हुलाकी न्यूज, काठमाडौं । आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । वर्तमान सत्ता गठबन्धनसँग दुई पटक तीन बुँदे सहमति भएपनि कुनै पनि सहमती कार्यन्वयन नभएको भन्दै राजपाले सरकारबाट समर्थन फिर्ता लिदै सशक्त आन्दोलन गर्ने तयारी गर्दैछ ।
राजपासँगको वार्तामा सरकारले दोस्रो चरणको निर्वाचनअघि थरुहट क्षेत्रमा कार्यकर्ताहरुमाथि लगाइएको मुद्दा फिर्ता र कैदीबन्दीहरुलाई रिहा गर्ने आश्वासन दिएको थियो । तर निर्वाचन नजिकिएपनि मुद्दा फिर्ता नभएको र बन्दीहरुसमेत रिहा नभएको भन्दै रजापाले सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको राजपाका सहमहामन्त्री राकेश मिश्रले हुलाकी न्यूजलाई बताए ।
राजपाका प्रवक्त कृष्णा सिंहले असार १४ गते पछि सरकारबाट समर्थन फिर्ता हुने बताए । उनले भने,‘वर्तमान सरकारले एकापटी सहमति पनि गरेको छ अर्को पटी विरोध सभामा गोली पनि चलाएको छ । त्यसकारण अहिलेको सरकारलाई समर्थन दिइराख्नुको औचित्य छैन ।’ प्रवक्ता सिंहले अहिले शिर्ष नेताहरु निर्वाचनको विरोधमा कार्यक्रमहरुमा सहभागी रहेको बताउँदै १४ गते पछि बस्ने राजपाको बैठकबाट समर्थन फिर्ता हुने बताए ।
यता राजपाको अध्यक्ष मण्डलका नेता अनिल कुमार झाले आफुहरुलाई स्थानीय स्तरबाट समर्थन फिर्ता लिन दबाब आइरहेको बताउँदै समर्थन फिर्ता हुने जनाए । हुलाकी न्यूजसँग झाले भने,‘जिल्ला–जिल्लाबाट हामीलाई सरकारबाट समर्थन फिर्ता लिन दबाब आउँदैछ । अहिलेको सरकारले सहमति विपरीत काम गरेकोले समर्थन दिइराख्नुको औचित्य नरहेको सर्वसाधारणको भनाई रहेको छ । त्यसकारण अव हामी पनि छलफल गरेर समर्थन फिर्ता लिन्छौं ।’
तर राजपा भित्रका केही नेताहरुले सरकारलाई दिइएको समर्थन फिर्ता लिन नहुने बताउँछन् । उनीहरुले राजपाले समर्थन फिर्ता लिदैमा सरकारलाई खासै असर नपर्ने तर्क गर्छन् । राजपाका एक नेताले भने,‘सरकारले सक्दो जतिको काम गर्दैछ । तत्कालै केही गर्न सक्ने अवस्थामा सरकार छैन । उहाँहरुले १४ गतेको निर्वाचन पछि हाम्रो माग पुरा गर्ने भन्नु भएको छ । अहिले नै सरकारबाट समर्थन फिर्ता लिएर पुनः आन्दोलनमा जानुको औचित्य छैन ।’
यता राजपाका प्रवक्ता सिंहले आन्दोलनको विकल्प नरहेको बताउँदै यसअघि प्रचण्ड नेतृत्वको सरकारले पनि सहमति गरेर धोका दिएको आरोप लगाए । उनले वर्तमान सरकारलाई समर्थन दिएर आफुहरु गोली खान तयार नरहेको बताए ।
यसअघि नवलपरासीमा पत्रकार सम्मेलन गरेरै राजपाका नेता हृदेयश त्रिपाठीले सरकारबाट समर्थन फिर्ता लिइने घोषणा गरिसकेका छन् ।



