर्सिने पक्षमा छैन ।’

झाले राजपाको मुख्य आधार मधेश भएकोले मधेशको इतिहास र मधेश राजनीतिलाई विर्सिन नहुने बताउँदै आफुहरु पहिचानको संघर्ष गर्दै आएको तर आफ्नै पहिचान विर्सिने काममा सहमत नहुने बताए ।

यादवले विधानको विषयमा प्रतिक्रिया दिन चाहानु भएन । उनले विधानमाथि छलफल जारी रहेको बताए ।

राजपाका स्रोतका अनुसार पार्टी दर्ताका लागि सबै दस्ताबेजहरु तयार भइसकेको थियो । नेता शरत्सिंह भण्डारी भारत जाने भएकोले उहाँले हस्ताक्षर पनि गरिसकेका छन् । तर विधानमा मधेश राजनीतिको इतिहास नभेटे पछि अनिल झाले हस्ताक्षर गरेनन् ।

विहीबार बस्ने भनिएको बैठक पनि बस्न सकेको छैन । नेताहरुको विवादका कारण राजपा दर्ता प्रक्रिया अझै लम्बिने देखिन्छ ।

1 COMMENT

  1. Achmha6 hai Madhesi Soach Apno ka beijjat karte hai gairo se hatmilate hai jab pith pe 6ura milta hai to bilbilate hai aur madhesiyet ka nara lagate hai.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.