हुलाकी न्युज, सिरहा | सिरहाको कर्जनाहा गाउँपालिका–७ छघरे टोलकी मीना पुलामी मगरलाई अचेल लुगा सिलाइ गर्न भ्याइ नभ्याइ छ।

घरभित्र बसेर बेकारमा समय बिताउनुभन्दा सिकेको सीपबाट राम्रो आम्दानी गर्न सकिन्छ भने सोच बनाएर मीनाले तालिम लिएर आफ्नै घरमा सिलाइ कटाइ गर्दै आएकी छन्।

घरमा त्यसै समय खेर फाल्नुभन्दा त सिलाइ कटाइ गरेर आम्दानी गर्नु उचित हो भन्ने ठानेर घरेलु तथा साना उद्योग कार्यालयबाट दिइएको तालिम लिएर आफूले घरमै सिलाइ कटाइ गर्दै आएको उनी बताउँछिन्।

मीना भन्छिन् ‘‘स्थानीय महिलाको सक्रियतामा बनेको नवदुर्गा सामाजिक परिवारको महिला समूहबाट करिब दुई वर्षअघि १० हजार ऋणमा एउटा लुगा सिउने मेसिनबाट सुरु गरेको सिलाइ कटाइले अहिले अर्को दुईवटा मेसिनसमेत खरिद गरेर व्यावसायिक रुपमै सिलाइ कटाइको काम गर्दै आएकी छु।”

महिला र पुरुष दुवैको लुगा सिलाइ गर्न सिकेकी मीना वरिपरिका गाउँबाट आएकाका कपडा समेत सिलाइ कटाइ गर्दै आएकी छन्।

यस्तै विगतमा काम नपाएर त्यत्तिकै फुर्सदको दिन बिताउँदै आएकी सोही बस्तीकी कोपिला दाहाल पनि अचेल किराना पसलमा व्यस्त छिन्। गाउँ नजिकै रहेको पर्यटकीयस्थल बाबाताल परिसरभित्रैको सो पसलमा उनलाई अचेल एकछिन बसेर कुरा गर्नेसमेत फुर्सद छैन।

दाहाल भन्छिन् , ‘‘दिनभरि बाबाताल आउनेको भीड हुन्छ, पसल चलाउन भ्याइ नभ्याइ हुन्छ ।” कोपिलाले पनि मीना जस्तै नवदुर्गा सामाजिक परिवारका महिला समूहबाट ३५ हजार ऋण लिएर पसल सञ्चालन गरेकी हुन्।

मीना र कोपिलामात्र होइन, छघरे टोलका अधिकांश महिला अचेल आत्मनिर्भरतर्फ अग्रसर भएका छन्। समग्र विकास सेवा केन्द्रले सञ्चालन गरेको सशक्तीकरण कार्यक्रमअन्तर्गत गठित नवदुर्गा सामाजिक परिवारमा सङ्गठित भएका यहाँका महिलामध्ये कतिपयले सिलाइ कटाइलाई आफ्ना पेसा बनाएका छन् भने कतिपयले पशुपालन र अन्य व्यापार व्यवसायलाई नै आयआर्जनको माध्यम बनाएका छन् ।

गत २०६४ सालदेखि नै सङ्गठित बनेका उक्त बस्तीका महिला आयआर्जनमा मात्र सीमित नभई, सरकारी निकायमा महिलाका लागि आउने सेवा सुविधाको खोजीमा समेत जुटेका छन्।

हामी आयआर्जनमा मात्र सीमित छैनौँ, नवदुर्गा सामाजिक परिवारकी अध्यक्ष लक्ष्मी दाहाल भन्छिन् – ‘‘अघिल्लो वर्षमात्र जिल्ला कृषि विकास कार्यालयबाट २०० आँपका बोट ल्याएर समूहका सदस्यहरुले आ–आफ्नो खेतबारीमा लगाए ।” यसबाहेक गाविस कार्यालय र घरेलु तथा कार्यालयबाट विभिन्न सीपमूलक तालिमसमेत सञ्चालन गरेर आयआर्जनको बाटो बनाउँदै आएको अध्यक्ष दाहालको कथन छ।

बाहुन, क्षेत्री, जैसी, तामाङ, मगर, यादव, परियार, विश्वकर्मालगायतका जातजातिको बसोबास रहेको उक्त गाउँमा ४० जना नवदुर्गा सामाजिक परिवारको समूहका महिला सदस्यले अहिले आफूले कमाएको रकमबाट मासिक ५० का दरले समूहमा बचतसमेत गर्दै आएका छन्।

प्रत्येक महिनाको एकपटक हामी समूहका सबै सदस्य मासिक बैठक बस्छौँ, सो परिवारकी कोषाध्यक्ष ललिता पोखरेल भन्छिन् – ‘‘त्यही बैठकमा सबै सदस्यले ५० का दरले बचत गर्छौं, ऋण लिन चाहने सदस्यलाई त्यही बैठकबाट निर्णय गरेर उपलब्ध गराउँछौँ ।” अहिलेसम्म समूहमा एक लाख तीन हजार बचत भएको र समूहका सदस्यमा त्यसमध्ये एक लाख रुपैयाँ २४ प्रतिशत ब्याजदरले ऋण लगानी रहेको अध्यक्ष दाहालको भनाइ छ।

पुरानो संस्कारलाई चुनौती दिँदै उक्त गाउँका महिला बचत र ऋण लगानी गरी आयआर्जनको बाटो रोजेर आत्मनिर्भर बन्ने बाटोमा हिँडेको देखेर यहाँका पुरुषसमेत उत्साहित भएका छन् ।

आयआर्जनको बाटोमा मात्र होइन यहाँका महिला सामाजिक विकासको क्षेत्रमा देखाएको उत्साहजनक सहभागिताले समाजमा सकारात्मक सन्देश दिएको स्थानीय राजकुमार लामा बताउँछन्। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.