हुलाकी न्यूज, काठमाडौं, ८ असोज । शुक्रबार राति पनि वीरगंज र रक्सौलबीचको दशगजा क्षेत्रमा खाना खाए प्रदर्शनकारीले । खाना खाईसकेपछि अब फेरि मैत्री पुलमै सुत्ने व्यवस्था मिलाउँदैछन् ।
नेपालको मुख्य नाका वीरगंज रक्सौल नाकामा तीन वटा मधेशी मोर्चा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, संघीय मधेशी मोर्चा र संघीय लोकतान्त्रिक मोर्चाका नेता कार्यकर्ताले लगातार ३६ घण्टा भन्दा बढी धर्ना दिएका छन् ।
बिहिबार बिहान ८ बजेदेखि नो मैंस लैंड दशगजा क्षेत्रमा धर्नामा बसेका प्रदर्शनकारी शुक्रबार राति पनि धर्ना स्थल छोडेर गएका छैनन् । बिहिबार बिहान नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल कुमार झा, संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदिप यादव, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा पर्सा अध्यक्ष शशि कपुर मियालगायत सयौं प्रदर्शनकारी बिहानैदेखि दशगजा क्षेत्रमा धर्नामा बसेका थिए ।
प्रदर्शनकारीले बिहानको खाजादेखि रातिको खानासम्म धर्ना स्थलमै खाए । बिहिबार राति मैत्री पुलमा प्रदर्शनकारी सुते । उनीहरुले शुक्रबार बिहान आँखा खोल्दा पनि जय मधेशको नारा लगाउँदै आन्दोलन जारी रहेको संकेत दिए ।
शुक्रबार बिहानको खाजा प्रदर्शनकारीलाई रक्सौलवासीले खुवाएका थिए ।
बिहिबार बिहानदेखि धर्नामा बसिरहेका प्रदर्शनकारीमाथि प्रहरीले बारम्बार हस्तक्षेप गर्यो । राति प्रदर्शनकारी सुतिरहेको समयमा पनि प्रहरीले उनीहरुलाई धपाउन खोजेको प्रदर्शनकारीले बताएका छन् । तर, ठूलो संख्यामा प्रदर्शनकारी मैत्री पुलमा सुतिरहेका कारण प्रहरी सफल हुन सकेन ।
यता, शुक्रबार रातिसम्म पनि धर्ना यथावत रहेपछि स्थानीय प्रशासनलाई उक्त क्षेत्र खाली गराई मालसामान नेपाल आयात गर्न ठूलो दबाब परेको छ । समाजवादी फोरमका पर्सा अध्यक्ष प्रदिप यादवले प्रशासनले ठूलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी प्रदर्शनकारीमाथि हमला गर्ने सम्भावना रहेको बताएका छन् । उनले जस्तो अवस्थामा पनि आफूहरु डटेर नाकामा उभिने र आन्दोलन सफल पार्ने बताएका छन् ।
यता, भारत नेपाल मैत्री संघका अध्यक्ष प्रा. अनिल सिन्हा र इंडो नेपाल चैम्बर आफ कमर्सका अध्यक्ष राजकुमार गुप्ताले मधेश आन्दोलनमा भारतीय सहर रक्सौलवासीको नैतिक समर्थन रहेको बताउँदै भारत सरकार र रक्सौल नाकाको भारतीय अधिकारीलाई सामान नेपालतर्फ नपठाउन चेतावनी दिएको भ्वाइस अफ रक्सौलले जनाएको छ ।
यसै क्रममा, शनिबार वीरगंज नाकामा धर्ना दिन सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आफै जाने भएका छन् ।










